• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आधा बिसञ्चो

खाडीमा तन गाउँमा मन भए के स्वाद यो बाँच्नुको
बाह्रैमास जलेर बस्नु मनमा बेकार झैँ लाग्छ यो 
कोरोना खनियो समस्त जगमा साह्रै तबाही भयो 
जस्तै स्वस्थ म देखिए पनि यहाँ आधा बिसञ्चो न हो॥

सारा विश्व गलेर लत्रिन गयो साह्रै बढ्यो रोग नै
बग्दा रक्त प्रवाह मन्द गतिमा मर्दैछ आशा सबै
सीमा नाघ्छ दुखेर जीवन अझै मेघाच्छ भै बर्सियो
कस्तो कीट रहेछ विश्वभरमा सन्त्रस्त पार्दै रह्यो॥

जम्मा द्रव्य करोड आर्जन गरूँ गुम्दैछ यो शान्ति नै
तिम्रो याद खिलेर आज मनमा कारुण्य भै पोखिँदै
स्वप्नाको पथमा अगम्य मनको विश्वास ढल्दै गयो
हे प्यारी परदेशको मन सधैं आधा बिसञ्चो न हो ।।

बाँझो आत्म निरोग हुन्न तनमा सन्ताप छातीभरि
बढ्दो दैनिक यन्त्रणा म कसरी यो थेग्नु ज्वालासरि
स्वप्नाको दरबार भग्न नभए स्वर्गादि सौभाग्यको
पक्कै भेट खुलेर हुन्छ घरमा आत्मीय निस्वार्थको॥

आफ्नै देश रहन्छ भित्र मनमा टाढा भएता पनि
आफ्नै शैल चुमेर आउँछ सदा उर्लेर कादम्विनी
हुर्काए पनि आत्म माझ सपना निश्वासमा मर्दथ्यो
आफ्नै देश भुलेर बस्नु त अहो आधा बिसञ्चो न हो॥

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर