• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अस्ट्रेलियामा कोरोनाभाइरसको ‘भ्याक्सिन’को परीक्षण सुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ । 

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल)मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । 

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ । 

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए ।

उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए ।

संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी)को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो । 

भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्याँकन गर्न लागेको छ । यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ । 

प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । ‘हामीले कोरोनाभाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं,’ एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताए । 

विश्वभर कोरोनाभाइरसका कारण ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १० लाख मानिस संक्रमित भएका छन् । एएनआई 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर