• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

लकडाउन प्रभाव : लाखौँको फूल खेतमै सुकेपछि किसान चिन्तामा [फोटोफिचर]

जनकपुरधाम । फूल व्यवसायी रञ्जित भण्डारी अन्य वर्षभन्दा बढी आम्दानी गर्ने भन्ने आशामा यस वर्ष फूल खेतीको अनुपातमा वृद्धि गरेका थिए । तर कोरोना भाइरसको संक्रमणको त्रासका बिच लगाइएको लकडाउनका कारण उनको यो सपना नै तुहियो । लकडाउनकै कारण फूल खेती गर्ने व्यापारीहरु चिन्तामा डुबेका छन् । 

समयमै फुल रोपेका किसानको फुल बजारमा जाने समयमा लकडाउन भएपछि उनीहरु चिन्तामा परेका हुन् । खेतमा फुल फुलेर बजारमा लग्ने समयमा लकडाउन भएपछि आफुहरु निकै चिन्तित बनेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० रुपैठाका फुल खेती गर्ने किसान रञ्जित भण्डारीले बताए ।

उनले भने, ‘हाम्रो लागि यो महिना नै फुलको बढी बिक्री हुने समय रहेकोले यस बर्ष ६ लाखको फुल खेती गरेको थिएँ,तर ठ्याक्कै समयमा आएर लकडाउन भएपछि आफ्नो ६ लाख रुपैयाँ बालुवामा पानी सरह बनेको छ ।’ ३ बिघा क्षेत्रफलमा रोपेका फुलहरु बजारसम्म पुग्न नसकेर अहिले सबै खेतमै सुक्न थालेको छ । साहुसँग ब्याजमा ऋण लिएर फुलको व्यापार फस्टाउँछ कि भनेर सोंचेको थिएँ तर सबै उल्टो भयो ।

एकातर्फ फुल खेतमै सुक्यो भने अर्कोतर्फ साहुको ऋण त जसरी पनि तिर्नैपर्ने हुन्छ, चिन्ताले रातमा सुत्न पनि सकिरहेको छैन,‘उनले भने–२ हजार ५ सय रुपैयाँ प्रतिकठ्ठाको दरले ३ बिग्हा खेत अरुसँग फुलखेतीका लागि लिएको थिएँ तर अब के गर्ने नगर्ने चिन्ताले पिरोलेको छ ।’ रञ्जितले भने, ‘यस सिजनमा मेरो खेतबाट जनकपुरधादेखि लहान, वीरगञ्ज, काठमाडौसम्म फुल जान्थ्यो, विवाहको सिजन पनि यहि समयमा छ, यस सिजनमा बिवाह व्रतबन्धमा पनि लाखौंको फुल बिक्री हुन्थ्यो, मठमन्दिरमा पनि फुल जान्थ्यो तर अब सबै चौपट भएको छ ।’

गतवर्ष यस समयमा एक महिना अघि नै सयपत्री पूmल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष लकडाउनका कारण व्यापारी नआएपछि फूल एवं माला बिक्री गर्न नपाएको उनले बताए । उनले भने,‘लकडाउनका कारण बजार खुल्न पाएको छैन् । फुल बजारमा जान नपाए पछि काटेर फाल्न सुरु गरेको छु ।’ 

अहिलेसम्म २ लाख भन्दा बढिको फुल काटेर फालिसकेको उनले बताए । ६ लाखको फुलखेतीमा बिक्रि गर्दा १२ लाखको हाराहारी आम्दानी हुने भएपनि ती सबै नष्ट हुने अबस्थामा पुगेको उनको दुःखेसो छ ।

यसवर्ष सयपत्री फुलबाट यथेष्ट आम्दामी गर्न सक्ने आशा रहेपनि लकडाउनका कारण बिक्री नहुने चिन्ताले सताउन थालेको अर्का किसान लक्ष्मी भण्डारीको गुनासो छ । 

लकडाउनसंगै बजार नपाए पछि यहाँ लगाईएका सयपत्री फुल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभा समारोहहरु पनि भएका छैनन् । यस क्षेत्रमा फुलको मूख्य बजार जनकपुरधाममा छ तर त्यहाँ फुल जान छाडेपछि खेतमा नै सुकेर नष्ट हुन थालेको छ,स्थानीय किसान अमृत भण्डारीले बताए । राज्यले फुल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

 

 

सबै तस्बिरहरु : जयन्त ठाकुर जनकपुरधाम

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर