• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अब सीम कार्ड लिन सक्कल नागरिकता अनिवार्य, अरुको निकाल्न सम्बन्धित व्यक्तिको वारेसनामा चाहिने

काठमाडौं । अब सिमकार्ड लिन अनिवार्य रुपमा सक्कली नागरिकता आवश्यक पर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीलाई यो व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

यससँगै सिमकार्ड लिनका लागि ग्राहक स्वयम् उपस्थित हुँदा समेत आफ्नो सक्कल परिचय पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोजिमको अन्य परिचय पत्रहरु) बोकेर जानुपर्ने भएको छ । सेवा प्रदायकले सक्कली परिचयपत्रसँग रुजु गराएर मात्रै सिमकार्ड दिनुपर्नेछ ।

सिमकार्डको बिक्री वितरण गर्दा तथा सिमकार्ड हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति भएको हुनुपर्ने र सक्कल परिचय पत्रसँग रुजु गरेर मात्रै सिकार्ड बिक्री गर्नुपर्नेछ । यदि ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सुरक्षाको विषयलाई लिएर यो निर्णय गरेको जनाएको छ । ‘मोबाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड बिक्री वितरण गर्दा एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्छ,’ सूचनामा लेखिएको छ, ‘यसरी पहुँच पुग्दा बैंकिङ सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डेटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर