सुनसान छ सङ्गीतालय

बाँके । जहाँ हरेक दिन ‘सारेगमपधनिसा’को धुन गुञ्जिथ्यो । बाँकेको नेपालगञ्ज–१३ मा विसं २०२८ मा स्थापना भएको सरस्वती सङ्गीतालयमा सुरेशराज शर्मा त्यतिबेलाका सङ्गीत गुरु हुन् । सङ्गीत गुरु शर्माको निधनपछि डेढ दशकदेखि बन्द रहेको सङ्गीतालयमा गीत–सङ्गीतका धुनहरु बज्न छाडेका छन् ।
 
सङ्गीतालयको भवन तथा प्राङ्गणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ । सुमधुर गीतसङ्गीतका धुनहरु गुन्जिने सङ्गीतालय सुनसान छ । शर्माको निधनपछि सङ्गीतालय अस्तव्यवस्त छ । विसं २०५६ मा गठित सङ्गीतालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज शर्मा विगतमा सङ्गीतालयले धेरै सङ्गीतकर्मी सिर्जना गरेको भए पनि अहिले कसैले पनि गुरुस्थललाई फर्केर नहेरेको बताउँछन् । 
 
हार्मो्नियममा राम्रो दख्खल भएका नेपालगञ्ज–१० का युवा मिलनप्रकाश श्रेष्ठले सङ्गीतालय सञ्चालन गर्ने चाहना भए पनि सङ्गीतालयको अवस्था जीर्ण रहेको र पुराना सामग्री नभएकाले समस्या देखिएको बताउँछन् । व्यवस्थापन समितिका अध्यक्ष शर्माका अनुसार आफूहरुले सङ्गीतालय सञ्चालन गर्न धेरै प्रयास गरे पनि कहीँकतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या भएको गुनासो गर्छन ।

व्यवस्थापन नहुँदा सङ्गीतालयमा रहेका करिब रु पाँच लाख मूल्य बराबरका सामग्री हराएको अध्यक्ष शर्माले बताउनुभयो । अहिले सङ्गीतालयको भवनसमेत जीर्ण बनेको छ । वर्षात्मा छतबाट पानी चुहिँदा भवनका भित्ताहरु चर्किएका छन् । सङ्गीतप्रेमी युवा सङ्गीत सिक्न आउने गरेको भए पनि सङ्गीतालयको अवस्था देख्दा निरास भएर फर्किने गरेका छन् । गायक अर्जुन मिलन अर्थात् संवैधानिक कानूनका ज्ञाता भीमार्जुन आचार्यले पनि यही सङ्गीतालयबाट सङ्गीतिक धनुमा ताँदो लगाएका हुन् । 

नेपालगञ्जका सङ्गीतकार दीपक सल्मानी, दिलीप परियार, सीता गुरुङ, कन्हैयासिंह, विनोदसिंह सिन्हाजस्ता साहित्यिक हस्ती पनि यहाँकै उत्पादनभित्र पर्दछन् । – काशीराम शर्मा
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर