• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सर्वदलीय बैठकका निर्णय संसदमा जानकारी गराउन कांग्रेस सांसद रिजालको माग

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सवैदलहरुबीच हुने छलफलका निर्णयहरु सदनमा जानकारी गराउने व्यवस्था गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद रिजालले सर्वदलीय बैठकका निर्णय प्रधानमन्त्री या संसदीय व्यवस्था मन्त्रीले संसदमा दिने चलन प्रारम्भ गर्न माग गरेका हुन् । 

उनले भने, ‘प्रधानमन्त्रीज्युले हिजो बोलाउनु भएको सर्वदलीय बैठकले संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुन्यौं, खुसी लाग्यो, हाम्रो कर्तव्य पनि हो । अहिलेसम्म यस्ता बैठकको निष्कर्ष नेताले सम्बन्धित दललाई दिने थियो । डाक्टर रिजालले भने, ‘अब हामी राजनीतिक संक्रमणमा छैनौं, संविधान सम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दैछौं । यस्ता बैठक, विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री या संसदीय मन्त्रीले दिने परम्परा शुरू गरौँ ।’

बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो । त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७” पेश गरे । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुभएको थियो भने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरे ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार साँझ ६ बजे बोलाइएको छ । त्यसअघि संघीय संसदको संयुक्त बैठक बुधबार अपरान्ह चार बजे बस्ने र बैठकमा सरकारले आगामी बर्षको बजेट पेश गर्ने तय भएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर