• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तिमीले बोकेको रातो झण्डा

तिमीले बोकेको रातो झण्डा
तिम्रो निजी वस्तु हुँदैहैन  
त्यसमा शिकागो बिद्रोह छ
मजदूरको रगतले भिजेको छ !

तिमीले बोकेको रातो झण्डा
तिम्रो कुर्सी प्रेमको दर्शक हैन
त्यसले पेरिस कम्यून देखेको छ
द्रव्यपतिका दमन सहेको छ !

तिमीले बोकेको रातो झण्डा
चुनावी गोलचक्रको साधन हैन
त्यसले कार्ल मार्क्स र माओ चिनेको छ
रक्तपातपूर्ण बर्गसंघर्ष भोगेको छ !

तिमीले बोकेको रातो झण्डा
दलालतन्त्रको चाकडी गर्न हैन
त्यसले स्पार्टाकसको साहस लिएको छ
बसिखाने बर्गलाई भुइँमा पछारेको छ !

तिमीले बोकेको रातो झण्डा
मन्दिर, चर्च र मस्जिद पुज्न हैन
त्यसले नास्तिकताको चेतना बोकेको छ
पुरातन शास्त्रका अवयव भत्काएको छ !

तिमीले बोकेको रातो झण्डा
अकूत भ्रष्टाचारका लागि हैन
त्यसले बर्गशत्रुको सफाया गरेको छ
झापा बिद्रोह र जनयुद्ध गरेको छ !

तिमीले बोकेको रातो झण्डा
तिमीलाई सम्भ्रान्त बनाउँन हैन
त्यसले निजी स्वामित्वको ध्वंस गरेको छ
श्रमजीवीलाई सत्ताको साँचो दिएको छ !

तिमीले बोकेको रातो झण्डा
संसदवाद मैरमाउँन हैन
त्यसले बर्गघातीहरुलाई शूली चढाएको छ
श्रमिक बर्गलाई आन्दोलित गराएको छ !

त्यसैले,
रातोझण्डा बोक्छौ भने
त्याग आलिसान महलहरु
छोड दलाल्संगका संगतहरु !

रातो झण्डा बोक्छौ भने
तोड सनातन सरकारी शैली
बनाऊ मजदुरपक्षीय आचरण !

हैन भने,
यो रातो झण्डाले
नव बादशाहलाई घोडाबाट पछार्नेछ
भुईँमा नाक रगडनु पर्नेछ !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर