प्रदेश १ : २१ प्रतिशत धान रोपाईं सम्पन्न, पर्याप्त पानी पर्दा किसान खुसी

विराटनगर । पर्याप्त वर्षा भएका कारण यो वर्ष प्रदेश १ मा राष्ट्रिय धान दिवस उत्साहका साथ मनाइएको छ । असार १५ अर्थात राष्ट्रिय धान दिवसका दिन अधिकांश किसानहरु खेतमा रोपाई गर्न व्यस्त भए  । अघिल्लो वर्ष रोपाईंको मुख्य समयमा खडेरीको अवस्था व्यहोरेका किसानहरु यस पटक भने खुसी देखिएका छन् । 

मोरङको बुढिगंगा, ग्रामथान, सुन्दरहरैंचा, रंगेली, रतुवामाई तथा विराटनगर महानरपालिका आदि स्थानमा स्थानीय तहहरुले विविध कार्यक्रम आयोजना गरेर धान दिवसलाई भव्यता दिएका थिए । प्रदेश १ अन्तरगत झापा सुनसरी, उदयपुर लगायतका मधेश र अन्य पहाडी जिल्लाहरुमा पनि धान रोपाई महत्वका साथ आयोजना गरिएको छ । 

मोरङको ग्रामथान गाउँपालिका १ स्थित लखन्तरीमा सोमबार विशेष कार्यक्रम आयोजना गरी रोपाई गरिएको छ । गाउँपालिकाको व्यवस्थापनमा भएको रोपाईमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्राविधिक टोलीसमेत सहभागि भएको थियो । 

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन स्मृति प्रतिष्ठानले पनि राष्ट्रिय धान दिवशको अवसरमा वृहत् रोपाई कार्यक्रम सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको १०० औं जन्मजयन्तिको अवसर पारेर वृहत रोपाई कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा मनमोहन विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीका अतिरिक्त नेकपाका केन्द्रीय तथा जिल्ला नेताहरुकोसमेत सघन उपस्थिति रहेको थियो । 

धानको बीउ राख्ने समय जेठदेखि अहिलेसम्म समयसमयमा प्रयाप्त वर्षा भएका कारण यस पटक असार १५ सम्म प्रदेशभर धान रोपाईको अवस्था राम्रो रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेशभर अहिलेसम्म २१ प्रतिशत खेतमा धान रोपाई सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष यस अवधिमा करिव १६ प्रतिशत मात्र रोपाई भएको थियो । 

..............
प्रदेश १ मा २१ प्रतिशत रोपाई 

यस वर्ष प्रदेश १ मा कुल धानखेती हुने क्षेत्रमध्ये २१ प्रतिशत भन्दा बढीमा धान रोपाई सम्पन्न भएको छ । आकासे पानीमा निर्भर अधिकांश उकास जमिनमा यस पटक रोपाई सम्पन्न भइसकेको छ । सिंचाइ सुविधा भएका खेतमा पनि धमाधम रोपाईको क्रम जारी रहेको प्रदेश कृषि निर्देशनालयले जानकारी दिएको छ । 

पहाडी जिल्लाहरुमा ५० प्रतिशत भन्दा बढी खेतहरुमा रोपाई सम्पन्न भएको छ भने तराईका तीन जिल्लामा सरदर २१ प्रतिशत रोपाई भएको छ । 

धान उत्पादनका दृष्टिले महत्वपूर्ण मानिएको झापा, मोरङ र सुनसरी जिल्लामध्ये मोरङमा ३० प्रतिशत खेतमा रोपाई सम्पन्न भएको छ । सुनसरीका २५ प्रतिशत खेतमा रोपाई सकिएको छ । झापामा भने भर्खर रोपाई सुरु भएको छ । झापामा करिव ५ प्रतिशत मात्र रोपाई भएको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । 

असार १४ गतेसम्म सोलुखुम्बुमा करिव ६० प्रतिशत रोपाई सकिएको छ । सोलुमा एक हजार ५२५ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तेह्रथुममा ५० प्रतिशत, धनकुटामा ४० प्रतिशत ओखलढुंगामा १७ प्रतिशत, खोटाङमा ३० प्रतिशत, उदयपुरमा २० प्रतिशत भोजपुरमा ४० प्रतिशत खेतमा रोपाई भइसकेको छ । 

मेची पहाडी जिल्लाहरुमा भने भर्खर रोपाई सुरु भएको छ । ताप्लेजुङमा १४ प्रतिशत, इलाममा १५ प्रतिशत, पाँचथरमा १७ प्रतिशत, संखुवासभामा १० प्रतिशत रोपाई भएको छ ।    

सरकारले धान उत्पादनलाई बढाउन आधुनिक प्रविधिको अवलम्बन गर्ने र खेतीलाई यान्त्रीकरण गर्दै लैजाने भनेपनि त्यसमा उल्लेख्य प्रगतिभने हुन सकेको छैन । अहिले पनि मानवीय जनशक्तिकै माध्यमबाट धान रोपाई गर्ने अवस्था विद्यमान छ । यद्यपी धान जोनहरुको निर्माण गरेर सरकारले विस्तारै धानखेतीमा आधुनिक उपकरण र प्रविधिको उपयोग गर्न भने थालेको छ । मोरङको सुनवर्सी नगरपालिकाका दुई वटा वडामा  प्रधानमन्त्री धान विशेष कार्यक्रम सञ्चालन गरेर सरकारले आधुनिक खेती प्रणालीको अभ्यास गरिरहेको छ । त्यस क्षेत्रका अधिकांश खेतमा अहिले रोपाई चलिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर