• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

कोरोनाबाट जोगिँदै, तरकारी फलाउँदै [फोटोफिचर]

गौरादह । कोरोना भाइरसको संक्रमणबाट पूरै देश ठप्प भएका बेला झापा गौरादहका एक किसान भने तरकारी खेतीमा दिनरात खटिरहेका छन् । झापा गौरादह नगरापलिका–३, सिंहदेवी गाउँका बासिन्दा ज्ञानबहादुर राईको दैनिकी अहिले पनि तरकारी खेतीमै बितिरहेको छ । 

करिब एक दशक अघिदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएका राई अहिले पनि आधुनिक प्रविधिबाट तरकारी खेतीमा क्रियाशील छन् । दुई वटा पोखरीमा माछापालन समेत गरेका राईले फागुनसम्म करिब ५० क्विन्टल माछा माछा बिक्री गरेका छन् । उनले हालै पोखरीको डिलमा ड्रागन फ्रुटका बिरुवा रोपेका छन् ।  

माछा खेतीका साथै उनले अहिले विभिन्न प्रजातिको तरकारी पनि लगाएका छन् । अहिले उनको बारीमा काँक्रा, तितेकरेला घिरौँला, टमाटर, खोर्सानीलगायतका तरकारी फल्न थालेको छ । अहिले दैनिक करिब २० केजी काँक्री बिक्री गर्दै गरेको राईले बताए । अबको केही दिनमै घिरौँला, तितेकरेला र टमाटर पनि उत्पादन हुने उनले बताए ।

उनी भन्छन्, ‘परम्परागत रुपमा खेती गर्दागर्दै केही आशा पलाएकाले आधुनिक प्रविधिबाट खेती सुरु गरेको हुँ । पहिलोपल्ट भएकाले परिणाम कस्तो हुन्छ अहिले नै भन्न सकिँदैन । आशा छ, उत्पादन पक्कै राम्रो होला ।’

राईले तीनवटा टनेल निर्माण गरेर काँक्रा, टमाटर, तितेकरेला र खोर्सानी रोपेका छन् । त्यसैगरी पोखरीको डिलमा समेत घिरौँला र काँक्रा रोपेका छन् । उनले टनेलभित्र करिब दुई सय बोट टमाटर, दुई सय बोट काँक्रा र दुई सय बोट खोर्सानीका बिरुवा लगाएका छन् । त्यस्तै टनेलबाहिर पनि त्यति नै मात्रा बिरुवा लगाएको राई बताउँछ । टनेल निर्माणका लागि नगरपालिकाबाट थोरै राहत प्राप्त गरेको उनले जानकारी दिए । 

कोरोना भाइरसका कारण बजार बन्द भए पनि उत्पादन भएको काँक्री आहिले बारीबाटै बिक्री भइरहेको छ । बजारमा करिब ८० रुपैयाँ प्रतिकेजी पर्ने काँक्रो उनले ४० रुपैयाँ प्रतिकिलोमा बारीबाटै बिक्री गरिरहेका छन् । ताजा काँक्री खान पाउँदा स्थानीयसमेत हर्षित छन् । उत्पादन भएको तरकारी बारीबाट बिक्री हुनेमा उनी विश्वस्त छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर