प्रदेश पाँच सरकारका पाँच निर्णय, सीमामा अलपत्र परेकालाई सम्वन्धित जिल्लामा पठाइने

बुटवल । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार बैठकले निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने तथा सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने निर्णय पनि गरिएको छ । 

खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ । पाँच वुद्धे निर्णयमा एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको र एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने उल्लेख छ । 

बैठकले प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने  जसमा भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा  तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने निर्णय गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर