• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोनाका कारण जनकपुरधामको तीन पर्व प्रभावित

जनकपुरधाम । कोरोना भाइरसको त्रास अहिले पनि विश्वभरी जारी रहेको छ । यस भाइरसको प्रभाव नभएको भए यो समयमा जनकपुरधाममा लाखौँ भक्तजनहरुको घुइचो लाग्ने थियो । तर कोरोना भाइरसका कारण जनकपुरधामको तीन पर्व चैतै दशैँ, चैतै छठ र राम नवमी प्रभावित भएको छ । 

हुनत जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा चैते दशैँ जारी छ । मन्दिरलाई सजाइएको छ । झिलमीलीले झकिझकाउ बनाइएको छ । मन्दिरमा सजावट गरिएको छ पूजा पनि प्रत्येक दिन हुन्छ तर दर्शनका लागि पुग्ने श्रद्धालुहरु छैनन् । त्यहाँ पूजारी र पूरोहित मात्रै हुन्छन् । 

हाम्रो वर्षौदेखिको परम्परा कसरी तोड्ने पूजा त गर्नै पर्यो राजदेवी मन्दिरका महन्थ राम गिरीले बताए । उनले यो महामारीको समयमा श्रद्धालुहरु दर्शनका लागि नआए पनि पूजा श्रद्धा भक्तिपूर्वक हामीहरु गरिरहेका छौँ बताए । माताले यो महामारीलाई सखाप पार्ने महन्थ गिरीले विश्वास व्यक्त गरे । 

गंगासागर पोखरीको डीलको उत्तर दक्षिण कुनामा समेत चैते दशैँको आयोजन गरिएको छ । त्यहाँ पनि दर्शनार्थीहरु पुगेको देखिएन । 

यता कोरोना भाइरसको त्रासकै कारण प्रत्येक वर्ष चैत शुक्ल षष्ठी तिथिका दिन हुने चैते छठ पनि नहुने भएको छ । तिथिको हिसाबले शनिबार चैत शुक्ल चतुर्थी तिथि हो । चैते छठ गर्नेहरुले आज नहाय खाय गरेका छन् । 

तर यस पटक नहाय खाय गर्नेहरुको संख्या एकदमै न्यून रहेको छ । चैते छठ गर्ने सोच बनाएकी मञ्जु यादवले भनिन् ‘बन्दका कारण बजार पूर्ण रुपमा बन्द नै रहेको छ, छछठका लागि आवश्यक पर्ने सामानहरु किन्न सकेको छैन, अगाडी भनिन् कसरी छठ पर्व मनाउने ।  

अन्य वर्ष विभिन्न युवा कमिटीहरुले चैते छठलाई लिएर यहाँका विभिन्न पोखरीको सरसफाईदेखि सजाउने काम गथ्र्यो । तर कोरोना भाइरसको त्रास तथा लकडाउनका कारण ती पोखरीहरु अहिले सुनसान छन् । 

सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं प्रदेश दुईको प्रदेशसभा सदस्य रामअशिष यादवले अहिले आफै पहिला सुरक्षित हुने समय छ, सरक्षित रहे मात्रै आउने वर्षमा पनि छठ मनाउन सक्छौँ बताए । कोरोना त्रासकै कारण सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजन गर्दै आएको गंगा आरती पनि अहिले बन्द गरिएको छ । 

कोरोनाकै असर होला यस पटक रामनवमी पर्व जनकपुरधाममा नहुने भएको छ । जनकपुरधामको प्रमुख पर्वहरुमध्ये एक रामनवमी पर्वको तयारी अन्य वर्षहरुमा दुई साता अगाडीदेखि नै हुन्थ्यो । तर यस पटक कोरोनाको त्रास र लकडाउनको कारण रामनवमी मेला नै नलाग्ने भएको छ । 

कहिल्यै स्थगित नभएको यो मेला यस पटक भाइरसको त्रासकै कारण स्थगित गरिएको हो । यद्यपि मन्दिरहरुमा रामनवमीको अवसरमा विशेष पूजा बिना तामझामका साथ गरिने मन्दिरका महन्थहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर