• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बन्दाबन्दीको कहर : छोरा सोध्छ– ‘ए..बा ! मलाई बिर्सियौ ?’

‘कोरोनाले मानिसबीचको दुरी बढाएको छ । यसले जबरजस्त मानवीय संवेदनालाई निकम्मा बनाएको छ । एउटा दुष्चर कीटले एकाईसौं शताब्दीको मानिसको यान्त्रिक अहंको खिल्ली उदाएको छ ।’

 

औंला भाँची हरदिन यहाँ आउला भाग्य पक्कै
मेरो चोला सुखसयलमा झुम्छ होला बिछिट्टै
भन्दै सोंच्नू गलत लत पो हो कि जस्तो मलाई
लाग्यो साँच्चै अब त मनमा फेरि शंका मलाई । ।

दर्दले जीर्ण तन र विदीर्ण मनमा प्रियजनहरूका माया र स्नेहमय बोलीवचन अमृतबाँण समान हुँदा रहेछन् । कोरोनाको प्रेतले आक्रान्त यस कहरमा जब जीवन कोरोना च्याम्बरमा फस्यो तब प्रियजनका ममतामय सद्व्यवहार नै जीवनको महाभरोसा हुनेरहेछ । जीवनको कटु अनुभवले यही कुराको पर्दार्पण गर्दछ ।

बन्दाबन्दीको आततायी आहालमा जब म यो चार भञ्याङ्ग खाल्डोमा फसें । जहान बालबच्चा रुकुम (पूर्व)को दूरदराजमा अवस्थित मैकोट गाउँमा प्रताडित छन् । म यता यो महाव्याधिको कोरोना च्याम्बरमा बेहद छट्पटीमा छु । प्रत्येक दिन प्रियजनहरूको फोन आउँछ । सोधी भ्याउँछन्– ‘कस्तो छ तिमीलाई?’ हालसम्म सामान्य स्थिति भएको जानकारी दिन्छु । समयको सदुपयोग गर्न नसकिएको मेरो दिन गुजारा  हदैसम्म गएगुज्रेको छ भन्दा फरक नपर्ला । घरमा भएका छोराछोरीसँगको प्रिय फोनवार्ताले मनको दर्द केही हद कम हुन्छ । उनीहरूको बालसुलभ मनले गरिएका बातचित प्रीतिकर लाग्छन् । श्रीमती मायासँगको आत्मिक कुराले मनको सकस दूर हुन्छ ।

हरेक दिन फेसबुक, ट्वीटरमा निराशा र हतासाका बमन छताछुल्ल देखेर मन एक तमास नैराश्यले चिथोरिन्छ । मन त्यसै त्यसै गह्रौं हुन्छ पनि ।

यही बेला लेखनीको सौन्दर्य ढाँचा र शिल्पकलाले सुशोभित भव्य रचना रच्न अक्षम रहे पनि यो बन्दाबन्दी समयसँग कुनै गुनासो छैन । परन्तु खराब दिनमासले असोचनीय दुर्दान्त पल भोग्नु परेकोमा गुनासो छ । तन्किन नपाएको आङमा आलश्यको कहरले विक्षिप्त मन उखरमाउलिएर रम्न नपाएको दुई महिना भयो । एकान्तिक भ्रान्तिको अनुपम उत्सर्गको एकाग्रताले अनुहारमा कान्ति छाउने पक्कै शोभनीय हुँदैन । बन्दाबन्दीमा तन पीडित, मन पीडित । ओइलाएका आँखा कुनै निर्दिष्ट उत्सुकतामा आकृष्ट छैनन् ।

कोरोना संक्रमण झन् चर्किंदो छ । मन एक तमासले खस्किँदो छ । केही समयमा संक्रमण कम होला, बन्दाबन्दी खुकुलो होला र काम सकेर घर फर्कुंला भन्ने साेंचमा झन्–झन् तुषारापात भएको छ । असोंचनीय रूपमा संक्रमण बढ्नु, बेलैमा काम नहुनु र घर जाने समय अनिश्चित हुँदै जानु कम दर्दको कुरा त होइन । थोरै बाँकी रहेको आशाको झिनो त्यान्द्रो पनि अब झनै चुँडियो । कोरोना रोगीहरूको संख्या ह्वात्तै बढेको हुँदा हिजो अस्तीसम्म केही झिनो रहेको आशा आजदेखि लगभग समाप्त भएको छ । जीवन यस कोरोना कहरको बलिबेदीमा उभिन अभिशप्त छ ।

कोरोना कहरले गर्नुसम्म गर्यो । आफ्नाहरूको साथ छुटायो । तीन हप्ताअघि कुनै ठाउँमा बोकेर, कुनै ठाउँ भनसुन गरेर मैकोटहुँदै रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोट खलङ्गाबाट बन्दाबन्दीको बीचमा एम्बुलेन्स चढेर काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा मुटुको उपचार गर्न आएका माइला दाइ मान्धन घर्ती मगरसँग भेट्न सकिएन । उनको सुरक्षा आएकी छोरी विष्णुउतिले भनिन्– ‘कथम् ! बाको अप्रेशन हुने भयो भने म एक्लै हुन्छु । तपाईं पनि आउनु होला कान्छा बा !’

उनको आशय थियो, माइला दाइको अप्रेशन हुने भयो भने यो बन्दाबन्दीमा आफू एक्लै हुनेछिन् । र, संभावित विपत्तिको पैठेजोरी गर्न आफूलाई समस्या आइपर्दा साथ रहोस् ! उनलाई आश्वस्त पार्दै मैंले भनें– ‘अप्रेशन हुने भयो भने म आउनेछु ।’

मनमा नानाभाँती कुरा खेल्यो । काठमाडौंमा कान्छो भाइ भेट्न आउला भनेर मुटु रोगी माइला दाइको मनले साेंचेको थियो होला । ‘शरणार्थी’ मन बेचैनी भयो । भेट्न जाऊँ, कोरोना कीट लिएर आउला भन्लान् घरबेटीले भन्ने डर ! भेट्न नजाऊँ दाइको विपत् अवस्था ! हरे ! यो कस्तो अकिञ्चन समय ! यो कस्तो निरीहपना !! म आफ्नै मनको भट्टीमा जल्दै रहें । म वेदनाको अग्निमा सल्किरहें । विपतको रोगनले मनको भरोसा यसरी उप्कियो–

खोज्दै धाएँ सबतिर खुशी आत्मसन्तोष पार्न
गाएँ गाना मृदुल स्वरमा पीर चिन्ता निखार्न
सर्दै आयो तन मन हुँदै दर्द चिन्ता असाध्य
झर्दै आयो नयन जल यो आत्म रोयो असाध्य ।।

केही दिनपछि फोन गरेर दाइको अवस्था बुझ्न खोजें । विष्णुउतिले भनी– ‘बाको अप्रेशन गर्नु नपर्ने भयो । औषधीले ठीक हुन्छ भन्छन् ।’

मन अलि ढुक्क भयो । केही दिनको लागि कीर्तिपुर जाने कुरा गरेकी थिइन् उनले । समय उस्तै भयो । कीर्तिपुर गएकी भनेर फोन गरें । फोन लागेन । अनि फोन गर्न लगभग बन्द भयो ।

विष्णुउतिले इटहरीमा रहेकी उनकी साइँली बहिनी भावनालाई बोलाइछिन् । माइला दाइहरू तीन महिनालाई पुग्ने औषधी लिएर रातारात एम्बुलेन्समा घर गइसकेछन् । उनी बनहरको एकान्त घरमा क्वारेन्टाइनमा छन् अरे । उनको चिन्ता त अब भएन ।

यता म काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुङ्गामा अवस्थित एक आधुनिक घरको तल्लो तलामा मेरै गाउँका आफन्तिको ‘अस्थाई क्याम्पमा शरणार्थी जीवन’ बिताउन अभिधप्त छु यतिखेर । यता म परिवारसँगको विछोडले ब्याकुल हुने । उता घरमा बच्चा जहान म बिना आजित हुने । मेरा दिन ऐजन–ऐजनमा बितिरहेछन् भन्दा फरक नपर्ला । कोरोनातन्त्रको अन्तरकथा विष्मयकारी र भयानक छ । सारा विश्व त्राहिमाम भएको अवस्थामा प्रायः सबै देशहरू कोरोना संक्रमित छन् ।

अति विकसित राष्ट्रहरू परेसान भएको कोरोनातन्त्रको सन्त्रस्त युगमा ज्यान जोगाउनु पनि अल्पविकसित राष्ट्रका जीवात्माहरूलाई वरदान सावित हुनेछ । ज्यान जोगाउने धुनमा दिन दशा नलागोस् भनेर मनको पुकारा झ्याँगिएको दारुण अवस्था छ । एउटा अकिञ्चन पुकारा आफ्नै मनमा लय प्रलय र विलय हुन्छ ।
सबको परिवार गाउँ गएका बेला म यता काठमाडौंमा अड्केको भएर एकाबिहान आजित भएको छोरो क्रिसले हठात् रुवाइको अधैर्य भाका हालेर फोनमा भन्यो– ‘ए बा ! मलाई बिर्सियौ ?’

छोरोलाई उधारो आशामा अल्झाएर माघ महिनाको दोस्रो हप्ता म घरबाट निस्केको थिएँ । बैशाखसम्म काम फत्ते हुने योजना थियो । परन्तु चैत ११ गतेबाट कोभिड–१९ कोरोना भाइरसको कारण देश बन्दाबन्दीमा पर्यो । देशसँग सिङ्गो जनको जीवन र भविष्य बन्द भयो । यसको घानमा म पनि पिसिएँ । म कोरोना कहरको बन्दाबन्दीमा परेको कुरा क्रिसको बाल मनोविज्ञानले ठम्याउन सक्दैन पक्कै । मैले प्रताडित मुटुमाथि ढुङ्गा राखेर छोरालाई भनें– ‘मैले बिर्सेको छैन बाबु ! आफ्नो छोरालाई पनि कसैले बिर्सिन्छ होला र ?’

नाबालक छोरासँगको सम्वादपछि उहिल्यै लेखेको कविताको एक श्लोक याद हठात् मनको पर्दामा तैरियो–

आशा मर्दै क्षणभर यहाँ शान्तिको भङ्ग हुन्छ
कालो पर्दा हृदय तटमा बास बस्दै रहन्छ
बल्दो ज्वाला विपिन मनमा निभ्न गाह्रो भयो लौ
कस्तो कस्तो गलित तनमा रक्त सुक्दै गयो लौ ।।

मनमा कोरिएको मालिनीलाई ओझेलमा पारेर छोरोले सुक्सुकाउँदै भन्यो– ‘धेरै सम्झेको छु बा !’ मेरो मन अब भने कम्पित हुन लाग्यो । तै–तै छोरालाई भनें– ‘नरोऊ बाबु ! म काम सकेर छिट्टै गाउँ फर्किन्छु ल ! म पनि त तिमीलाई मनग्ये सम्झेको छु ।’

छोरी क्रिष्टिना अलिकति भए पनि बुझ्ने भएकी छ । उसले मलाई राम्रोसँग बस्नु भनेर सुझाएको छ । रहर त कसलाई होला र परिवारसँग विछोडिने ?! उता छोराको रुवाई थामथुम पारियो । यता मेरो मन डावानल भएर घबराउन थाल्यो ।

अप्रीतिकर यो दिनमास अझ लम्बिने छाँट देखिएको छ । कोरोनाले मानिसबीचको दुरी बढाएको छ । यसले जबरजस्त मानवीय संवेदनालाई निकम्मा बनाएको छ । एउटा दुष्चर कीटले एकाईसौं शताब्दीको मानिसको यान्त्रिक अहंको खिल्ली उदाएको छ । 

आज बैशाख ३० गते ०७६ तद्नुसार १२ मे, २०२० को दिन यो लेखोट लेखिरहँदा मन विस्मात छ । यतिखेर छोराको भक्कानो मिश्रित अधैर्य आवाज तारन्तार कानमा बज्रिरहेको छ– ‘ए बा ! मलाई बिर्सियौ ?’

छोराको सोधनीले विक्षिप्त मन आशातित् मालिनीमा गुन्गुनाउन हमेशा कोशिश गरिरह्यो–

ऐना जस्तै सुमधुर भए लक्ष्य साक्षार हुन्थ्यो
यौटा राम्रो गुण हृदयले जिन्दगी तृप्ति बन्थ्यो
यो व्याधीमा अगमसँगमा जिन्दगी धान्न पाए
जाती हुन्थ्यो प्रकृतिभरमा रम्न छिट्टै पाए ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर