• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोना संक्रमण : गैर चिकित्सा विधिबाट हस्तक्षेप गरेनौं भने देशले थेग्न सक्दैन

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट आजको मितिसम्म संक्रमितको  संख्या  नेपालमा ६ जना पुगेको छ । नेपाल जस्तो तेस्रो विश्वको देशका लागि यो संकेत शुभ होइन । शक्तिशाली राष्ट्रहरुमा कोरोनाको संक्रमणले जसरी गुणात्मक फड्को मारेको छ, त्यो नेपालमा हुन न देखिनु केही सुखद पक्ष हो । तर, यसलाई सामान्य रुपमा लिनु हुँदैन यसको झड्का ठूलो छ ।

मान्छेबाट मान्छेमा सजिलै सर्ने कोरोना भाइरसबाट संक्रमित देखिनेमा अहिलेसम्म विदेशबाट आएका मध्येबाटै छन् । विदेशबाट विमान चढेर नेपाल प्रवेश गरेकाहरुमा संक्रमण देखिनुले आजको दिनसम्म संक्रमणको स्थिति नियन्त्रण बाहिर गईसकेको छैन भन्ने देखाउँछ ।

विश्वका ५ वटा देशमा कोरोनाको संक्रमण फैलिंदा नेपालमा एक जनामा पोजेटिभ भेटिएको थियो । आज विश्वका १ सय भन्दाबढि मुलुक कोरोना संक्रमणको कहरबाट आक्रान्त बनेका छन् । १० लाख भन्दा धेरै मानिसहरु संक्रमित भइसके । ५३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । नेपालमा ६ संक्रमितमध्ये १ जना उपचारपछि फर्किसकेका छन् । बाँकी ५ जनाको उपचार भईरकेको छ । यसको सोझो अर्थ हो, यो भाइरस नेपाली समाजमा प्रवेश गरिसकेको छैन, विदेशबाट आएका व्यक्तिहरुमा मात्र सिमित छ ।

त्यसो भए अब के ? 
पहिलो के विकल्पः नन् मेडिकल ईन्टरभेन्स्न : कोरोना भइरस नेपालमा थप फैलिन नदिन र फैलिहालेमा नियन्त्रण गर्ने सरल विधिको किटानी गर्नु । विधि अनुसार राज्य अघि बढ्नु नै अहिले सबैभन्दा पहिलो आवश्यकता हो ।

संक्रमण रोक्ने सरकारका सबै निकायहरु र हामी जनताले बिर्सनै नहुने पहिलो कुरा अनुशासित ढंगले लकडाउनलाई अझ प्रभावकारी बनाउने हो ।  तपाँई–हामी जो जहाँ छौं, त्यही ठाँउमा बस्ने, भिड्भाड नगर्ने, विश्व स्वास्थ्य संगठन र नेपाल सरकारसमेतले भनेका सुरक्षाका उपायहरु अपनाउनु नै हो । यसो गर्दा यो रोगको संक्रमण समाजमा फैलिन पाउँदैन । लकडाउनको समयलाई सही ढंगले उपयोग गर्ने अबसर भनेको राज्यले शंका रहेकाहरुलाई जतिसक्यो धेरैको परिक्षण गर्ने । परिक्षणबाट संक्रमितहरुको संख्या कति भनेर खुल्दै जानेछ । संक्रमितको उपचारको जिम्मा राज्यले नै लिन्छ ।

मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल बन्द गर्ने बित्तिकै उडानबाट यहाँ प्रवेश गर्ने मूल ढोका बाटो बन्द हुन्छ । जो लकडाउनपछि अहिलेसम्म बन्द छ । तर, दक्षिणी छिमेकी मुलुक भारतसँगको लामो तथा खुल्ला सीमा, दुई देशबीचको रोटी, बेटीको सम्बन्धका कारण हुने वारपार उत्तिकै चुनौति बनेको छ । पछिल्लो समय भारतमा दैनिक रुपमा संक्रमित र मृत्यु संख्याको अंक थप भइराखेको छ ।

खुला सीमाका कारण नेपालमा लकडाउन खुला हुँनासाथ दुई देशको सीमा क्षेत्रमा हजारौंको संख्यामा आवत जावत हुने पक्का छ । त्यसपछि कोरोना संक्रमणको जोखिम झन् बढ्नु हो । संक्रमण समुदायमा फैलने त्रासको केन्द्र–विन्दु त्यहीँबाट शुरु हुन्छ । त्यसैले लकडाउन कडाईका साथ पालना गर्ने, गराउने । सीमा व्यवस्थित गर्ने, अन्तराष्ट्रिय उडान थप रोक्नुपर्ने परिस्थिति स्वतः बन्दै गएको छ ।

यी प्रक्रिया अप्नाउँदा जनजीवन केही कष्टकर हुन्छ । तर, त्यो कठिनाईलाई सहज कसरी बनाउने भन्ने विधि पनि छ । केही दिनअघि भारतबाट आएका नेपालीले स्वदेश प्रवेश गर्न नपाएको प्रशंग ताजै छ । खाद्यन्न नपाएर नेपालकै बिभिन्न जिल्लाका दुर्गमवासी मजदुरको पींडा छुट्टै छ । उनीहरु घण्टौं हिडेर आफ्नो जिल्ला फर्किरहेको अवस्था छ । भारतबाट स्वदेश फर्किनबाट सीमामा रोकिएका र खाद्यन्न अभावमा रहेकाहरुको समस्या हल गर्न राज्यले तत्काल हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ ।

लकडाउनपछि यी दुई घटनाका जड् केलाउँदा संघीय, प्रादेशिक तथा स्थानीय सरकारबीचमा तालमेल नभएको देखिन्छ । संकट हामीलाई मात्र छैन । भारतमा पनि उही हो । यस्तोबेला सीमानाबाट आफ्नो मातृभूमी प्रवेश गर्न नदिने कुराको कल्पना समेत गर्न सकिन्न । अन्य मुलुकहरुले जहाज चार्टर गरेरै आफ्ना नागरिक फिर्ता लिई रहेका छन् । उनीहरुलाई सुरक्षित रुपमा कसरी प्रवेश गराउने भन्ने तर्फ सरकारको सोच जानुपर्ने हो ।

कोराना संक्रमणले चीनको वुहानमा उच्च रुप लिंदा त्यहाँ रहेका नेपाली नागरिक पनि विपद्मा परे । ती नागरिकलाई नेपाल सरकारले उद्दार गरेपछि सरकारले सबैबाट स्यावासी पाएकै हो । विमान चार्टरबाट उद्दार गरिएका उनीहरुलाई क्वारेन्टाईनमा राखियो । कोरोना संक्रमण पुष्टी नभएपछि उनीहरु घर फर्काईयो । संक्रमित एक जना उपचार पछि घर फर्किए ।

संघीय सरकारसँगको समन्वयमा प्रदेश र स्थानीय सरकारले पैदलबाट सीमामा आएका सुदुरपश्चिमेली नागरिकलाई त्यहीँ बिधि अप्नाएर स्वदेश भित्र्याउन सकिन्छ । स्वदेश प्रवेश गराएर १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, संक्रमण पुष्टी नभएपछि घर पठाउने, संक्रमित भए उपचार गर्ने विधि नै उपयुक्त हो । यो बाँकी लकडानका दिनमा तीनै तहका सरकारले यो काम गर्नैपर्छ ।

यदि सबैलाई क्वारेन्टाइनमा राख्न नसकिए पनि व्यक्तिगत विवरण संकलन गरेर स्थानीय तहहरुलाई समन्वय गर्ने । र, उनीहरुलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था तत्कालै गर्नुपर्छ । 

अर्को समस्या कहाँ देखियो भने सीमामा आउनुभन्दा अघि नेपाल भारत, नेपाल, चीन वा अन्य कुनैपनि मुलुकमा रहेका नेपाली वा नेपालमा रहेका विदेशी नागरिकका विषयमा सरकारले कुटनीतिक माध्यमबाट जो जहाँ छन् त्यही सुरक्षित बस्ने व्यवस्था गर्न सक्नुपथ्र्यो । अब विदेशमा बाँकी रहेका नेपाली वा नेपालमा बाँकी रहेका विदेशीका हकमा सरकारले कुटनीतिक माध्यमबाट जो जहाँ छ त्यही सुरक्षित राख्ने वातावरण बनाउनु उपयुक्त देखिन्छ ।

अर्को समस्या खाद्यन्न अभाव । स्थानीय तहले आफ्नो क्षेत्रमा भएका दैनिक ज्यालादारी मजदुरहरुको लागत संकलन गर्ने । उनीहरुलाई सोही ठाउँमा खाने–बस्ने तथा बिरामी भए स्वास्थ्य उपचारको व्यवस्था उपलब्ध गराउने उपयुक्त विधि हो । कोरोना भाइरस संक्रमणको क्रम विस्तारै कम भएपछि स्वतः आवत जावत गराउने विकल्प सोंच्नुपर्छ ।   यो विधि कोरोना भइरसको रोकथाम सामाजिक तवर (नन् मेडिकल ईन्टरभेन्सन)बाट संभव हुन्छ । यो सबै भन्दा सरल विधि हो ।

दोश्रो मेडिकल ट्रिटमेन्टः मेडिकल ईन्टरभेन्सन
विश्वका शक्तिशाली राष्ट्रहरु जसको मेडिकल सिस्टम उत्कृष्ट थियो, भनिएको छ उनीहरु कोरोनाको संक्रमणबाट अहिले झन् ठूलो आक्रान्तमा छन् । अमेरिका, ईटली, फ्रान्स, बेलायत, स्पेनजस्ता देशहरुमा लाखौंमा संक्रमण फैलिनु, हजारौंले मृत्युवरण गर्नु भनेको सामान्य अवस्था होइन् । जब, यो भाइरस समाजमा फैलन्छ परिणाम यस्तै ब्यहोर्नै पर्दछ । हाम्रो मुलुको स्वास्थ्य क्षेत्रका संरचना, समाग्री, जनशक्ति तथा साधन श्रोतहरु कमजोर छन् ।

त्यसैले स्वास्थ्यसँग सम्बन्धित विभिन्न विधिहरु अपनाएर यसलाई समाजमा फैलन नदिनु अर्को विकल्प हो । अत्यावश्यक समाग्रीको आयात गर्ने, लगाउने मास्कदेखि पीपीई, संक्रमण जाँच्ने टेस्ट किटले चिकित्सिकहरुलाई सुसज्जित गराउनुपर्छ । कोरोना भाइरस संक्रमण फैलिसेकेपछि सबै भन्दा पहिलो घेरामा चिकित्सक र स्वास्थ्यकर्मी नै हुन्छन । त्यसपछि आइपर्ने जोखिमको सामना सामूहिक रुपमा भइराखेको छ र ‘तिमिहरुको पछाडी राज्य छ’ भनेर उनीहरुको मनोबल उच्च बनाई राख्नु पर्दछ ।

सहरी क्षेत्रमा मास्क, सेनिटाईजर, साबुन पानीले हात धुने विधि सही छ । तर, ग्रामिण भेगमा अझैपनि मास्क भनेको के हो रु यो किन लगाउने, कसरी लगाउने, कोरोना कसरी सर्छ रु बँच्नलाई के उपाए अपनाउने, सामाजिक आवत–जावत र भिडभाड् नहुने अवस्था कसरी सृजना गर्ने भन्ने कुरा बुझाउनमा कमी आएको छ । सामाजिक चेतना बढाउनतिर बढि पैरवी गर्न स्थानीय सरकार लाग्नु पर्छ ।

टिभीमा सेनिटाईजर र मास्क लगाएको नदेख्ने ठूलो जनसंख्या नेपालको ग्रामिण भेगमा छ । उनीरुलाई सामाजिक भिडभाड् र आवत–जावतबाट रोक्ने र सरसफाईमा विषेश ध्यान दिन लगाउनु पर्दछ । यसतर्फ संघीय सरकारले उचित योजना बनाएर, प्रादेशिक तथा स्थानीय सरकारलाई स्वास्थ्य स्वयंसेवकमार्फत अभियान चलाउनु पर्छ ।

निश्कर्षः नेपाल अझैं पनि कम्तिमा १०/१५ दिन कोरोनाको महामारीमा फस्ने   संभावना छैन । यो अवधि भनेको हामीले नन् मेडिकल तथा मेडिकल ईन्टरभेन्सनका लागि आवश्यक तयारी गर्ने प्रयाप्त समय हो । यी दुबै विधिको उचित तयार गर्न सक्यौं भने हामी कोरोनाको संक्रमणलाई पराजय गर्न सक्षम हुनेछौं । संकटले अवसर पनि साथै लिएर आएको हुन्छ । यो संकटसँगै आएको अवसर नेपाली जनता, सरकारका लागि पुष्टी गरेर देखाउने बेला पनि हो । देश ‘क्रिटिकल जोन‘मा छ । यो संवेदनशिलतालाई हामी सबैले मनन् गरौं । 

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता झाँक्रीसँग समाचार दैनिकका लागि बबिन शर्माले गरेको कुराकानीमा आधारीत लेख)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर