स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम

खलङ्गा ।  जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ । यहाँको एक नगरपालिकासहित गाउँपालिकामा रु ६४ लाखका दरले रु पाँच करोड रकम बेरोजगार तथा कोभिड –१९ बाट प्रभावितलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले  मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ ।
 
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहबीचको समन्वयमा सञ्चालित सो कार्यक्रमले रोजगार गुमाएका व्यक्तिलाई रोजगार दिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले बताए । जिल्लाको पातारासी गाउँपालिकामा सो कार्यक्रम सञ्चालनमा आएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । जारी बन्दाबन्दीले घर खर्च चलाउन गाह्रो भएका र गाउँपालिकाले अतिगरिब घर पहिचान गरेका स्थानीयवासीलाई कामसहित रोजगार दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ । 

यहाँको हिमा गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलका अनुसार रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका एक हजार ७८५ बेरोजगारमध्येबाट प्राथमिकताका आधारमा ३३९ बेरोजगारलाई २० दिनको कामसहित रोजगारी दिइएको छ । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाको–४ स्थित हिमा आवासीय विद्यालयको भवन निर्माण र घेराबार आयोजनामार्फत रोजगार कार्यक्रममा समावेश गराइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । कामदारले दैनिक रु ६६० ज्याला पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । सो आयोजनाको कूल बजेटमध्ये ७० प्रतिशत रकम कामदारको ज्यालादारीमा र ३० प्रतिशत रकम आयोजनालाई आवश्यक पर्ने सामग्री खरिद गर्न सकिने कार्यालयका सवइञ्जीनियर प्रेमबहादुर शाहीले बताए ।

जिल्लाको तातोपानी गाउँपालिकाले पनि मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिसकेको छ भने तिला, गुठीचौर, कनकासुन्दरी, चन्दननाथ नगरपालिका र सिञ्जा गाउँपालिकाले आउने महिनाको पहिलो हप्ताबाट कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका रोजगार शाखाले जनाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर