• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सरकार चन्दा उठाउने, मन्त्री दुई करोडको गाडी किन्ने

लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् ।

बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोडबराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् । 

कोभिड संक्रमणले आर्थिक क्षति पुर्‍याउने भएकाले गाडीलगायतका विलासिताका सामग्री खरिद नगर्ने स्पष्ट नीति भए पनि प्रदेश १ का वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री कुसियतलाई सरकारी नीतिले प्रभावित गरेको छैन ।

देशमा ११ चैतबाट लकडाउन सुरु भएको हो भने मन्त्री कुसियतले नेतृत्व गरेको मन्त्रालयले पहिलोपटक १८ चैतमा सूचना प्रकाशित गरेर गाडी खरिद गर्न टेन्डर मागेको थियो । यो देशमा कोभिड संक्रमण फैलिएर जनताले दुःख पाए पनि खरिद प्रक्रिया रोकिएन । बरु, १२ जेठमा मन्त्रीका लागि दुई करोड सात लाखको गाडी खरिद गर्ने टुंगो लागेको छ । यही वेला मन्त्रालयका लागि ८५ लाख मूल्यबराबरका दुईवटा पिकअप भ्यान पनि खरिद हुँदै छ । 

मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले प्रदेशका अन्य मन्त्रीहरूले चढेअनुसारको गाडी मन्त्री कुसियतले पनि चढ्न लागेकाले यसलाई अन्यथा मान्न नहुने बताए । ‘अहिले मन्त्रीज्यू पुरानै गाडी चढिरहनुभएको छ, अरू मन्त्रीको नयाँ गाडी छ । सबैको समान होस् भनेर नयाँ गाडी खरिद गर्न लागिएको हो,’ उनले नयाँ पत्रिकासँग भने । 

तर, प्रदेश १ को सरकारले कोरोनाको संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग जुटाउन ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ स्थापना गरेको छ । महामारीविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्दै विभिन्न संघसंस्था र व्यक्तिले कोषमा दुई–चार लाखदेखि दुई–चार हजारसम्म सहयोग गरेका छन् ।

१९ जेठसम्म यो कोषमा १९ करोड ४३ लाख ३६ हजार पाँच सय ८० रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये खर्च भएकोबाहेक १९ जेठसम्म यो कोषमा ११ करोड ५७ लाख ७६ हजार चार सय ३० बाँकी छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा , विराटनगरबाट गणेश लम्सालले लेखेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर