• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेपालको सरकार ढाल्न भारतीय राज्यसंयन्त्र र दूतावास सक्रिय भएको हो भने राजदूतलाई बोलाएर स्पष्टीकरण किन नलिने ?

काठमाडौं । पार्टीभित्र शक्तिसंघर्ष चर्किएको वेला प्रधानमन्त्री केपी ओलीले भारतलाई बहसमा ल्याएका छना । आफ्नै निवासमा आयोजित पार्टी स्थायी कमिटीको बैठकमा समेत उपस्थित नभएका ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन । 

मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा भएकोे कार्यक्रममा ओलीले पार्टीभित्र र भारतबाट सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरे । ‘हामीले हाम्रो भूभाग समावेश गरेर नक्सा प्रकाशित ग¥यौँ । हामीले यसलाई संवैधानिक रूप दियौँ । तपाईं–हामी सबैलाई थाहा छ, तपाईंहरूले पनि सुनेको हुनुपर्छ– हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ, गरिँदै छ भन्ने माहोल बनाइएको छ,’ ओलीले भने । 

नक्सा संशोधनसम्बन्धी प्रस्ताव संसद्बाट सर्वसम्मतिले पारित भएको थियो, जसलाई प्रधानमन्त्री ओली आफैँले पनि राष्ट्रिय एकता भनेका थिए । तर, त्यही नक्सालाई लिएर आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भएको उनको भनाइ छ । उनले भने, ‘५८ वर्षदेखि जमिन खोसिएको छ, त्यो फिर्ता ल्याउन खोज्यौँ, हामीले अरूको जमिन दाबी गरेको होइन । अरूको जमिन अतिक्रमण गरेको होइन, हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गलत काम गरेका छैनौँ । तर, नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिले केपी ओलीलाई नहटाइहुँदैन ।’ 

आफ्ना लागि होइन, देशका लागि र आजका लागि होइन, भोलिका लागि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहिरहन आवश्यक भएको ओलीको भनाइ छ । ‘नेपालको राष्ट्रिय एकता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन,’ उनले भने, ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिवेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन, किनभने भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि, आफ्ना लागि होइन, देशका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा बस्नुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्न भारत र दूतावास सक्रिय भएको किटान नै गरेर भनेका छन् । ‘भारतका बौद्धिक बहसहरू सुन्नुभएको होला, कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भने, ‘यहाँका होटेलहरूमा भइरहेको गतिविधि, त्यसले पनि देखाइरहेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइरहेको छ ।’

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भने भारतले नेपालका प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र गरेको हो, दूतावास सक्रिय भएको हो भने भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिने सुझाब दिन्छन् । ‘नेपालको सरकार ढाल्न भारतीय राज्यसंयन्त्र नै परिचालन भएको हो, अर्को देशमा बसेर भारतीय दूतावास पनि सरकार ढाल्ने खेलमा लागेको हो भने राजदूतलाई बेलाएर स्पष्टीकरण लिने हो, प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति बाहिर गनगन गरेर हुँदैन,’ उनले भने, ‘कहिले उत्तर, कहिले दक्षिण र कहिले अमेरिकालाई दोष दिएर आफ्ना कमजोरी लुकाउन पाइँदैन । तथ्य प्रमाणका आधारमा बोल्नुपर्छ । यस्ता हावादारी कुराले आफैँलाई कमजोर बनाउँछ । यस्ता हर्कतबाट नेपाली जनता आजित छन ।’नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर