अनलाइनबाटै कर तिर्न सकिने

चितवन । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।
 
आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार ७ गतेभित्र भुक्तानी गर्न सूचित गरिएको बताए । उनका अनुसार अग्रिम कर कट्टी रकम र चैत महिनामा भुक्तानी गर्नुपर्ने चालू वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा करदाताले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनुपर्ने छ । 

करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उनको भनाइ छ । लकडाउनले हिँडडुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजश्व विभागको वेबसाइट धधध.ष्चम.नयख.लउ मा गई आफूले भर्नुपर्ने विवरण भरेर आफ्नो फार्मको खाताबाट सोझै राजश्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने छ । 

जसका लागि अप्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो । लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उनले भने, “करदाताले कार्यालयलाई तिर्न विभिन्न माध्यमबाट सङ्कलन गरेको कर तिर्नु भनेको हो ।” फागुनअघिका महिनाका विवरण र करका लागि भने म्याद थप नभएको उनले स्पष्ट पारे ।
 
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउनै भएकाले कम्तीमा असार २५ गतेसम्म समय दिनुपर्ने बताउनुहुन्छ । लकडाउनका कारण व्यवसाय बन्द भएकाले सङ्कटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलबलगायतमा खर्च भएको भन्दै लकडाउन खुलेपछि मात्र कर तिर्न सहज हुने उनले बताए । यस कार्यालयमा करिब ६० हजार करदाता रहेका छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयले गएको वैशाखसम्म रु २१ अर्ब राजश्व सङ्कलन गरेको छ । त्यस अवधिको लक्ष्य रु ३५ अर्ब रहेको थियो । यस वर्षको लक्ष्य रु ४३ अर्ब रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर