प्रदेश पाँचका मुख्यमन्त्रीले गरे ६ पालिकाका प्रमुखहरुसँग भिडियो संवाद

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका छन ।

कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको यो चौथो भिडियो संवाद हो । सोमवारको भिडियो संवाद गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुखहरुसग गरिएको थियो ।

मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बश्याल, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटो, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वश्यालसग सोमवार मुख्यमन्त्रीको  भिडियो संवाद भएको छ  ।

कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा भएको छलफलमा पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्ग्निर्देश गरेका थिए । पालिकाप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराएका थिए । उनीहरुले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न आग्रह गरेका थिए ।

स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गरेका थिए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले जानकारी गराएका थिए । 

भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न उनले आग्रह गरेका थिए ।

सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उनले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताए ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उमुख्यमन्त्री पोखरेलले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गरे ।

अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भन्दै अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्नेे पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर