• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

वर्षमान र जनार्दनलाई लिएर बालुवाटार पुगे प्रचण्ड, ओलीसँग पौडेल र पोखरेल सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीलाई भेट्नुअघि अध्यक्ष दाहालसहित पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।

भेटलगत्तै बालुवाटार पुगेका अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच हुने आजको छलफललाई अर्थपूर्ण ढंगबाट हेरिएको छ । प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै देखिएको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनतर्फको यात्रामा पुगेको भन्दै प्रचण्ड–नेपाल पक्ष भने पार्टी एकताको यात्रामा अघि बढेको छ । 

स्रोतका अनुसार बालुवाटारको छलफलमा ओली र प्रचण्ड पक्षका तीन–तीन जना नेताहरु सहभागी भएका छन् । प्रचण्ड पक्षबाट ऊर्जामन्त्री समेत रहेका पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा छलफलमा सहभागी भएका छन् । ओलीपक्षबाट भने महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओलीनिकट नेता शंकर पोखरेल छलफलमा उपस्थित भएका छन् । 

स्रोतका अनुसार छलफलमा अध्यक्ष दाहालले पार्टी फुटाउने काममा राष्ट्रपतिको संलग्नता नराख्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका थिए । पार्टी एकतालाई जोगाउन आफूहरु लागि परेको बताउँदै राष्ट्रपतिसमक्ष उनीहरुले पार्टी एकतामा जोड गर्न भनेको बालुवाटार निकट स्रोतले जानकारी दिए । 

प्रधानमन्त्रीसँगको छलफलमा पनि पार्टी एकताका लागि जोड गर्ने तयारीसहित प्रचण्ड पक्ष बालुवाटार पुगेको हो । तर, ओलीपक्ष एकता भन्दापनि पार्टी विभाजनतर्फ गएको नेताहरुले बताउन थालेका छन् । 

नेकपाभित्र बढ्दो आन्तरिकत किचलो र राष्ट्रपतिसँग प्रधानमन्त्रीको निरन्तर भेटघाटले पुनः एकपटक राष्ट्रपति पद विवादमा परेको छ ।

आजको छलफलले नयाँ बाटो लिनसक्ने नेताहरुको आकंलन छ । नेकपाको स्थायी कमिटी बैठक भोलि (२२ असार) मा बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर