• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कोरोना भाइरस विरुद्ध सरकारको निर्णयः अन्तर्राष्ट्रिय उडान बन्ददेखि देश लकडाउनसम्म

काठमाडौँ । चीनको हुवेइ प्रान्तको बुहान शहरबाट शुरु भएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएपछि हाल आधा विश्व लकडाउन छ । बुहानबाट सन् २०१९ डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस(कोभिड—१९) बाट ५ लाख ९७ हजार २ सय ६७ जना संक्रमित भइसकेका छन् । कोरोना भाइरसबाट शनिबारसम्म २७ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ । विश्वभर १२ सय ९६ मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।

कोरोना भाइरसको संक्रमण महामारीको रुप लिएपछि विभिन्न मुलुकले देश नै लकडाउन गराए । विश्वका झण्डै एक तिहाइ मानिस सो लकडाउनमा छन् । चीनबाट फैलिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा नगर्दा सम्म छिमेकी मुलुक भारत र नेपालले चासो देखाएनन् । कोरोना भाइरस विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा ग¥यो । जसमा नेपाललाई पनि उच्च जोखिममा रहेको चेतावनी दिएपछि मात्रै सरकार सचेत बनेको हो । 

कोरोना भाइरसको महामारीले विश्वका धेरै मुलुकको अबस्था भयावह बनेपछि नेपालमा पनि फैलनसक्ने त्रासले  सरकारले  चैत १० बाट एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । नेपालमा कोरोना भाइरसबाट चार जना संक्रमित मध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।  नेपालले लकडाउन गर्ने निर्णय गरे लगतै चैत ११ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साताका लागि लकडाउन गर्ने निर्णय गरे । धेरै जनसंख्या रहेको मुलुक भारत उच्च जोखिममा छ । भारतमा शनिबारसम्म ८ सय ८७ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २० जनाको मृत्यु भइसकेको छ । 

यसअघि गत पुस २४ मै नेपालमा एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भइसकेको थियो । नेपालीलाई कोरोना भाइरस संक्रमण भएर निको भइसकेपछि पनि सरकारले कोरोना संक्रमणबाट बच्नका लागि कुनै सर्तकतामा चासो देखाएन । कोरोनाको भाइरसले विश्वका धेरै मुलुक संकटमा फसे । विश्व नै संकटमा रहेको अबस्थामा मात्रै नेपालले गत साताबाट मात्रै उच्च सर्तकता अपनाएको हो । फागुन १७ सम्म नेपाल भ्रमण वर्षको रटान लगाइरहेको सरकार फागुन १८ मा सरकार नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णयमा पुग्यो । साथै विदेश जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) नदिने निर्णय गरेको थियो । 

फागुन २० मा बैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृत तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसले महामारीको रुपमा खाडी मुलुकसहित युरोपेली मुलुक आक्रान्त बनेपछि फागुन २९ मा सरकारले कोरोना भाइरस संक्रमण भएको मुलुकमा पर्यटक भिषामा रोक लगायो । त्यस्तै भारतसँगको सीमा नाकामा पनि कडाइ गर्ने र आवातवजावत सिमित बनाउने निर्णय गरेको थियो । 

फागुन ३० मा सरकारले कोरोना भाइरससँग सम्बन्धि १९ वटा निर्णय भएको थियो । जस अन्र्तगत नेपाल  आगमन विन्दुमा विदेशीहरूलाई दिइँदै आएको अनअराइभल भिसाको व्यवस्था १४ मार्च २०२० को राति १२ बजेबाट लागु हुनेगरी अप्रिल ३०, २०२० सम्मका लागि स्थगन गर्ने निर्णय भयो । त्यस्तै यसपूर्व भिसा लिइसकेका विदेशीहरूले नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र आगमन विन्दुको अध्यागमन कार्यालयमा पेस गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।

अति जरूरी कारणबाट नेपालमा यात्रा गर्नुपर्ने व्यवस्थाका विदेशीले सम्बन्धित मुलुक वा नजिक रहेका नेपाली नियोगहरूबाट नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र सहित भिसा आवेदन गर्नुपर्ने व्यवस्था लागू गर्ने भनेको छ । गैर आवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली परिचयपत्रका आधारमा आगमन विन्दुमा दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० को राति १२ बजेबाट लागू हुनेगरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने। अत्यावश्यक कारणले नेपाल आउनुपर्ने अवस्थामा नेपाल आइपुग्नु पर्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र संलग्न गरी सम्बन्धित मुलुक वा नजिकमा रहेको नेपाली नियोगहरूबाट भिसा लिनुपर्ने व्यवस्था लागू गर्ने निर्णय ग¥यो ।

मार्च १४ २०२० देखि नेपाल प्रवेश गर्ने विदेशीहरूले सेल्फ क्वारेन्टाइनमा र नेपाली नागरिक तथा गैरआवासीय नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्ने व्यवस्था लागू गर्ने । कूटनीतिक र अफिसियल भिसा प्राप्त विदेशीहरू पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किँदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागू गर्ने निर्णय भएको थियो । त्यस्तै व्यावसायिक अध्ययन र कामदार भिसा प्राप्त गरेका विदेशीहरू विदेश यात्राबाट नेपाल फर्केपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गर्ने भनेको थियो । तर, विदेशबाट आउने विदेशी नागरिक र नेपालीहरु क्वारेन्टाइन गएनन् । 

विदेशमा रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्ने निर्णय भएको थियो । त्यस्तै तेस्रो मुलुकका नागरिकहरूलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिइँदै आएको सुविधा १४ मार्च २०२० राति १२ बजेदेखि लागू हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।

नेपाल—भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । साथै अर्को सूचना नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने भनेको थियो ।अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई ३० अप्रिल २०२० भित्र विदेश यात्रा गर्ने गरी नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने निर्णय भएको थियो ।

संक्रमणको रोकथाम र नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि, औजार तथा उपकरणलगायतका सामग्रीहरू सार्वजनिक खरिद ऐनको विशेष परिस्थितिको प्रावधानअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्ने निर्णय भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आइसियू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौँ उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १–१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने र  त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने निर्णय भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यकताअनुसार परिचालन गर्ने निर्णय भएको थियो ।

संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा आवश्यकताअनुसार परिचालन गर्न मेडिकल तथा ननमेडिकलहरूको सूची तयार गरी व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिने । नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने । नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन समारोहहरूलाई मे ३१, २०२० सम्मका लागि स्थगित गर्ने भनेको थियो । संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आमजनसमुदायलाई आह्वान गर्ने निर्णय भएको थियो ।

चैत ९ गते सरकारले कोरोना प्रभावितको उपचारका लागि ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले ५० करोडको कोरोना उपचार कोष स्थापना गर्ने र त्यसमा नेपाल सरकारका मन्त्रीहरुले एक महिनाको तलब योगदान दिने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदले सशस्त्र प्रहरीको बलम्बुमा रहेको अस्पताललाई उपचार कक्षका रूपमा विकास गर्ने निर्णय गरेको थियो । बलम्बुमा रहेको यो अस्पताल अन्य अस्पतालको तुलनामा एकान्तमा रहेको र भीडभाड कम हुने भएकाले कोरोना उपचारका लागि तयार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो । मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थापन सहज बनाउन सम्पूर्ण निकायबीच समन्वय गर्ने पनि निर्णय गरेको थियो । यसैगरी, सरकारले एक सातासम्म चीन र भारतको नाकाबन्दी गर्ने निर्णय गरेको थियो ।

चैत १० मा सरकारले देशभर लकडाउन ग¥यो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

चैत १२ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिले चिनियाँ नाका खोल्ने निर्णय ग¥यो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने भनेको थियो । तर चीनले १३ गते नै आफ्नो नाका सिल गरिदिएको थियो ।

त्यस्तै अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय भएको थियो । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने र यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने निर्णय भएको थियो ।
औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने। गृह मन्त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिने निर्णय गरेको थियो ।

ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय भयो । स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने निर्णय भयो ।

अति आवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने निर्णय भयो । इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत महसूल र भन्सार महसूल छूट दिने व्यवस्था मिलाउने भनेको थियो । सोही निर्णय अनुसार उर्जा मन्त्री वर्षामान पुनले विजुली महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका छन् ।

गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने निर्णय भएको थियो । सो निर्णय हालै कार्यान्वयमा आइसकेको छ । जर्मन नागरिकलाई उद्धार गरेर आफ्नै देश फर्काउने कार्य भइसकेको छ । यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्टाइनमा राख्ने निर्णय भएको थियो ।

स्थानीय तहहरूले आ—आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने भनेको थियो । स्थानीय स्वास्थ्य संयोजकले कोभिड—१९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने निर्णय भएको थियो । प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४ अंकको टोल फ्री टलिफोन सेवा जडान गर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो । 

विदेशमा बस्ने नेपालीसँग समन्वय
परराष्ट्र मन्त्रालयले विदेशस्थित नियोगका प्रमुखहरुलाई नेपालीहरुको अबस्था बारे दैनिक प्रतिवेदन पठाउन निर्देशन दिएको छ । गत सोमबार परराष्ट्र मन्त्रालयले खाडी मुलुक र अफ्रिकी स्थित नेपाली नियोगहरुसँगको भिडियो कन्फरेन्समा नेपालीलाई सुरक्षित राख्न र आफु सुरक्षित भएर काम गर्न निर्देशन दिएको थियो ।

खाडी क्षेत्र र अफ्रिक स्थित नेपाली राजदूत र नियोग प्रमुखहरूसँग कोभिड १९ को प्रभावको विषयमा छलफल गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।  खाडी मुलुकसहित विश्वको विकसित मुलुकमा कोरोना भाइरसका कारण हजारौको ज्यान गएपछि सबै सेवाहरु ठप्प छन् । 

परराष्ष्ट्र मन्त्री ज्ञवालीले सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्क,सहयोग र समन्वयका लागि  निर्देशन दिएको जानकारी दिए । आपतकालीन अबस्थामा कुनै पनि नेपाली समस्यामा पर्दा सहयोग र समन्वय गरेर अगाडि बढ्न निर्देशन दिएका छन् । संक्रमण नियन्त्रणका लागि चालेका कदमहरूको बारेमा जानकारी दिँदै नियोगप्रमुखहरूलाई आफू प्रमाणीकृत मुलुकहरूमा भएका सङ्क्रमण सम्बन्धी नियमित रूपमा प्रतिवेदन पेश गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

नेपालीहरूको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा सरकारसँग निकट सम्पर्कमा रही आवश्यक कार्य गर्न समेत आग्रह गरेको छ । खाडी मुलुकमा कार्यरत नेपालीलाई सम्बन्धित कम्पनीले नै सरकारी नीति कार्यान्वयन गर्न सहयोग गरिरहेका छन् । समस्यामा देखिएमा नेपालीलाई सम्बन्धित सरकारसँग समन्वय गरेर सहयोग गर्न परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई निर्देशन दिएको छ । 

उच्च शिक्षा अध्ययन र रोजगारीका लागि झण्डै ५० लाख नेपाली परदेशमा छन् । परराष्ट्र, श्रम मन्त्रालय र एनआरएनको तथ्याङ्कलाई आधार मान्दा भारत बाहेक ३५ लाख नेपाली विदेशमा छन् । ति नेपाली कोरोनाको उच्च जोखिममा परेपछि परराष्ट्रले चासो देखाएको हो । कोरोनाबाट अति प्रभावित मुलुक इटाली, इरान, स्पेन, फ्रान्स लगायतको युरोपेली मुलुकमा बस्ने नेपालीको विषयमा परराष्ट्रले संक्रमणको अबस्था बुझेर नियमित प्रतिवेदन पेश गर्न भनेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर