• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वभर कोरोना संक्रमित संख्या ६१ लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

अर्जेन्टिनामा लकडाउनको विरोधमा उत्रेका नागरिक । तस्विर : रोयटर्स

ब्रासिलिया । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा आउँदो सप्ताह पनि निकै सकसपूर्ण हुने अनुमान गरिएको छ । कोरोनाभाइरस संक्रमितको संख्या वा मृत्यु हुने व्यक्तिको संख्यामा कमी आउने कुनै लक्षण देखिएका छैनन् । खासगरी ब्राजिलमा राष्ट्रपति जेयर बोल्सोनारो र अरु प्रमुख नेताहरुबीच नै भाइरसलाई लिएर मतभिन्नता कायमै छ । 

ब्राजिलमा संयुक्तराज्य अमेरिकापछि सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित छन् । यहाँ संक्रमितको संख्या पाँच लाख नाघिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या ३० हजार पुग्न लागेको छ । कोरोना प्रसार रोक्न जारी लकडाउन यथावत राख्ने वा हटाउने भन्नेमा नेताहरुबीच मतैक्य हुन सकेको छैन ।

राष्ट्रपति जेयर बोल्सोनारोको विचारमा लकडाउनबाट अर्थतन्त्रमा पुग्ने असर भाइरस भन्दा खतरनाक हुनेछ । उनले मुलुकका गभर्नर र मेयरहरुलाई लकडाउनको विकल्प खोज्न निरन्तर आग्रह गरिरहेका छन् । 

विश्वभर कोरोनाका कारण तीन लाख ६८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र एसियाका धेरै मुलुकले लकडाउन हटाउने वा जनजीवनलाई खुकुलो बनाउनेतिर ध्यान दिन थालेका छन् । 

युरोपेली युनियनले एक विज्ञप्ति प्रकाशन गरी देशहरुबीच थप सहयोग बढाई सामूहिक समाधान खोज्न आग्रह गरेको छ । 

जर्मनीका स्वास्थ्य मन्त्री हेन्स स्पाहनले विश्व स्वास्थ्य संगठनको सहयोग कटौती गर्ने अमेरिकी प्रशासनको निर्णय निकै निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा अर्को महिनाका लागि डाकेको जी–७ को बैठकमा जर्मन चान्सलर एन्जेला मर्केल सहभागी नहुने घोषणाले पनि विश्व जनमत अझै विभाजित रहेको देखाउँछ । 

कोरोनाभाइरसको प्रसार रोक्ने प्रयासस्वरुप जारी लकडाउनले जनजीवन र अर्थव्यवस्था तहसनहस हुन लागेको भन्दै धेरै मुलुकले लकडाउनलाई खुकुलो बनाउन थालेका छन् । केही विज्ञहरुले लकडाउन खोल्नासाथ दोस्रो चरणको भाइरस प्रसार हुने खतरा औंल्याएका छन् । 

सोमबार लकडाउन हटाउने तयारी गरेको बेलायतमा सरकारका वरिष्ट सल्लाहकारहरुले लकडाउन खोल्न हतारिनु नहुने प्रतिक्रिया दिएका छन् । कोरोनाभाइरसका संक्रमितको संख्या डरलाग्दो गरी बढेको देखिए पनि भारतले शनिबार आगामी जुनको पहिलो सातासम्ममा लकडाउन खोल्नेगरी तयारी गरेको घोषणा गरेको छ ।  

इरानमा पनि मस्जिदहरुमा सामूहिक प्रार्थनाका लागि खुला गर्न सकिने घोषणा गरेको छ । जेरुसेलमको अल–अक्सा मस्जिदको परिसर पनि प्रार्थनाका लागि आइतबार पुनः खुला गरिएको छ । 

संयुक्तराज्य अमेरिकी राजधानी वासिङ्टनमा रेस्टुराँहरु खुल्न थालेका छन् भने लस एन्जलसमा पनि रेस्टुराँ र सैलुनहरु खुलेका छन् । 

करिब २१ हजार ५०० व्यक्तिको मृत्यु भएको न्यूयोर्क शहर अगामी जुन ८ तारिखदेखि खुला हुँदैछ । अमेरिकामा कोरोनाभाइरसबाट एक लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १७ लाख मानिस संक्रमित छन् । एएफपी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर