• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सिंजा राज्य र मार्सी धानको कथा 

बाबा चन्दनाथले विउ ल्याएर लछालकृति पैकेलोलाई दिएको भन्ने इतिहासमा लेखिएको छ । जुन ठाउँबाट बाबा चन्दनाथले विउ ल्याएका हुन भन्ने छ, त्यो ठाउँमा मार्सी धान नै उत्पादन हुँदैन ।

सुर्खेत । जुम्ला सिंजा र तातोपानी गाउँपालिका स्थानीय बासिन्दाले मार्सी धानको पहिलो प्रचारक नेकपाका दुई जना अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ धान दिवसको शुभकामना दिएका छन् । यसकारण उनीहरुले एक मेडिकल व्यावसायीको घरमा खाएको मार्सी धानबाट बनेको चामलको भात खाए । जसले मार्सीको ग्राफ ह्वात्तै उक्लियो ।

कुनैबेलाका शासकहरुको महलमा राजसी खान्कीको परिकार हो मार्सी । नेपाली खाद्य बजारमा गुमनाम कालीमार्सी । जाडो मार्सी धानको प्रमुख प्रचारकद्वय ओली र प्रचण्ड रहेको सिंजाका पूर्ण धिताल र खस भाषा शब्दकोशका लेखक तथा सस्कृतिविद् रमानन्द आर्चायले बताउँछन् । 

जतिबेला सरकार चिकित्सा शिक्षा विधेक संसदमा लिने अन्तिम तयारीमा थियो त्यही बेला सरकारसँग  असहमति जनाउदै डा. गोविन्द केसी जुम्लामा अनशन बसे । त्यति नै बेला ओली र प्रचण्डले बीएण्डसी अस्पतालका सञ्चालक मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएको फोटो सामाजिक संजालमा भाइरल भयो । 

डाक्टर केसी अनसन बसिरहेका बेला ‘मेडिकल माफिया’सँग बसेर नेपालको सबैभन्दा महंगो अग्र्यानिक मार्सी चामलको भात खाएको भन्ने नकरात्मक टिप्पणी भयो । तर, त्यसले मार्सी चामलको बजारलाई झन् स्थापित बनायो । ‘आलोचनासँगै नेपाली बजारमा मार्सी चामल झन् स्थापित भयो । सिंजामा उत्पादन हुने मार्सी पहिचानका रुपमा पुरै स्थापित भयो’, धितालले भने ।
‘नेताहरुले मार्सी चामलको भात खाएको फोटो बाहिर आइसकेपछि, उहाँको आलोचना गर्ने क्रममा मार्सीको गज्जबले प्रचार भयो,’ जुम्ला तातोपानी गाउँपालिका अध्याक्ष नवराज न्यौपानेले भने– ‘पछि त बजारमा यसको महत्व बारेमा केही भन्नै परेन । पहिले हामीले बजारमा प्रचार गर्दै हिड्नु पथ्र्यो ।’

राणाकालको समयमा राजाहरुलाई प्रत्येक दिन हुलाकबाट राजसी खाना परिका लागि पठाउने चलन थियो । मार्सीको उनताका वर्गको रुपमा स्थापित थियो । ‘राजा–राणा’को खान्कीको रुपमा । उप्पलो वर्गको ‘भुजा’का रुपमा स्थापित भएकाले मार्सीको कुनै प्रचार भएन ।

परापूर्वकालदेखि मध्य पहाडी र तराईका केही भू–भागहरुमा असार १५ मा दही–चिउरा खाने संस्कृति हो । धान रोप्ने उपयुक्त दिन भएकाले असार १५ लाई किसानहरु भव्यताका साथ मनाउँछन् ।

किसानहरु सधैं श्रमसँग खुशी हुन्छन । त्यही दिन राज्यबाट धान दिवस भनेकाले असार १५ को रनौक झन् बढि हुन्छ । असार १५ को कर्णाली र सुदूरपश्चिममा छुट्टै पहिचान छ । चौधरी समुदायले  (हर–धौवा ) अर्थात् हलो धुने दिनको रुपमा मनाउँदै आएका छन् । कर्णालीको जुम्ला जिल्लामा असार १५ को कुनै पनि महत्व भएको पाईदैन । कारण मार्सी बैशाखमै रोपिन्छ ।

.........
मार्सीको उत्पत्ति कहाँ हो ?

सातौं शताब्दी भन्दा पहिले जुम्लाको सिंजा राज्यको सेरोफेरोमा मानव बस्तीको सुरुवातसँगै यो मार्सी धान आएको तर्क गरिन्छ । काली मार्सी र जाडो मार्सी जुम्लाको जङ्गली रैथाने धान हो । जानकारहरुको अनुसार यो धानको उत्पत्तिको बारेमा धेरै कुराहरु विवादित छन् ।

जस्तै यो धानलाई कसैले जुम्ला जिल्लाको जङ्गली रैथाने धान हो भनेका छन् भने कसैले यो धानलाई  बाबा चन्दननाथले भारतबाट ल्याएर आएका हुन भन्ने प्रचार गरिएका छन् ।

काली मार्सीको ओरिजिन सम्बन्धी मूलतः चारथरी मत रहेका छन् ।

पहिलोः बाबा चन्दननाथले दीर्घकालिन तपश्याबाट मार्सी धानको बीउ पत्ता लगाएका हुन् । उनले धानको खेती प्रणालीबारे लछालकृति पैकेलोलाई प्रशिक्षण दिएका थिए । लछालकृति पैकेलोले पहिलो प्रयोग लाछु जिउलाको गुरुफोक्टोमा गरेका थिए । हाल यो तातोपानी गाउँपालिकामा पर्छ । यही ठाउँबाट माना–पाथी गरेर जुम्लामा पहिलो पटक मार्सी धान वितरण गरेको पाइएको छ ।

दोस्रोः मार्सीको बीउ भारतको कुमाउ आउजाउका क्रममा भित्रिएको हो । 

तेस्रोः बाबा चन्दननाथले भारतको काश्मिरबाट बीउ ल्याएर यस क्षेत्रमा खेती गराएका हुन् ।

चौंथोः मार्सी जङ्गली रैथाने जातको धान हो । वस्तीको विकाससँगै धानको घरेलुकरण भयो । यसको उत्पादनले व्यापकता पायो यस्ता विषयहरु बहस गर्नु पर्ने भएका छन् ।

......... 
के मार्सी जुम्लामै उत्पत्ति भएको हो ?

बाबा चन्दननाथले विउ ल्याएर लछालकृति पैकेलोलाई दिएको भन्ने इतिहासमा लेखिएको छ । जुन ठाउँबाट बाबा चन्दनाथले विउ ल्याएका हुन भन्ने छ, त्यो ठाउँमा मार्सी धान नै उत्पादन हुँदैन ।

मार्सी धान जुम्लाको रैथाने जङ्गली धान हो यसको जुम्लामा नै उत्पत्ति भएको हो भन्ने प्रमाणहरु धेरै भएको जुम्ला सिंजाका धिताल बताउँछन् । जुम्लाको सिंजामा अहिले पनि काली मार्सी धान लगाउने गरिन्छ । जुन परापूर्वकाल देखि कै चलन हो ।

मार्सी धान विश्वका कहीँ उत्पादन भएको पाईदंैन । जङ्गली धान भएकाले पछि मानिसहरुले यसलाई अन्नको लागि खेती गर्न शुरु गरे । जंगली धानलाई जुम्लावासीले नै घरेलु धानमा उत्पादन शुरु गर्न थालेपछि यसको उत्पत्ति जुम्ला नै भएको मान्न सकिन्छ ।

........
दुई जातका मार्सी 

१. जाडो मर्सी यो सिंजामा पाइन्छ ।
२. काली मार्सी यो जुम्लाको सदरमुकाम बजार क्षेत्रमा पाइन्छ । 
जुम्लाका पत्रकार महेश नेपाली मार्सी धान खेती बारे लेख्छन्– ‘बाबा चन्दननाथको दीर्घ तपश्याबाट पत्ता लागेको काली मार्सी लछालकृतीले खेत बनाएर प्रयोग गरे । चुकको झाडी पन्छाएर गरिएको धानखेती जुम्लाको कृषिमा सबै भन्दा महत्वपूर्ण कृषि क्रान्तिमध्ये एक हो । लछालकृती पैकेलो धानखेती गर्दागर्दै सिंजाली राजाद्वारा मारिने अन्वेषक हुन । वैज्ञानिक हुन् र नेपालको कृषि आन्दोलनमा ज्ञात कृषि क्षेत्रका प्रथम शहीद हुन् । काली मार्सीको इतिहास रगतले रंगिएको छ भन्दा कुनै अतियुक्ति हुँदैन ।’

.......
झन्झटिलो खेती  

मार्सी धान फल्ने कर्णाली प्रदेशको जुम्ला जिल्लामा मात्रै उत्पादन हुने अध्यायनले देखाएको छ । अमेरिकी भूगोलविद् क्रिष्टोफर बिसप ब्यारीले सन् १९६०–१९९०सम्म कर्णाली क्षेत्रमै रहेर अध्ययन गरेका थिए । उनको अध्ययनले कर्णाली क्षेत्रमा फल्ने मार्सी विश्वको अग्लो स्थानमा फल्ने एक जाति धान भनेर प्रमाणित गरेका छन् । उनका अनुसार मार्सी सिंजामा २६४० मिटरको उचाइमा फल्छ । यसको उच्चतम विन्दु हुम्लाको रिमी गाउँ वरपर हो । जो २७९० मिटर बराबर हुन आउँछ । यो न्यूनतम १८०० मिटरदेखि फल्न सुरु गर्छ ।

मार्सी धानको खेती गर्न कठिन हुने गरेको जुम्ला सिंजाका स्थानीयहरु बताउँछन् । यसको वीउ राख्नको लागि चैत १२ गते नै सबैभन्दा उपयुक्त मिति हो । यसलाई चैत १२ भन्दा पहिले पनि लगाउन मिल्दैन र पछि सिन मिल्दैन । 

रोप्दा एक–एक बेर्ना निकालेर रोप्नु पर्छ । यो धान रोपिसकेपछि कम्तिमा ३ देखि ४ पटकसम्म यसलाई गोडमेल गर्नु पर्छ । रोपेको ८ महिना पछि मात्रै यो धान परिपक्क हुन्छ ।

.........
बचाउनको लागि गाह्रो 

मार्सी धानलाई रोग लागेको खण्डमा बचाउन मुश्किल हुन्छ । अहिलेसम्म अरु धानलाई बचाउने जसरी कुनै उपाय नभएको कृषकहरुले बताउँछन् । अन्य प्रजातिका धानलाई रोग लाग्यो भने कृषि अनुसन्धानकर्ताहरुले त्यसको सहजै उपचार गर्न सक्छन् । 

.........

लोप हुने खतरामा

चर्चित जुम्लाको मार्सी धान लोप हुने खतरामा रहेको छ । झन्झटिलो खेती, बढि मेहनत कम प्रतिफल दिने भएका कारण लोप हुने खतरामा रहेको छ । उहिले मार्सी धान लगाउने खेतहरुमा अहिले सिमि लगाउन थालिएको छ । मार्सी लगाउने मान्छेहरु रोजगारीमा जाने भएकाले कृषकहरुमा कमी आउँन थालेको जुम्ला तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताउँछन् ।

अहिले बजारमा यसको मूल्य बढेकाले केही कृषकहरु खेती गर्न आकर्षित भएका छन् । ‘यो रैथाले अग्र्यानिक बाली जोगाउनको लागि सरकारले अनुदानको व्यावस्था गरिनु पर्नेमा कृषकहरुको माग छ’, न्यौपानेले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर