• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

डा. बाबुराम भट्टराई के ‘भारत परस्त’ हुन त ? हेर्नुहोस् इतिहास

संविधान संशोधनमा भट्टराईको भूमिका के हुन्छ ? उनको राष्ट्रियता जाँच्ने यो गतिलो ‘परीक्षण कीट’ साबित हुनेछ ।

काठमाडौं । डा. बाबुरा भट्टराई । नेपाली राजनीति वृत्तमा बुद्धिजीवी, अन्तर्राष्ट्रिय समुदायमा बढी चिनिने नाम । डा. भट्टराई यतिबेला नव गठित जनता समाजवादी पार्टीका नेता बनेका छन् । तर्कमा जो कसैलाई बाँकी राख्दैनन् । आफू बाहेक अर्काले गरेका कामको जस दिन सक्दैनन् उनी । 

डा. भट्टराईको राजनीतिक यात्राको ग्राफ हेर्दा आठौं पटक पार्टी, बिचार परिवर्तन गरेर जनता समाजवादी पार्टीको नेता बनेका छन् । यतिबेला सामाजिक सञ्जालमा बढि व्यस्त र सरकारप्रति बाँणरुपी शब्दका तिखा प्रहार गर्ने भट्टराई लामै समय टिकेको तात्कालीनमाओवादीमा मात्रै हो ।

कम्युनिस्टरुको ‘धर्मशस्त्र सरह’ मानिने मार्क्सवादको मार्गदर्शक यात्रा त्यागेका भट्टराई अहिले मधेश केन्द्रित दलमा समावेश छन् । उनी निकट दलका सांसदहरुले कालापानी, लिपुलेक बारे सरकारले अघि सारेको एजेन्डा स्वीकार्दैनन् । 

सरकारद्वारा जारी नेपालको नयाँ नक्साको बैधानिकताका लागि सरकारले संविधान संशोधनको प्रस्ताव अघि सारिसकेको छ । यही मौकामा कांग्रेससँग गठजोड् गरेर मधेश केन्द्रित मुद्दालाई समावेश गर्न सकिन्छ कि भन्ने राजनीतिक खेल खुलेआम देखिएको छ । राष्ट्रियताको विषयमा कांग्रेस आफ्नो अडानमा रहला । तर, शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीले संशोधनमा आफ्ना एजेन्डा समावेश गराउनका लागि एक छलफल गरिसकेको छ ।

डा. भट्टराईले नेपालको नयाँ नक्सा जारी गरेपछि मनैदेखि स्वागत त गरेका छैनन् । तर, कुटनीतिक तहबाट वार्ता गरेर समाधान गर्नुपर्ने तर्क गरेका छन् । प्रधानमन्त्री केपी ओलीप्रति बढि कटाक्ष गरेका छन् डा. भट्टराईले । संविधान संशोधनमा मधेश केन्द्रित दलको भूमिका के रहने भन्ने प्रष्ट धारणा नबिसकेको अवस्थामा भने भट्टराईका लागि यो अग्नि परिक्षा बन्ने छ ।

आफ्ना माग संबोधन गर्ने गरी संविधान संशोधन गरौं भनेर मधेश केन्द्रित दलले सरकारले अघि सारेको बुँदामा मात्रै सहमत नजनाए डा. भट्टराईमाथि राष्ट्रियताको प्रश्न झन् गम्भीर रुपले तेर्सिने छ । ‘अब्बल राष्ट्रवादी’ को बन्ने भन्ने माहौल चलिरहेको बेला नेतृत्वको परीक्षण स्वभाविक रुपले हुने छ । यसैको कसीमा डा. भट्टराई उभिएका छन् ।
.......

जसले बुझ्छ बाबुरामलाई 
डा. बाबुराम भट्टराईलाई नजिकबाट सबै भन्दा बढि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेहोरेका छन् । प्रचण्ड–भट्टराईको राजनीतिक अन्र्तविरोधहरुको यात्रा लामै छन् । त्यसमध्ये राष्ट्रियताका बारे चाख लाग्दा केही दृष्यहरु छन् । प्रचण्डले भन्ने गरेका थिए– ‘मैले जति बाबुरामलाई कसले झेलेको होला ?’

गोरखाको खोप्लाङमा २०११ सालमा जन्म भयो । जुनबेला उनको नाम मुक्तिराम जुरेको थियो । खोप्लाङदेखि केही वर लुइँटेल गाउँमा खुलेको मिसन स्कुलमा माध्यमिक तह पढे । २०२६ सालको एसएलसीमा बोर्ड फसर््ट भए । अन्तर्मुखी स्वभावका भट्टराई बोर्ड फसर््टसँगै काठमाडौं अध्ययनका लागि प्रवेश गरे । काठमाडौंमा पनि उनको पढाई अब्बल नै रह्यो । मेधावी विद्यार्थी भएकै कारण उनले कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढबाट बी. आर्किटेक्ट गरे । जहवरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधी ।

भारतमै रहँदा उनी अखिल भारत नेपाली विद्यार्थी संघका संस्थापक अध्यक्ष बने । भट्टराई त्यतिबेलासम्म प्रजातान्त्रिक धारतिर बरालिएका थिए । जुन वैद्यानन्द झा नेपाली राजदुत भएका बेला उनको आर्थिक सहयोगमा संघ सञ्चालित हुन्थ्यो । त्यहीबेला भारतमा नेकपा (मसाल) निकट अखिल भारत नेपाली एकता समाज संस्था स्थापना भयो । एमालेले पनि जनसम्पर्क समिति बनायो । त्यहाँ नेपाली मजदुरमाझ समाजले रक्तिम सांस्कृतिक कार्यक्रम गर्थ्यो । ती सांस्कृतिक कार्यक्रमहरुमा भट्टराईलाई अतिथि बनाइन्थ्यो ।

त्यहीक्रम बढ्दै जानेक्रममा मसालका महामन्त्री मोहनविक्रम सिंह र निर्मल लामाले उनलाई पार्टी सम्पर्कमा लिए । ०३७ सालतिर उनलाई मसालको सदस्यता दिइयो । मजदुर, चौकिदारसँग असाध्यै घुलमिल गनै बानी उहिलेदेखि थियो उनमा ।

भारतमा रहँदा उनमा पार्टी पद्दति भने त्यति थाहा हुन्नथ्यो । कुन पदमा कसरी पुगिन्छ भन्ने उनमा अभाव देखिन्थ्यो भारतमा रहँदा । अयोध्यायमा सम्पन्न मसालको पाँचौं महाधिवेशनमा विभाजन आयो । त्यो विभाजनको असर एकता समाजमा पर्यो । त्यो बेला एकता समाज फुट्यो । गोविन्दसिं थापाले नेतृत्व गरेको एकता समाज दिल्ली पक्षमा बहुमत पुग्यो । सीपी गजुरेलले नेतृत्व गरेको कलकत्ते पक्ष अल्पमतमा परेर विभाजन भयो । भट्टराई दिल्ली पक्षमा लागे ।

त्यहीबेला उनी एकता समाजको पश्चिम–उत्तोर क्षेत्रीय समितिपकिो अध्यक्ष बने । आफूले चलाउँदै आएको ‘जनप्रवाह’ पत्रिकालाई बन्द गरे । अर्को प्रकाशनका लागि एकता समाजका अध्यक्ष थापा प्रकाशक र भट्टराई सम्पादक भएर ‘नेपाली एकता’ मासिक बुलेटिन प्रकाशन गर्न थाले ।

उनी बेलाबेला ऋषिकेश शाह, पद्मरत्न तुलाधरलाई नेपालबाट बोलाएर कार्यक्रम गर्थे भारतमा रहँदा । पार्टीका मान्छे सोध्थे– ‘डाक्टर साब, यो भएन । उहाँहरूसँग वर्गीय कुरै मिल्दैन ?’ उनले नेपालको राजनीति बुझ्न उनीहरूसँगको छलफल लाभदायक हुने तर्क गर्थे ।

ऋषिकेश शाहसँग उनको निकटता ‘वर्ल्ड हेल्थ अर्गनाइजेसन’मा काम गर्ने उनका भाइमार्फत् भएको थियो । भारतमा रहँदा उनको एसडी मुनिसँग राम्रो हिमचिम बन्यो । त्यसबेला अहिलेका वरिष्ठ पत्रकार युवराज घिमिरे टेलिग्राफमा कार्यरत थिए । घिमिरेसँग पनि उनको बढी हिमचिम हुन्थ्यो ।

त्यहीबेला उनी दिल्लीमा ठूलो दुर्घटनामा परे । उनलाई जेएनयुका भिसीलगायतले अल इन्डिया मेडिकल इन्स्टिच्युटमा माथिल्लो तहबाट उपचारको व्यवस्था मिलाइदिए । त्यो खालको उपचारले मात्र उनी खतरामुक्त भएको समकालीनहरु सम्झन्छन् ।

विद्यावारिधीपछि उनी नेपाल आए । नेपालमा आएपछि मसालको काठमाडौं जिल्ला समितिमा बसे भट्टराई । त्यही क्रममा ०४६ को जनआन्दोलन सुरु भयो । वाम मोर्चामा नअटेका साना कम्युनिस्ट पार्टीहरूको छुट्टै मोर्चा बन्यो । त्यो मोर्चाको नाम संयुक्त राष्ट्रिय जनआन्दोलन समिति राखियो । जसको संयोजक डा. भट्टराई बने । जसले चैत २४ गते नेपाल बन्दको आह्वान गरेर ०४६ सालको जनआन्दोलनलाई चरमोत्कर्षमा पुर्यायो । दलहरूबीच जनआन्दोलन दिवस चैत २४ र २६ गतेको विवाद अझै कायम छ ।

जनआन्दोलन समाप्तिपछि पहिलो संसदीय निर्वाचनलाई बहिष्कारको नीति लिएका मोहनविक्रमबाट उनी अल्लगिए २०४८ मा । मसाल छाडेपछि भट्टराई त्यसबेला नव गठित नेकपा (एकता केन्द्र)मा सामेल भए । जसको नेतृत्व प्रचण्डले गरे ।

त्यसको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भट्टराई बने । त्यसबीचमा केही समय उनले अध्यक्ष पद छोडे । बाबुरामको ठाउँमा पम्फा भुसाल अध्यक्ष बनिन् । भट्टराई पुनः अध्यक्षमा फर्किएपछि ०४८ को पहिलो संसदीय चुनावमा संयुक्त जनमोर्चाले ९ सिट लियो । जनयुद्ध सुरु गर्नुअघि देउवा सरकारलाई ४१ बुँदे माग उनकै नेतृत्वमा बुझाइएको थियो ।
.......

नेपाली राजनीतिमा दस्तावेज लेखनकर्ता 
भट्टराई हरेका मत्वपूर्ण राजनीतक घट्नाक्रमका दस्तावेज लेख्नेमा पर्ने व्यक्ति हुन । ‘जनयुद्ध सुरु गर्नुअघिदेखि चुनावाङको खाका, शान्तिप्रक्रियामा आउन गरिएको १२ बुँदा, २०६४ पार्टीको घोषणापत्र, दाहालले प्रधानमन्त्री छोड्दाको वक्तव्यसम्म आफूले तयार पारेको’ बताउँदै आएका छन् ।

अझै उनले पटक–पटक भन्ने गरेको गजबको संयोग कुरा छ । १२ बुँदा दिल्लीमा तयार हुँदै गर्दा हालका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केही शब्द हटाएको प्रंशग उनले भन्ने गरेका छन् । कुन बुँदा हो भन्ने बारे आफूसँग सुरक्षित रहेको भट्टराईले बताउँदै आएका छन् । 

माओवादीको युद्धकालमा कारबाही भोगे । तात्कालीन एकीकृत माओवादीको चर्चित पालुङटार बैठकमा उनले भनेका थिए– ‘मैले सधैं ठोकाईबाहेक केही खाएको छैन । ठोकाई खाँदाखाँदा मेरा छाला बाक्लिइसके, सहन सक्छु ।’

भट्टराईलाई हेरिने भित्री बाहिरी अनेक कोण छन् । उनले नै दर्ता गरेको ‘जनादेश’ साप्ताहिकमा बेलाबखतको कुरा स्तम्भ लेखेर चर्चा बटुलेका भट्टराई राजा वीरेन्द्र शाहको वंशनाशका बेला ‘कोतपर्वलाई मान्यता दिनुहुँदैन’ भनेर कान्तिपुरमा लेख लेखे । लेख छापेका कारण त्यसबेलाका कान्तिपुरका संपादक युवराज घिमिरे, व्यवस्थापन पक्षका कैलाश सिरोहिया, विनोदराज घिमिरे पक्राउ पर्नुपर्यो ।

माओवादी जनयुद्धको केही वर्ष भट्टराईकै नाम चर्चामा आयो । जनयुद्धकै समयमा उनी पार्टी कारबाहीमा परे । भट्टराई राजनीतिमा ‘चतुर खेलाडी’ हुन । जसको उदाहरण लिन सकिन्छ मोहनविक्रम सिंहको प्रयोग । राजनीतिमा कटु आलोचक मानिने भट्टराईले सिंहलाई आफ्नो पक्षमा लेख्न लगाए । सिंहले ‘बाबुरामको जीवन रक्षा गर’ भनेर एउटा लेख लेखेका थिए । सिंह र भट्टराई जो एकअर्का नाम सुन्न नसक्ने वैचारिक विरोधी थिए जुन समयमा ।

भट्टराई र अर्का वैचारिक नेता मानिने तात्कालीनएकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ बारे प्रचण्डले पालुङटार बैठकमा दाहालले सिधै भनेका थिए– ‘म के गरौं भएको छ । भारतले एक जनालाई अमेरिकीले अर्कोलाई भेटिरहेको थाहा पाउँछु मलाई जानकारी हुँदैन ।’ उनले त्यो संकेत भट्टराई र वैद्यप्रति गरेका थिए । त्योबेला अमेरिकी प्रतिनिधिहरूसँग वैद्य र उनका विश्वासपात्र नेत्रविक्रम चन्दसँग भेटघाट हुने गरेको दाहालले जिकिर गर्दै आएका थिए । भट्टराईको भारतीय एजेन्सीहरुसँग भेटघाट बाक्लै थियो । वैद्य र किरणको भेटघाट अमेरिकन संस्थापन पक्षसँग नभई ‘रिम’मा आबद्ध प्रतिनिधिहरुसँग भेटघाट थियो । रिमले नेपालमा ‘क्रान्तिका थप आवश्यकता’ रहेको भनि उक्साई रहेको थियो ।

प्रचण्डको जवाफमा पालुङटार बैठकमै भट्टराईले भारतमा अध्ययन गरेर विद्यावारिधी गर्नु ‘घाँडो’ भएको बताएका थिए । उनले भारतलाई प्रधान अन्तर्विरोध भनेर भन्न नसकिने तर्क त्यहाँ राखे । जुनबेला पार्टीमा फरक मतका रूपमा दर्ज गरिएको थियो । भट्टराई बढी भारतपरस्त भनेर चुनावाङ बैठकअघि आरोप खेपे ।

भट्टराई केही समय कार्वाहीमा परे, जसलाई कार्यकर्ताले पार्टीको अन्तर्विरोधलाई ‘दिल्ली प्रकरण’ भनेर नाम दिए । भट्टराई युद्धकालभर भारतमा अधिकांश समय दाहालसँगै रहे । एकाएक भारतमा नेता पक्राउ पर्न थालेपछि दाहालले भट्टराईप्रति शंकाले हेर्न थाले । त्यसैको परिणाम थियो उनको कारबाहीमा पर्नु ।

अझै रोचक त २०६० को वार्ता टोलीमा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सदस्य बने । जुनबेला पहिलो पटक बादल सार्वजनिक भएर भाषण गरेका थिए । जुनबेला राजा ज्ञानेन्द्रसँग प्रत्यक्ष वार्ता गर्ने भनिएको थियो । तर, दरबारबाट बाबुरामबाहेक बादलसहित मात्रै भेट्ने प्रस्ताव आयो । जसका कारण भट्टराई झस्किए । कारण उनी भारतपरस्त भन्ने आरोपबाट मुक्त हुन सकेनन् ।

भारतमा गिरफ्तार परेका एकथरी नेताहरुले पार्टीभित्र देखिएका भट्टराई पक्षधरले भारतको जासुसी संस्था ‘र’सँग मिलेर पक्राउ गराएको खुला आरोप लगाए । संयोग वा नियत, भारतको अलि कडा आलोचक मानिने नेताहरू बढी गिरफ्तारीमा परे । भट्टराई पक्षधरले त्यसका विरुद्ध सैद्धान्तिक रूपमै फरक मत राख्न थाले । त्यसले अप्ठेरो पारेको महसुस गरेर हेडक्वार्टर भारतबाट माओवादीको त्यतिबेलाको ‘आधार इलाका’मा फर्किने निर्णयमा पुगेको थियो । त्यसलगत्तै माओवादीले भारतसँग ‘सुरुङ युद्ध’ गर्ने भनेर सीमाक्षेत्र लगायत देशभर सुरुङ खनेर ‘नाटक’ गरेको थियो ।

विवाद २०६२ कात्तिकमा चुनावाङ बैठकसम्म आयो । जुन बैठकबाट नेतृत्व एक भयो । बैठकले सबै एक हुँदै सात दलसँग गठबन्धन गर्ने, शान्तिप्रक्रियाका लागि संविधानसभा, गणतन्त्र स्थापनाको कार्यनीति तय गर्यो । जुन कार्यनीतिबाटै माओवादी यहाँसम्म आएको र त्यो कार्यनीति भट्टराईले आफूले गरेको भन्दै आएका थिए माओवादीमा हुँदासम्म ।

२०६७ को चैतमा खन्ना गार्मेन्टमा प्रचण्डले एकाएक एउटा रहश्य खोले । भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको कार्यकर्तालाई सुनाए । त्यो बेला प्रचण्डकोे अभिव्यक्तिपछि भट्टराई झन् टाढिए, आफूलाई भारतपरस्त भएको आरोप लगाएको भनेर ।

तर, भट्टराई प्रधानमन्त्री हुने भन्ने हल्ला पार्टीभित्र र बाहिर चल्यो । त्योबेला  विकल्प खुला राख्ने निर्णय गरियो । खुला राख्ने नीति भनिए पनि प्रचण्डले पुनः आफैं प्रधानमन्त्रीको उम्मेदवारी बन्ने प्रस्ताव गरेर भट्टराईलाई ‘टेस्ट’ गरे । त्यसलगत्तै भारतीय विदेशमन्त्री एसएम कृष्णा आउँदा होटल द्वारिकामा एक्लै भेटघाट गरे भट्टराईले । त्यो विषय पार्टीमा विवाद बन्यो । उनले अध्यक्ष प्रचण्डलाई जानकारी गराएर गएको प्रष्टीकरण दिए । तर, प्रचण्डले केही मुख खोलेनन् ।

भट्टराईले पहिलो राष्ट्रपति निर्वाचन क्रममा भारतपरस्तको बढी आरोप खाए । रामराजा सिंहलाई राष्ट्रपति बनाउन उनी बढी सक्रिय देखिएका थिए । माओवादीभित्र एकथरीले रामराजाले बम पड्काएर राजतन्त्रलाई थप बलियो बनाएको र उनी सधैं भारतमा रहेको टिप्पणी गरेका थिए । त्यही आधारमा तत्कालीन जनमोर्चाका अध्यक्ष अमिक शेरचनले पार्टी ह्वीप विपरित राष्ट्रपति रामवरण यादवलाई मतदान गरेको प्रष्ट्याएका थिए ।

राजनीतिक वृत्तमा हरेक पटक भट्टराई प्रधानमन्त्री भए देश बन्ने थियो भन्ने एक खालको माहौल थियो त्योबेला । त्यही माहौलमा उनी ३५औं प्रधानमन्त्री बन्न सफल भए । पहिलो संविधान सभाको ठूलो दलको हैसियतमा २०६८ भदौ ११ देखि २०६९ फागुन ३० सम्म प्रधानमन्त्री रहे । भट्टराईकै नेतृत्वमा सरकार रहेको बेला पहिलो संविधान सभा अन्त्य भएको थियो ।

माओवादी आन्दोलनको रापतापबाट २०६४ को चुनावबाट ठूलो दल तात्कालीन एकीकृत माओवादी । गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री प्रचण्ड बने । भट्टराई अर्थमन्त्री । 

उनले अर्थ मन्त्रालयलाई राम्रो बनाएको भनी स्याबासी पाए । उनले वामहरूले भन्ने नियोजित अर्थतन्त्र नीतिबाट त्यो स्याबासी पाएका होइनन् । उदार अर्थतन्त्र र नियोजित अर्थतन्त्रलाई मिश्रित बनाएर उनले कार्यकाल सफल बनाए । तर, त्यसको दोष र गुण नेतृत्वसहितको टिम (जो प्रधानमन्त्री प्रचण्ड)ले लिने हो । त्यसमा भट्टराई आफू एक्लै सफल भएको जस्तो देखिए । 

२०७० को दोस्रो संविधान सभामा माओवादीको सर्वनाक हार भयो । तर, त्यसबेला भट्टराईले गोरखाबाट पुनः चुनाव जिते । बुटवलमा हालका नेकपाका महासचिव विष्णु पौडेलसँग पराजित भए । दोस्रो संविधान सभामा भट्टराई संबैधानिक समितिका सभापति बने । जसको महत्पूर्ण काम संविधान जारी गर्दासम्म रह्यो । २०७२ असोज ३ गते संविधान जारी भयो । संविधान जारी भएको अबसरमा टुंडिखेलमा आयोजित सार्वजनिक कार्यक्रमलाई नै भट्टराईले बहिष्कार गरे । 

बरु, आसोज ५ गते भट्टराई जनकपुर गएर मधेश केन्द्रित दलको माग बमोजिम संविधान अपुरो भयो भने । कार्यक्रममा झडप भएका कारण भट्टराई रित्तो हात फर्किए । त्यहीबेलादेखि भट्टराईले माओवादी पार्टी छोड्ने तयारी गरे । बैकल्पिक पार्टी निर्माणमा उनी लागे । २०७३ जेठ ३० गते दशरथ रंगशालामा नयाँ शक्ति पार्टीको घोषणा गरे । सबै ठूला दैनिक पत्रिकामा ‘ज्याकेट’ विज्ञापन राखेर तड्कभड्क देखाए । स्थानीय निकायको चुनावसम्म आइपुग्दा उनको राजनीतिक शक्ति पुरै क्षय भएको देखियो ।  

२०७४ असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिबीच तालमेल गर्ने गरी ५ बुँदमा हस्ताक्षर गरे । तर, पछि सीट संख्या नपाएपछि फेरि कांग्रेससँग चुनावी तालमेल गर्न पुगे । तात्कालीन एमाले र माओवादीका उम्मेदवार हालका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पराजय गरे । उनको नयाँ शक्ति पार्टी त्यही एक सीटमा खुम्चियो ।

२०७६ बैशाख २३ गते नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता गरे । एकतासँगै प्रधानमन्त्री ओलीले दल सम्बन्धि अध्यादेश जारी गरेपछि पार्टी पुनः विभाजन हुने देखे । जसमा पार्टीको सांसद अपहरण गरिएको भन्ने एजेन्डा भट्टराईले उचाले । तर, त्यसैको परिणाम २०७७ बैशाख १० गते राजपासँग पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन गरे । 

अहिले यही दलका केही सांसदहरु नेपालको नयाँ नक्सा जारीप्रति बेखुश छन् । स्वयं भट्टराई पनि प्रधानमन्त्री ओलीप्रति तिखो कटाक्ष गर्दै आएका छन् । संविधान संशोधनमा भट्टराईको भूमिका के हुन्छ, उनको राष्ट्रियता जाँच्ने यो गतिलो ‘परीक्षण कीट’ साबित हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर