• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज बनाउन नगरपालिकाले सार्वजनिक चौरमा सो स्थल निर्माण गरेको हो । 

नगरपालिकाले बजारको खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम आवश्यक रहेकोले वडा नं ७ को गोदामचौरमा सार्वजनिक व्यायामस्थल निर्माण गरेको हो । गोदामचौरको नौ रोपनी क्षेत्रफल रहेको सार्वजनिक चौरलाई उपयोग गरेर सो निर्माण गरिएको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए ।  अव्यवस्थित रहेको चौरलाई सम्माएर समथर बनाइएको छ । वरिपरि तारजाली लगाएर खुलाचौरलाई खेलमैदानका रूपमा विकास गरिएको छ ।

एक दर्जनभन्दा बढी सामग्रीसहित पार्क निर्माण गरेर सार्वजनिक व्यायामस्थल निर्माण गरेको पौडेलले बताए  । भलिबल, क्रिकेट तथा चमच्चा पिङसहितको सबै वर्गमा मानिसले उपयोग गर्न सक्ने गरी निर्माण थालिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले बजारमा घरभित्र रहेका व्यायामशालामा शुल्क लाग्ने र सर्वसाधरणको पहुँचमा नपुग्ने भन्दै नगरवासी तथा सर्वसाधरणका लागि सार्वजनिकस्थलमा व्यायमस्थल निर्माण गरिएको बताए । 

नगरपालिकाले रु १० लाख बजेट खर्चिएर चौरमा व्यायामशालासहित अन्य पूर्वाधार निर्माण गरेको जनाएको छ । बजार नजिकैको उच्च भेग गोदाममा रमणीय दृश्यसहित वनको हरियालीसँगै शारीरिक अभ्यास गर्न पाउने भएपछि स्थानीय पनि खुशी देखिन्छन् । धवलागिरिमै पहिलोपटक यसरी सरकारी तवरबाट खुला व्यायमस्थल निर्माण भएको हो । 

व्यायामशालामा व्यायम सामग्री जडानको काम भइरहेको छ । यो मैदानलाई खेलमैदानका रूपमा विकास गरिए पनि जारी लकडाउनको बेला भने सबै खेलकूद र व्यायामका कार्यक्रम भने पूर्णतः रोक लगाइएको वडाध्यक्ष पौडेलले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर