• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘अमेरिकामा कोरोनाका कारण दुई लाखको मृत्यु हुनसक्छ’ 

एजेन्सी । अमेरिकी सरकारका एक जना सरुवा रोग विज्ञले कोरोनाभाइरस महामारीबाट अमेरिकामा दुई लाखको ज्यान जानसक्ने र दशौँलाख संक्रमित हुनसक्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोगविज्ञ डा.एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन् ।

अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन् । अमेरिकामा पछिल्लो साता कोरोना भाइरसका संक्रमितमा बाढी आएकाबीच उक्त विज्ञले चेतावनी दिएका छन् । 

सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्ने बताएका थिए । तर उनले तत्कालै त्यस्तो संख्या संक्रमणको तीव्र अवस्थामाझ गरिएको अनुमान भन्दै आफू त्यसमा अडिग रहन नचाहेको बताए।

डाक्टर फाउचीले भने, ‘न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन् ।’ उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए ।

अमेरिकामा संक्रमितको संख्या चीन र इटलीलाई उछिनेको थियो । तर त्यहाँको मृत्युदर भने इटली, स्पेन र चीनभन्दा कम छ । अमेरिकाले दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण सङ्क्रमितको सङ्ख्या उच्च देखिएको ट्रम्पले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर