प्रदेश ५ : चार विगाहामा रोपाइँ गरेर मनाइयो धान दिवस [फोटोफिचर]

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोमबार १७ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाएको छ । वडा नं. ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो ।

दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।

रोपाईं महोत्सवमा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो ।  रोपाइँको लागि वडागत रुपमा प्लट विभाजन गरिएकोमा जनप्रतिनिधिहरु बिहानैं खेतमा जुटेर उत्साहित रुपमा धान रोपाइँमा सहभागी भएका थिए । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्यदिन सोमबार तिलोत्तमाका जनप्रतिनिधिहरु धान रोपाईंमा जुटेका हुन् । 

नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेगरी रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै कृषिमा व्यवसायिकता हुनुपर्नेमा जोड दिए । 

निर्वाहमुखी कृषिले किसानको जीवनस्तर उठ्न नसक्ने चर्चा गर्दै उनले तिलोत्तमाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । वडाध्यक्ष सुखदेव न्यौपानेले रोपाइँमा सहयोग पुर्याउने क्लव, कुलापानी समितिलगायत सबैप्रति आभार व्यक्त गरे । 

यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो । 

कुल खेतीयोग्य जमिन ८ हजार ४४९ हेक्टरमध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो साताबाटैं तिलोत्तमामा रोपाइँ सुरु भएकोमा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको नगरपालिकाले जनाएको छ । 

लकडाउनको कारण नगरबासीहरु फुर्सदिला रहँदा धान रोपाइँ विगतका वर्षमा भन्दा यो वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।  नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको हो । 

तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा घडेरीको रुपमा विकास भएका कतिपय जग्गा बाँझा छन् । मूलतः यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै आफ्नो घर वरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमाबासीलाई बाटो खुलेको हो ।  यो वर्ष धान, तरकारीलगायत कृषि उत्पादन बढ्ने  विश्वास लिएको नगरपालिकाले  जनाएको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर