• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोरोनाको जोखिम नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषदको  आपतकालिन बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका लागि कोरोना भाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना रोकथामका लागि स्थापना गरिने कोषमा ४० करोड रुपैया राख्ने निर्णय गरेको छ । उक्त कोषमा रकम जम्मा गर्न आमसंघसंस्था, व्यवसायी र सर्वसाधारणलाई सरकारले अपिल गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरका संक्रमितको थ्रोट स्वावको नमूना परीक्षणका लागि सुबिधा सम्पन्न प्रयोगशाला यथाशिघ्र स्थापना गर्ने निर्णय गरिएको बताए ।

मन्त्री बोहराका अनुसार मन्त्री परिषदको बैठकले डोटीमा अछाम र बाजुरालाई लक्षित गरी र बैतडीमा बैतडीसंगै बझाङ, र दार्चुलालाई लक्षित गरी कोरोनाका आशंका गरिएका व्यक्तिको थ्रोट स्वाव परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । तीनै ठाउँको प्रयोगशालालाई तत्काल सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ ।

त्यसैगरी निरपेक्ष गरीवीको रेखामुनीमा रहेका र मजदुरी गुमेका ज्यालादारी गर्ने व्यक्तिको मापदण्ड बनाई आर्थिक सहायताको प्याकेज प्रदान गर्ने समेत बैठकले निर्णय गरेको मन्त्री बोहराले  बताए ।

बैठकले सुदूरपश्चिममा कोरोना रोकथामका लागि हरेक दिन भएका प्रयास र अवस्थाका विषयमा सामाजिक विकास मन्त्रालयले सार्वजनिक गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन प्रदेश सरकारले बिशेष सुबिधा समेत प्रदान गर्ने निर्णय भएको मन्त्री बोहराले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर