मुटु अस्पतालले मृगौलाको डायलाईसिस सेवा यथावत राख्ने

बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा यथावत राख्ने जनाएको छ । 

सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो । अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटुको उपचारमा सहुलियत दिएवापत सरकारबाट ११ महिनादेखिको रकम प्राप्त गर्न सकेको छैन । 

अस्पतालले सरकाराबाट भुक्तानी हुनुपर्ने रकम प्राप्त नभए विपन्न वर्गलाई सरकारले उपलब्ध गराएको सेवा बन्द गर्ने समाचार सार्वजनिक भएपछि स्वास्थ्य सेवा विभागले दुईदिन भित्र रकम उपलब्ध गराउने आश्वासन दिएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य सेवा विभागले दुईदिन भित्र भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउने भन्दै सेवा नरोक्न आग्रह गरेकोले सेवा नरोकि यथावत राखिने जानकारी दिए । 

विपन्न वर्गका विरामीलाई डायलाइसिस सेवा उपलब्ध गराए वापत अस्पतालले नेपाल सरकारबाट पौने आठ करोड रकम भुक्तानी पाउन बांकि रहेको छ । विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि अस्पताल सूचिकृत भई २०७३ साल पुस १७ गतेदेखि निशुल्क डायलाईसिस सेवा संचालन गर्दै आएको थियो । 

हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलाइसिस सेवा लिंदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर