लकडाउनमा पनि आधा दर्जन उद्योग सञ्चालन

हेटौँडा ।  कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ ।  

कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार सो औद्योगिक क्षेत्रमा १११ उद्योगमध्ये लकडाउनका कारण आधा दर्जन उद्योग सञ्चालनमा रहेको बताइएको छ । कच्चापदार्थ तथा मजदूरको समस्या भए पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा रहेका छन् । प्राप्त विवरणअनुसार सञ्चालनमा रहेका उद्योगमा दुग्ध पदार्थ, खानेपानी, बिस्कुट तथा प्लाष्ट्रिक उद्योग सञ्चालनमा छन्  । लकडाउनले ती उद्योगमा कार्यरत मजदूर काम गर्न नमान्दा बिहान र साँझ मात्र सञ्चालनमा रहेको प्रमुख कँडेलले बताए ।  

उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारी शरीरको तापक्रम जाँच गरेपछि मात्र प्रवेश दिने गरिएको बताइएको छ । कतिपय मजदूर आ–आफ्नो गृह जिल्ला गएका छन् भने कतिले घर जान नसकेर आफ्नो डेरामा बसेका छन्  । 
    
यसैबीच बैंकको ऋणबाट सञ्चालनमा परेका उद्योग ठूलो समस्यामा परेको उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखनाथ पोखरेलले गुनासो गरे । त्यस्तै सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पनि बन्द रहेको छ । सरकारको लकडाउनपश्चात् उक्त उद्योगका उत्पादनहरु तथा बिक्रीलगायतका सम्पूर्ण काम बन्द भएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर