• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतीय मजदुर भन्छन् : 'आफ्नै देशका प्रहरीले लखेटे, नेपालीले माया गरे'

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठनले एउटा सूचना जारी गर्यो । सकेसम्म जो जहाँ छ त्यही सुरक्षित रहने । सोही आग्रहलाई मध्यनजर गर्दै नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुलाई सम्बिन्धीत देशमै सुरक्षि राख्न कुटनीतिक पहल गर्यो । विभिन्न देशका सरकार प्रमुखहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्दै नेपालीहरुलाई सुरक्षित रहने अवस्था सृजना गर्न आग्रह गरे । प्रधानमन्त्रीले छलफल नगरेका देशमा पनि सम्बिन्धत देशका राजदूत तथा कुटनीतिक अधिकारीहरुले पहल गरे । 

तर त्यसको अक्षरस पालना हुन सकेन । हजारौं नेपालीहरु भारतबाट नेपाल फर्किए । नेपालमा रहेका भारतीयहरु पनि आफ्नै देश फर्कन हतारिए । यसरी नेपाल फर्कन खोज्ने नेपालीलाई सरकारले आवश्यक सुरक्षा सतर्कता अपनाएर स्वदेश भित्र्यायो । नेपालमा रहेका भारतीय नागरिकलाई भने भारत सरकारले फर्कन नदिएको उनिहरुको गुनासो छ । 

 गत जेठ ४ गतेबाट नाकाहरु खुल्ला गरिएपछि हजारैँ नेपाली आफ्नो घर पनि फर्केका छन् । तर एकाएक बिहिबार धनुषामा खुल्ला गरिएको जटही तथा खजुरी दूबै नाका बन्द गरिएपछि हजारौँ व्यक्ति बिचल्लीमा परेका छन् ।

धनुषाको जटही नाकामा त सयौँको संख्यामा भारतीय मजदुरहरु बिचल्लीमा परेका छन् । जटही नाकामै गत बुधवार धनुषाका एक युवकको ज्यान गएपछि बिहीवार जिल्ला प्रसाशन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका बन्द गरिएको सूचना समेत जारी गरेको थियो । 

यद्यपि आफ्नो देश फर्कनका लागि राजधानी काठमाडौँबाट फर्केका सयौँ भारतीय मजदुुर सीमा नाकामा अलपत्र परेका छन् । सीमामा खटिएका नेपाली सुरक्षाकर्मीले नाका कट्न दिएपनि भारतीय एसएसबी जवानहरुले उनीहरुलाई लखेट्दै फेरी नेपाली भूमीमै फर्काएका थिए । 

आफ्नो देश फर्कन नपाउँदा सयौँको संख्यामा जटही नाकामा आफ्नो परिवार तथा बालबालिका सहित पुगेका भारतीयहरु मर्कामा परेका छन् ।  ती सबै देवीघाटमा रहेको एसी ईटा भट्टाका कामदारहरु रहेका छन् । 

जटहि नाकामा पीडा खेपीरहेका भारतीय नागरिक भारत सरकारसँग क्रुद्ध भएका छन । आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा बढी नेपाल सरकारले ध्यान दिएको उनीहरू बताउछन् ।

राती सीमा नाका कट्न खोज्दा भारतीय सीमा सुरक्षा बलले गाली गलौज गर्नुका साथै हातपात समेत गरेको भारत बिहारको दरभंगा जिल्लाका राहुल कुमारले दुखेसो पोखे । उनले भने‘ हामीले घर जान दिनलाई आग्रह गर्यौँ तर मध्य रातीमा भारतीय सीमा सुरक्षा बलका जवानहरुले आफूहरुलाई लेखेट्दै फेरी नेपाली भूमिमै पुर्याईदियो । उनीहरु सबै विभिन्न गाडी प्रयोग गर्दै जान सरल हुन्छ भन्दै जटही नाकासम्म आई पुगेका छन् । यद्यपि धनुषाको सबै नाका अहिले बन्द गरिएको छ । 

बिहीवार राति नै नाकामा आईपुगेका मजदूरहरु आफ्नो देश जान खोजेका छन्, तर कसरी जाने यसको समाधान न नेपालको सरकारले गर्न सकेको छ न भारती सरकारले चासो देखाएको छ । 
दुई सन्तान सहित जटही नाकामा पुगेका दरभंगाकै मलभोगीया देवी भारतीय एसएसबी जवानको रबैयाप्रति एकदमै क्रुद्ध छिन् । उनले भनिन् ‘मेरै सरकारको प्रहरीले लखेट्दै फेरी नेपाली भूमिमै फर्काई दियो, घर पुग्ने चाहना पूरा होला नहोला थाहा छैन ।’ अगाडी भनिन् ‘काम गर्नलाई नेपाल आएका थियौँ, मुख जोर्ने कुनै उपाय नभएपछि घर फर्कन लागेका छौँ ।’

सोही स्थानकी अर्का महिला राजकुमारी देवी पनि काखमै दुई वर्षको छोरो लिएर पुगेकी छन् । उनलाई आफूभन्दा पनि आफ्नो सन्तानको पीडाले धेरै पिरोलेको छ । उनले भनिन् ‘भारतीय प्रहरीले त लखेट्यो तर यहाँ नेपालीहरुले माया गरेका छन्, उनीहरुले नै दिएको चाउचाउ च्युरा बिस्कुट तथा खाना खाई रहेका छौँ ।’ 

महोत्तरीको भीठामोड नाका पनि भारतीय पक्षद्वारा बन्द 
जिल्ला प्रशाशन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले धनुषाको जटही तथा खजुरी नाका बिहिबार नै बन्द गरिएको छ भन्दै भने ‘धनुषा आउन अब महोतरीको भिट्ठामोड र सिरहाको माडर नाका प्रयोग गर्न पाउने छन् ।’

नेपालबाट भारत जानेहरुका लागि पनि धनुषाको बोर्डर भन्दा महोत्तरी र सिरहा बोर्डर प्रयोग गर्न सकिन्छ भन्दै पोखरेलले भने ‘भारतीय पक्षले जान दिने वा न दिने त्यो म भन्न सक्दिँन तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिट्ठामोड र माडर नाका नै प्रयोग गर्न सकिन्छ ।’

यता महोत्तरीको भिठामोड नाका नेपाली पक्षबाट खुल्ला गरिएपनि भारतीय पक्षले भने सो नाका पनि बन्द गरेका छन् । त्यहाँ पनि हजारौँ व्यक्ति अलपत्र परेका छन् । भिठामोड नाका नेपाल तर्फबाट खुल्ला गरिए पनि भारतीय पक्षद्वारा बन्द गरिए नगरिएको विषयमा आफूलाई जानकारी नरहेको प्रदेश दुईका डिआइजी धिरज प्रताप सिंहले बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर