• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

स्वदेश फर्कन चाहने १० लाख, सरकारको तयारी २५ हजार !

काठमाडौँ । करिब १० लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक सार्वजनिक भइरहेका बेला सरकारले तत्कालका लागि २५ हजारलाई मात्रै फर्काउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबारको बैठकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा एक सातादेखि १० दिनभित्र ल्याउने निर्णय गरेको हो ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र नागरिकको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको थियो । त्यहीअनुसार समितिले नेपाली श्रमिकहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार भारत र अन्य देशबाट गरी झन्डै ६ लाख नेपाली तत्काल फर्किन चाहेका छन् । तर मन्त्रालयका अधिकारीसमेत सम्मिलित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले भने भारत र अन्य मुलुकका गरी १३ लाखभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक तयार पारेको छ । यसमध्ये प्राथमिकताका आधारमा यूएई, कतार, माल्दिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार यूएईमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएका २ हजार ५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । खाडीमा सुत्केरी हुँदा कम्तीमा पनि ८ लाख जति खर्च लाग्ने र अधिकांश गर्भवती तथा उनीहरू आश्रित परिवारको समेत रोजगारी गुमेकाले प्राथमिकतामा परेका हुन् । एक दिनमा ३ हजारदेखि ३ हजार ५ सय जनालाई नेपाल ल्याउन सकिने अनुमान सरकारको छ । यद्यपि सीसीएमसीले एक दिनमा १० हजारसम्म नेपालीलाई तेस्रो मुलुकबाट उद्धार गर्न सकिने रिपोर्ट तयार पारेको थियो ।


स्रोतका अनुसार आवश्यकताका आधारमा केहीलाई लिन नेपालबाट विमान पठाइनेछ भने केहीलाई सम्बन्धित देशसँग समन्वय गरी ल्याइनेछ । नेपाल आएपछि १४ दिनसम्म उनीहरूलाई काठमाडौं, ललितपुर, भक्तपुर र धुलिखेलका होटलमा राखिनेछ । क्वारेन्टाइन ब्यवस्थापनको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई दिइएको छ । यसअघि पनि समितिले क्वारेन्टाइन ब्यवस्थापन उपसमितिको संयोजक भट्टराईलाई नै बनाएको थियो । सोहीअनुसार उनले उपत्यकाका होटल तथा स्कुलहरूको निरीक्षण पनि गरेका थिए । तर सीसीएमसी गठन भएर सबै प्राविधिक काम उसैले गर्ने निधो भएपछि पर्यटन मन्त्रालय निस्क्रिय बनेको थियो ।

तेस्रो मुलुकबाट आउने नागरिकको आर्थिक अवस्था हेरी उनीहरूलाई पूरै वा आंशिक सहुलियत दिने या सहुलियत नै दिन नपर्ने गरी वर्गीकरण गरिएको छ । कतिपयको खर्च उनीहरू फर्किने देश र काम गर्ने कम्पनीले नै बेहोर्ने प्रतिबद्धता जनाएकाले नेपाललाई आर्थिक भार कम पर्न सक्ने आकलन सरकारको छ । १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गरेपछि उनीहरूलाई घर पठाइनेछ ।

तीन निकायका फरक आकलन

खाडी मुलुक र मलेसियामा मात्रै श्रम स्वीकृति प्राप्त १५ लाख नेपाली कामदार छन् । भारतमा दस लाखभन्दा धेरै नेपाली विभिन्न श्रम क्षेत्रमा रहेको अनुमान छ । जसमध्ये कतिलाई तत्काल नेपाल फर्काउन पर्नेछ भन्नेबारे भने सरकारी निकायका फरक फरक आकलन छन् । संसद्को श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेस गरेको प्रतिवेदनमा ४ लाख ७ हजारलाई तत्काल उद्धार गर्नुपर्ने उल्लेख छ । उक्त प्रतिवेदनमा भिसाको म्याद सकिएका र आममाफी पाएका १ लाख २७ हजार र रोजगारी गुमाएर फर्किन सक्ने २ लाख ८० हजारसहित गरेर ४ लाख ७ हजार नेपाली तत्काल स्वदेश फर्किन सक्ने आकलन गरिएको छ ।

रोजगारी गुमाएर फर्किन सक्नेमा मलेसियाबाट ३० हजार, कतारबाट ७० हजार, साउदी अरबबाट १ लाख, युनाइटेड अरब इमिरेट्सबाट ५५ हजार, कुवेतबाट १५ हजार, बहराइनबाट ७ हजार र ओमानबाट ३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाली सेनासहितको कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रले तयार पारेको प्रतिवेदनमा भने भारत र अन्य देशबाट करिब १३ लाख ५० हजार नेपाली फर्काउनुपर्ने हुन सक्ने आकलन गरिएको छ । प्रतिवेदनमा हवाईमार्फत तेस्रो देशबाट प्रतिदिन दस हजारको संख्यामा करिब १० लाख नेपाली आउन सक्ने अनुमान गरिएको छ । भारतबाट विभिन्न नाका हुँदै ३ लाख ५० हजार प्रवेश गर्न सक्ने र तीमध्ये १५ प्रतिशत संक्रमित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।


गृह स्रोतका अनुसार वैशाखको मध्यदेखि जेठको पहिलो सातासम्ममा मात्रै विभिन्न नाका हुँदै भारतबाट करिब १ लाखभन्दा धेरै नेपाली भित्रिइसकेका छन् । चैतदेखि वैशाखको मध्यसम्म भने करिब ५ लाख स्वदेश भित्रिइसकेका छन् । जेठको पहिलो साता भारतबाट भित्रिएकाहरूलाई नै राख्न पुग्ने गरी क्वारेन्टाइनमा बेड नपुग्ने अवस्थामा प्रवासबाट उद्धार गरिनेहरूलाई कहाँ राख्ने भन्ने ठोस योजना सरकारसँग देखिन्न । त्यसो त श्रम स्वीकृति भएका, भिसाको अवधि सकिएकाबाहेक विभिन्न देशमा घुम्न, अध्ययन गर्न वा अन्य काममा गएर फसेका नेपालीहरूको पनि उद्धार गर्नुपर्ने हुन्छ । तर त्यस्ता नेपाली कुन कुन देशमा कति छन् भन्नेबारे सरकारससँग आधिकारिक तथ्यांक छैन ।

एकैचोटि ठूलो संख्यामा प्रवासमा रहेका नेपालीहरू ल्याउँदा क्वारेन्टाइनको क्षमताले नभ्याउने देखिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइनमा १ लाख १७ हजार ४४ बेड मात्रै छन् । सरकारले प्रवासबाट फर्किने व्यक्तिले स्वयं तिर्ने सर्तमा होटलहरूलाई पनि क्वारेन्टाइन बनाउने भने पनि फर्किएका सबैलाई राख्न बेडको अभाव हुने देखिन्छ । पर्यटन बोर्डका अनुसार देशभरका होटलमा ४० हजारको हाराहारीमा मात्रै बेड छन् । बेडको कमीका कारण सरकारले केही दिनको अन्तर पर्ने गरी कामदारको उद्धार गर्ने नीति अगाडि सारेको छ ।

वैदेशिक रोजगारीमा रहेका भारतबाहेक करिब २४ लाख -आईओएम
भारतका वैदेशिक रोजगारीमा रहेका करिब १५ लाख
भारतबाट फर्किन सक्ने ३ लाख ५० हजार -क्राइसिस म्यानेजमेन्ट सेन्टर
तेस्रो देशबाट फर्किन सक्ने १० लाख -क्राइसिस म्यानेजमेन्ट सेन्टर
तेस्रो देशबाट फर्किन सक्नेस् ६ लाख -परराष्ट्र मन्त्रालय
खाडी र मलेसियाबाट तत्काल फर्काउनुपर्ने अनुमानित ४ लाख ७ हजार -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
खाडी र मलेसियाबाट तत्काल फर्काउन सकिनेस् २५ हजार -उच्चस्तरीय समिति
क्वारेन्टाइनमा रहेका बेड स् १ लाख १८ हजार बेड -स्वास्थ्य मन्त्रालय

होटलमा रहेका जम्मा बेड स् करिब ४० हजार
विपद् व्यवस्थापन केन्द्रले हवाई माध्यमबाट प्रतिदिन दस हजारभन्दा थोरैको संख्यामा नेपाल आउन सक्ने आकलन गरेर सोहीअनुसारको ब्यवस्थापन मोडालिटी बनाएको छ । जसमा परराष्ट्र मन्त्रालय, अध्यागमन विभागदेखि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसम्मको भूमिका समेटिएको छ । केन्द्रको प्रतिवेदनमा विमानस्थलका हेल्थ डेस्कहरूको ब्यवस्थापन गरी स्वास्थ्य जाँच गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पठाउने योजना छ । स्थल तथा हवाईमार्गबाट आउने शंकास्पद संक्रमितहरूलाई भने सीधै प्रदेशस्थित कोभिड अस्पतालको आइसोलेसनमा लैजाने योजना छ । शंकास्पद संक्रमितलाई कुन अस्पताल लैजाने भन्ने योजना पनि समेटिएको छ । उक्त योजनामा विदेशबाट आएकाहरू २ साता जिल्लास्थित क्वारेन्टाइनमा र एक साता आफ्नै घरको क्वारेन्टाइनमा बस्नुपर्ने पनि उल्लेख छ ।

सरकारले समन्वयको प्रक्रिया अगाडि बढायो भने प्रवासमा रहेका कति नेपाली तत्कालै स्वदेश फर्किएलान्। भनेर अनुमान गर्न कठिन छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन ९आईओएम० को सन् २०१९ मा प्रकाशित कन्ट्री प्रोफाइलका अनुसार २३ लाख ६५ हजार नेपालीहरू वैदेशिक रोजगारीका क्रममा छन् । भारतमा रहेका, अवैध रूपमा बसिरहेका, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका गरी करिब ५० लाखको हाराहारीमा नेपालीहरू प्रवासमा भएको अनुमान गरिन्छ ।

तथ्यांक एकरूप नहुँदा सरकारले स्वदेश फर्किन सक्नेलाई राख्न क्वारेन्टाइन र अन्य व्यवस्थापनको क्षमता आकलन गर्न सकिरहेको छैन । गत बुधबार मात्रै प्रदेश २ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेको पत्रमा उक्त प्रदेशका मात्रै करिब १० लाख युवा वैदेशिक रोजगारीबाट फर्किन सक्ने सम्भावना उल्लेख छ । प्रदेशको यस्तो आकलनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको आकलनभन्दा ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किन सक्ने देखिन्छ ।

भारतबाट फर्किन २० नाका

सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरूका लागि २० वटा नाका तोकेको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए । उनका अनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाहा, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका मुलुक प्रवेशका लागि तोकिएका छन् । अहिले पनि दक्षिणका विभिन्न नाकाबाट दैनिक १० हजार नेपाली भित्रिइरहेको आँकडा राज्यसँग छ । सरकारले भारतबाट झन्डै तीन लाख नेपाली तत्काल नेपाल आउन चाहेको बताएको छ ।
कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर