• सोमबार ३-२२-२०७७/Monday 07-06-2020/ 12:06 pm

आफ्नै मृत्युको खबर आएको 'नयाँपूल भिडन्त'

हिजो वर्षाको भेल झैं उर्लिएको । र आज लमतन्न सुतेको क्रान्तिको कुरा गर्दैछु ! याने कि लेख्दैछु । किनकि जिन्दगीको मेरो आर्जन ।  सुनका थैलाहरू नै यही हो ! जो शरीरभरि छर्रा भएर  बिझिरहेछन ।

शरीर चल्मलाउँदा काँडाले झैं घोचिरहेछन । माफ गर्नुहोला । टेढा कुरा गर्‍यो नभन्नुहोला ! मेरो कलमको नीब विगतभन्दा आगतमा झन् तीखो हुन थालेछ । यसले पनि बिझायो नभन्नुहोला ।

चिहानमा बिहान खोज्नेहरूको कर्म यस्तै रहेछ !

आफैंलाई खाल्डो खनेर पुर्नको लागि कोदाली बोकेर हिंड्नेहरूको मर्म यस्तै रहेछ !

क्रान्ति लमतन्न पर्दा तक... ।

सहयोद्धाको चिहानमाथि सुसेल्ने धर्म यस्तै रहेछ ।

अँ ! विगत अलिकति कोट्याउँछु । कुटोले कमेरो  माटो कोट्याए झैं ! खाटा बसिसकेको घाउ कोट्याउँदा त उकुच पल्टेला !

उकुच पल्टेर आउने भोगाइहरू । र वेदनाहरू सपना जस्तै आनन्ददायक नहुँदोरहेछ । तर सहन गर्ने साहस गर्दैछु । नयाँ जोश बोकेर हिंडेको लक्का ठिटो । छापामार गुरिल्ला बन्न हिंडेको एक वर्ष पनि नबित्दै ! तत्कालीन सरकारले चलाएको "किलो सेरा टू" नामक ज्यानमारा अप्रेसनको  बिगबिगी ! मृत्यु नाचेको प्रत्येक पल । सिन्धुपाल्चोकको राम्चेमा क. किरण र क.क्षीतिजको हत्या भएको बखत। जहाँ क. रामजी बालबाल बाँचेका थिए ! (उनको पनि सिराहाको बन्दीपूर मोर्चामा शहादत भईसकेको छ । जो पछिल्ला दिनहरूमा एम्बुस टाईगरको रूपमा कहलिए ।)

यही चुनौतीलाई चिर्ने नयाँ रणनीतिक सामर्थ्य जुटाउने  जिल्ला पार्टीको प्रयास । नयाँ शिराबाट टुंगिएको बैठकको भाव ! जुन बैठक सिन्धुपाल्चोकको ईर्खुमा भएको थियो ! दावा दाइ र प्रविणा दिदीको गाउँमा भएको त्यो  बैठकको आवेगाभाव । फौजी प्रतिरोधको ढोकाहरू खोल्ने मुख्य रणनीतिक मक्सद । नयाँ रक्त सन्चार भएको अनुभूति । अनि सहयोद्धाहरूको हत्याको बदलाभाव बोकेको सिन्धु-दोलखाको एउटा टुकडी ।

नयाँ फौजी रणनीति अंगालेको लाल दस्ता । ईर्खु- कुबिण्डे हुँदै नौबीसेमा एक छिन सुस्ताउँछ । जहाँ क. क्षितिजको शहादतको आलो घाउ बोकेर आमा विह्वल अबस्थामा हुनुहुन्थ्यो । आफ्नो सन्तान गुमाउनु पर्दाको पीडा कुन आमालाई हुँदैन र ? तर आमा अदम्य साहस बोकेर सम्हालिनु भएको थियो ।

आमासँग एकछिन कुराकानी गरेपछि हाम्रो यात्रा सोझिन्छ । नयाँ योजनाको दस्तावेज बोकेर टुकडीको  कमान्ड गरेकाछन गंगा कार्की ( क. विश्व) ले ! टोलीमा अरू हामी छौं क. भीमसेन, क. हिमाल, क. अस्मिता, क. अजित, क. विशाल, क. प्रभात, क. निशा, क. झिल्को, क. शरद र म !

जम्मा एघार जनाको टोली (त्यति बेलासम्म दोलखाको पूर्णकालिन कार्यकर्ता जम्मा १० जना मात्रै थियौं । त्यसमा पनि क. प्रताप, क. पूर्ण र क. हेम जेलमा हुनुहुन्थ्यो।)  भर्खरैआएको हरियो छापामार ड्रेस । रातो तारा अंकित टोपी सबैले लगाएका छौं।

प्राविधिक ज्ञानमा अब्बल दख्खल राख्ने क. अजितले बोकेकाछन १२ किलोको सिलिन्डर माइन । भर्खरै आएको नयाँ प्रविधिले आकाशमा उचालेको छ हामीलाई ! त्यसले कत्तिको प्रभावकारी काम गर्छ । परीक्षण गर्न बाँकी नै छ व्यबहारमा ।

किसानहरूको कृषि उत्सव लाग्ने यो समयमा घाम निकै चर्किएको छ ! तर किसानहरू मानो खाएर मूरी उब्जाउने बेला भएकोले खेतबारीमा काम गरिरहेका भेटिन्छन ।

दुश्मनका कयौं बार बन्देजलाई छिचोल्दै । घेराहरू तोड्दै आईपुगियो सिन्धुपाल्चोकको डाँसे (डाँसे,सिन्धुको एउटा गाउँ, पेमा लामा क. झिल्कोको गाउँ । तत्कालीन हाम्रो आधार ईलाका जस्तै:) एक रात त्यहीँ विश्राम लिएपछि झरियो चौंरीखोला । (जहाँ चार जिल्ला सिन्धुपाल्चोक-काभ्रेपलान्चोक -रामेछाप र दोलखाको सिमाना पर्छ) । जिलेटिन हानेर  माछा मारियो । अनि उकालो लागियो र कल्लेरी माया मिसको घरमा गएर माछा पकाएर खाईयो। त्यो रात त्यहीँ सुस्तायौं । त्यसपछि हाम्रो यात्रा ठेकालाघ्यू-सासिम-ढुंगे हुँदै बेरोकटोक अघि  बढ्यो । अनि पुगियो फस्कु मीत बुबाको घर । (मीत बुबा-

आमाले औधी माया गर्नुहुन्थ्यो । जाने बित्तिकै गाला सुमसुम्याउनु हुन्थ्यो । भोक लाग्यो होला भनेर खाना बनाई हाल्नुहुन्थ्यो । आफ्नो वर्गप्रति अगाध प्रेम थियो । वहाँहरूको गुणलाई पनि जिन्दगीभर बिर्सन सक्दिन। व्यबस्था त केहीको लागि फेरियो । वहाँहरूको लागि कहिल्यै फेरिएन ।) बुबा-आमासँग एकछिन भलाकुसारी गरेपछि लाग्यो हाम्रो टोली फस्कुको ओरालो । ओरालो झर्दै गर्दा पानी पर्‍यो ।  चिप्लो बाटो । चूक घोप्ट्याए जस्तो अँधेरी रात । अनि थकाईले लखतरान परेको ज्यान । बाटामा चिप्लिँदै-निदाउँदै हिंडियो । रातभरिको हिंडाईपछि बल्ल पुगियो पवटी एक समर्थकको घर .

दिनभरि सेन्ट्रीको व्यबस्था मिलाएर पालैपालो  सुतियो । किन हो किन शरीरमा पटक्कै जाँगर उम्रेको थिएन । कैयौं दिन कैयौं रात हिंडियो । भोकै, प्यासै हिंडियो । यस्तो कहिल्यै भएको थिएन । तर पनि निश्चित गन्तव्यमा पुग्नु नै पर्ने थियो ! आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने नै थियो । समयले हामीलाई बेस्सरी धकेलीरहेको थियो । २०५५ साल असार ५ गते । बेलुकीको खाना खाएर धर्तीलाई अँध्यारोको साम्राज्यले छोपेपछि बाटो लागियो । सबभन्दा अगाडि मै हिंडेको थिएँ । एवं रीतले चरंगे खोला तर्दै तामाकोशी नयाँ पूलतिर लागियो । पूरानो बजार नजिकै टोली अडियो । म नयाँपूल बजार चेक गर्न अघि लागें । एकादुई पसल बाहेक सबै बन्द भईसकेका थिए ।

जिरीका बसहरू रहस्यमयी ढंगले पार्किङ गरिएका थिए । तर खतराको संकेत तत्काललाई केही नदेखिए जस्तै लाग्यो । फौजी ज्ञान र सर्वीलेन्सको तर्तीबको अभाव पनि हुन सक्ला । मेरो नांगो आँखाले केही पत्ता लगाउन सकिन । अनि अरू टोली लिन फर्किएँ । जब बजार कटेर पूल तर्न लागेका मात्र के थियौं । म पूलको बीचौंबीच मात्र के पुगेको थिएँ । गोली वर्षिन थाल्यो असिना वर्षीय सरि ।

एक प्रकारको भीषण रणसंग्राम मच्चियो । वातावरण कोलाहलमय भयो । कान कानबाट गोलीहरू आगोको फिलिंगा झैं सुईँकिए । जीउभरी बारुदको गन्ध आउन थाल्यो । त्यतिकैमा क. विश्वले कटुवा पेस्तोलबाट फायरिङ गर्नुभयो । र फायरिङ कासन गर्नुभयो । क. अस्मिताले  झोला फाल्नुभयो । क. अजितले माइन विछ्याउँदै हुनुहुन्थ्यो । तर तार चुँडिएको हुँदा काम गरेन । मैले सँधै एउटा टूटू राइफल बोक्थें । त्यतिबेला क. विशालको हातमा थियो । त्यसको प्रभावकारी फायर हुन सकेन ।

उनीहरूले खैलाबैला गर्दै अश्लील गाली गलौज गर्दै हजारौं गोलीहरू वर्षाईरहे । हजारौं गोलीका राता-राता, ताता-ताता पर्राहरू बीच हाम्रो टोली छिन्नभिन्न भयो । हामी माथि डाँडामा नपुग्दासम्म गोली चलिरह्यो । सालका पातहरू झरिरहे । सालका सुकेका पातहरू स्यारस्यार कराईरहे । को को साथी ढले थाहा भएन । गोलीहरू अझै पड्कीरहेका थिए । अन्यौलताको भूमरीमा लपेटिँदै लागियो सुरक्षित स्थानतिर ।

हिंड्दा-हिंड्दा उज्यालो हुने बेलामा भीरकोट कृपाश्वर सरको घरमा पुग्यौं । उज्यालो भईसकेपछि वहाँलाई बुझ्न पठाउँदा एक जना ढलेको खबर ल्याए । छोटोमोटो साथी ढलेको र पुलिसले अनुहार नचिन्ने गरी जिल्साएको खबर आयो । हामी झन अकर्मण्यतामा पर्‍यौं । पछि थाहा भयो क. भीम प्रसाद शर्मा (शरद) को शहादत भएछ ।

एक जना साथी मात्रै ढलेको खबर आयो । अरू साथीहरू कता लागे केही पत्तो भएन । सम्पर्क माध्यम पनि केही भएन । तर मेरो घरमा चाहिँ म आफैं मरेको खबर गएछ । बुबा-आमा, भाइ-बहिनी सार्‍है पीडामा परेछन । केही जोरीपारीहरू हाँस्दै हिंडेछन । तर बुबा-आमा क्रान्तिलाई बुझ्ने । बलिदानको अर्थ बुझ्ने हुनु भएकोले पार्टीको आधिकारिक जानकारीको प्रतीक्षामा हुनुहुँदोरहेछ ।

साथीभाइ, ईष्टमित्र, आफन्तजन सबैले सहिदको कोटामा नाम चढाईसकेछन । क. हिमालले एउटा चिट्ठी लेखेका रहेछन् । "डम्बरको शहादत भएको खबर घरमा पठाउनु र क्रीया खर्च रू.३०००/- हजार पनि पठाउनु ।" यो चिट्ठीले साथीहरूमा पनि अर्को तरंग पैदा भएछ । यसरी हामी छिन्नभिन्न हुँदा क. भीमसेन र क. हिमालको एउटा टोली । क. अजित र क. अस्मिताको  एउटा टोली । क. झिल्को एक्लैको टोली । क. विश्व, क. विशाल, क. प्रभात, क. निशा र मेरो एउटा टोली । हामी यसरी छिन्नभिन्न भयौं ।

त्यसपछि क. विश्व पूर्वतिरै लागे । हामी ओखलढुंगा जिल्ला पार्टीका साथीहरूसँग केही समय रह्यौं । क. वसन्त (उनको उदयपुरको तावाश्रीमा शहादत भईसकेको छ ।) क. बीनीता, क. महेन्द्र श्रेष्ठ (उनी फौजी र प्राविधिक रूपमा धेरै प्रतिभाशाली थिए । पछि उनको पनि ओखलढुंगामै शहादत भयो ।) लगायत कमरेडहरूसँग रह्यौं । र पछि पार्टी सम्पर्कमा आयौं । पछि सुक्ष्म ढंगले बुझ्दा थाहा भयो कि हाम्रो जनशक्ति । हतियारको अबस्था । हाम्रो नफ्री । दोलखाको मुख्य नेतृत्व सहित सम्पूर्ण फोर्स । सबै थाहा भएर  एम्बुसको योजना बनेको रहेछ ।

दोलखा जिल्ला पार्टीलाई नै सखाप बनाउने योजना रहेछ । अझ हामी त कमजोर घेरामा परेछौं । मुख्य एम्बुस त पूरानो बुस्ती सत्तरी गोलाईमा रहेछ । किनकि हामीले प्रयोग गर्ने पूरानो मुख्य बाटो त्यही थियो । केही फटाहाहरू गंगा कार्की र शंकर लामाको लास हेर्न नयाँ पूल बजारमै बसेका रहेछन ।

पुनः स्मरण :
यो घटनामा जीवित कमरेडहरू मध्ये क. विश्व नेकपाका पोलिट ब्यूरो सदस्य छन । क. भीमसेन पनि नेकपाका केन्द्रीय नेता छन । २०७२ सालको संविधान सभाको चुनावको प्रत्यक्ष उम्मेदवार हुन ।

क. अस्मिता दुई पटक सांसद र राज्य मन्त्री समेत भईसकेकीछन । क. विशाल पनि प्रदेश सांसद छन । क. अजित पनि २०६४ सालको संविधान सभाको चुनावमा सांसद भईसकेका छन । क. झिल्कोको शहादत भईसकेको छ । क. प्रभात निर्माण व्यबसायी हुन ।

क. निशा (लक्ष्मी थामी) निङ्लेनी र फलेक बिसौनीको खस्रु बोक्दाबोक्दै परिवर्तनको निम्ति हिंडेकी  । थामी समुदायकी साहसी छोरी हुन् ।  २०५४ फाल्गुनमा पूर्णकालिन भएकी दोलखा जिल्लाको पहिलो महिला छापामार हुन । अहिले उनी गुमनाम जस्तै छिन । म अहिले आफ्नो गर्जो टार्न विदेशी भूमीम जोतिंदैछु । आखिर मुक्ति त सीमित मालिकहरूको लागि मात्रै आयो । हामी त घुम्दै फिर्दै रुम्जाटार न हो । 

हाम्रो मूल्यांकन इतिहासले गर्छ भन्ने विश्वास थियो । तर त्यो इतिहास कहिले र कसरी कुन रूपमा आउँछ हेर्न बाँकी नै छ । त्यो एक भुल्को इतिहास र आङमा लागेको एक झुल्को घामले बताउला..... । 
 

दिनाङ्क : २५ मई २०२०
पराईभूमी

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोराना कहरमा ‘मृत्युको अघिल्तिर’ 

  • २० असार, २०७७

जन्म र मृत्यु निश्चित छ, अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि

भारतीय साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन

  • १२ असार, २०७७

एजेन्सी । बज्र साहित्य परिषदका न्यास कर्मचारी अध्यक्ष तथा बज्रभाषका कवि एवं साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन भएको छ । उनी ८७ वर्षका थिए

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

  • ८ असार, २०७७

टेक्सस ।  गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा,