• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

फौजी किरा नियन्त्रण गर्दै दुल्लु नगरपालिका

दुल्लु । दैलेखको दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत युवा परिचालन गरेको हो ।

१३ वटै वडाका ६५ युवालाई कृषि सामग्री र विषादी दिएर परिचालन गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । प्रत्येक वडाका कृषि विषय पढेका पाँच युवालाई दैनिक रु ६०० पारिश्रमिक उपलब्ध गराउने गरी फौजी किरा नियन्त्रणमा खटाइएको शाखाका प्रमुख राजन विष्टले जानकारी दिए ।

“किरा नियन्त्रण गर्नका लागि ‘इमामेक्टिन बेञ्जाइट र इमाक्लोरप्रिङ स्टिकर’ र ‘न्यापस्याक टर्की’ लगायतका विषादी प्रयोग गरेका छौँ”, उनले भने ।

एकातर्फ युवालाई हौसला पनि हुने र कृषकको घरदैलोमा पनि प्रत्यक्ष सेवा पुग्ने भएकाले निर्णय गरेर नै यो अभियान अघि सारिएको नगरपालिकाले बताएको छ  । यसमा गत वर्ष खर्च हुन नसकिरहेको रकम खर्च गरिने छ ।

“यो वर्ष खाद्य सङ्कट आउने सम्भावना देखिन्छ, त्यही भएर हामीले समयमै यो अभियान थालेका हौँ”, उनले भने । यस्तो अभियान स्थानीय तहका रूपमा नगरपालिकाले प्रदेशमै पहिलोपटक थालेको हो । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर