• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

अमेरिका–चीनबीच विवाद दुवै देशका लागि ठीक होइन : चिनियाँ प्रधानमन्त्री

बेइजिङ । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् । 

अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध बिषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताएका छन् । 

यदि विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवाद मात्रै गर्ने हो भने कोरोनाभाइरसका कारण प्रभावित विश्व अर्थतन्त्र अझै थप सङ्कटतर्फ जाने धारणा राखेका हुन् । 

राष्ट्रिय जनसभाको समापन समारोहपछि पत्रकार सम्मेलनमा बोलेका कुराबारे लीलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ, ‘चीन र अमेरिकाले एकआपसमा सम्बन्धलाई जटिल बनाएमा यो अमेरिका, चीन र बाँकी विश्व कसैको हितमा पनि हुने छैन ।’

पछिल्ला केही दिनहरूमा चीन र अमेरिकाबीच ‘कोरोनाभाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । त्यसो त अमेरिका र चीनबीच वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै व्यापार विवादले स्थान लिएको छ ।

चिनियाँ प्रधानमन्त्री लिले भने, ‘दुई मुलुकबीचसोचमा चिन्नता हुनु स्वभाविकक हुन्छ तर तर्कसम्मत माध्यमबाट सहमतिको साझा विन्दुमा पुग्नु उत्तम विकल्प हुन्छ ।’

‘हामीबीच फरक राजनीतिक प्रणाली, सांस्कृतिक परम्परा र ऐतिहासिक पृष्ठभूमि रहेका छन् । त्यसैले हामीबीच विवाद हुनु नितान्त स्वभाविक कुरा हो । तर कुरा के हो भने विवादको कसरी समाधान निकाल्ने भन्ने हो । विगतका केही दशकदेखि अमेरिका–चीनबीच सम्बन्धमा विभिन्न रूपमा विवाद आयो ।’ 

उनले भने, ‘चीन र अमेरिका दुबै पक्षले दुई देशका राष्ट्रप्रमुखबीच यस पहिले सम्पन्न शिखर सम्मेलन तथा ओपचारिक तथा अनौपचारिक कुराकानीमार्फत निकालेको निष्कर्ष तथा महत्वपूर्ण मतऐक्यता बमोजिम समन्वय, सहकार्य र स्थिरताको आधारमा अघि बढ्नुपर्ने बुझाई चीनको रहेको छ ।’

प्रधानमन्त्रीले दुई मुलुकबीचको अर्थतन्त्र एकआपसमा  गाँसिएका र व्यवसायले पनि एक अर्कालाई वेवास्ता गरी अघि बढ्न नसक्ने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर