नेकपा कर्णालीका सांसदहरुको आधा महिनाको तलब विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सांसदहरुले आफ्नो आधा महिनाको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदहरुको आधा महिनाको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको सांसद सीता नेपालीले जानकारी दिइन् । कर्णाली प्रदेश संसदीय दलको सोमबार बिहान बसेको बैठकमा आगामी आर्थिक बर्ष २०७७÷२०७८ को बजेटका सिद्धान्त, उद्धेश्य र प्राथमिकताका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा सांसदहरुले कोरोनाको नियन्त्रण र संभावित खाद्य संकटबाट जनतालाई जोगाउने गरि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

सांसदहरुले स्वास्थ्य र कृषि क्षेत्रमा प्रयाप्त मात्रामा बजेट छुट्याउन पनि सुझाव दिएका सांसद नेपालीले बताइन् । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी बर्षको नीति तथा कार्यक्रमका साथै बजेटका बारेमा सुझाव मागेका थिए ।

बैठकले कोरोना नियन्त्रणका लागि प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई धन्यवाद समेत दिएको छ । त्यस्तै सांसद करबीर शाहीकी आमाको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।

सोमबार दिउसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारले आर्थिक वर्ष २०७७÷०७८ का बजेटका सिद्धान्त, प्राथमिकताका विषयमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर