• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाको बहस : जनताको झुपडीमा परिवर्तन वा नेता प्रधान ! 

अध्यक्षद्वय कमरेड पार्टीलाई पुँजीवादी व्यवस्थाको स्वर्गस्थल बनाएर बिभाजनको खेती नगरौं । उत्पीडित वर्गको आँखामा तपाईंहरुको यो अनावश्यक बहसले आँसुका धाराहरु बगिरहेका छन् ।

आदरणीय अध्यक्षद्वय कमरेड !
सम्माननीय नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू हार्दिक नमस्कार ! साथै न्यानो अभिवादनसहित खुल्ला पत्र प्रस्तुत गर्ने अनुमति चाहन्छु । 

बुर्जुवाहरुले जसरी रङ्गीचङ्गी बनाएर सम्बोधन गर्ने सुविधा र शिक्षा त म सँग छैन । त्यसैले मैले सम्बोधनलाई रंगीचंगी बनाएर सम्बोधन गर्न सकिन । त्यसको निम्ति क्षमा चाहन्छु । पुँजीवादी व्यवस्थामा पावर, पहुँच, पद र शक्तिमा नभएपछि ज्ञान, सीप र सभ्यताको परिभाषामा योग्यतामा अयोग्यता हाँसिल हुँदोरहेछ । त्यसैले यो पत्रलाई मैले पुँजीवादी बनेर रंगीन बनाउन सकिँन । त्यसैले मैले अध्यक्षद्वयलाई समान ढङ्गले सुझाव, आलोचना, जिज्ञासा र असन्तुष्टि व्यक्त गर्न चाहन्छु । 

.......................
आदरणीय अध्यक्षद्वय कमरेड !

पुँजीवादी व्यवस्थामा कम्युनिस्ट पार्टीले जनताको सुन्दर सपना बुनेर पार्टी, सरकारको नेतृत्व गर्नु चानचुने विषय त होईन । उत्पीडित वर्गको प्रतिनिधित्व पार्टी आज सरकारमा छ । कम्युनिस्ट पार्टीका कुशल कमान्डरहरु मन्त्री, सांसद छन् । १५ वर्ष जेल जीवन बिताएका नेता देशका कार्यकारी प्रमुख हुनुहुन्छ । बिचार र बन्दुकको एकैपटक नेतृत्व गरेका कुशल नायक कार्यकारी अध्यक्ष हुनुहुन्छ । थुप्रै संघर्षका इतिहास कोरेर बनेको विशाल पार्टीमा किन भुकम्प जान खोज्छ ? जताततै प्रश्न उठेको छ । हाम्रो सुन्दर स्वर्ग जस्तो पबित्र भुमिमा भ्रष्टाचार बढेको बढ्यै छ ।

कम्युष्टि पार्टीको जनमत भ्रष्टाचारबिरुद्धको एजेन्डामा प्राप्त भएको हो । दलाल, पुँजीवादी, हुकुमी शासनको बिरुद्ध कम्युनिस्टहरुले बालेको मसालले प्राप्त गरेको जनमत हो । पुँजीवादी व्यवस्थाले गरिब, निमुखामाथि गरेको कठोर अत्याचारको बदला प्राप्त भएको जनमत हो । हजारौंले जेल जीवन, हजारौंको रगत, हजारौं अङ्गभङ्ग भएर जन्मेको पार्टी टुटफुटप्रतिको बहस किन हुँदैछ ? तपाईंहरुलाई जनताको तमाम प्रश्नहरु छन् । जताततै निराशा छाएको छ । बहस वर्गीय सत्ताको निम्ति हो कि ? पँुजीवादी सत्ता टिकाउने भर्याङ् बनाउनको निम्ति हो ?

तपाईंहरुको बहस पद, पैसा र महल प्राप्तिको निम्ति हो कि ? झुपडीको आकार परिवर्तन गर्ने वर्गीय सत्ताको निम्ति ? आदरणीय अध्यक्षद्वय कमरेड पुँजीवादी व्यवस्था निर्दयी हुन्छ भन्ने कुरा पहिल्यै सानोमा सुनिएको थियो । अहिले भोगिएको छ । तपाईंहरुको बहस निर्दयी सत्ताको मालिक बन्ने आधार नहोस् । त्यसैको प्रतिस्पर्धाको लडाइँ नबनोस् । जनताको विश्वास, माया र अपेक्षामाथि कुठाराघात पनि नहोस् । तमाम शासकहरु कसरी जनताबाट अलोकप्रिय भएर पतन भए त्यसको जानकार सबै भन्दा धेरै तपाईंहरु नै हुनुहुन्छ ।

त्यसको विकल्पमा आएको कम्युनिस्ट पार्टीको आदर्श, मूल्य मान्यता र लक्ष्यप्रति प्रतिबद्धता कतिको छ भन्ने यो एउटा अग्निपरीक्षा आएको छ । पार्टी हेडक्वार्टरभित्र भएको अन्र्तबिरोधको असर जताततै परेको ।
फलानो नेता ठीक, फलानो नेता बेठीक भन्दै विभिन्न किसिमका आक्रोशित गाली र तालीका बर्षाता व्यक्त भैरहेका छन् । हामीले तपाईंहरुबाट पाएको शिक्षा आज एकअर्काको बिरोध र गाली मै बिताउने वातावरण बनेको छ । यो सबै के कारण भयो भन्ने विषयको जानकार तपाईंहरु आफैं हुनुहुन्छ । ईमान, नैतिकता, जनवाद र केन्द्रीयतामा हाम्रो पार्टी चल्न छोड्यो । त्यसैको परिणाम अब सबैलाई गुट प्यारो लाग्न थालेको छ ।

............
आदरणीय अध्यक्षद्वय कमरेड !

सर्वहारा वर्गको समाजवाद । युग परिवर्तन गर्न सक्ने दस्तावेज । दुश्मनसँग लड्ने सक्ने पार्टी विचार, विधि र योजनामा एकताबद्ध भई कम्युनिस्ट आन्दोलनलाई समाजवादप्रतिको संकल्प गर्नुहोस् । त्यसको लागि एकता, रुपान्तरण हुँदै सर्वहारा वर्गीय सत्ता स्थापनाको निम्ति मजबुत एकता कायम गर्नुहोस् । बाटाहरु कठिन होलान् बाटोहरु बाङ्गोटिङ्गो हुनसक्छ । 

कसले कति त्याग ग¥यो त्यो इतिहासले मुल्याङ्कन गर्छ । हामीले अध्यक्षद्वय कमरेडहरुको जीत खोजेका छैनौं । हामीले तपाईंहरुको त्यागले प्राप्त गर्ने सर्वहारावर्ग र जनताको विजय खोजेका छौं । पार्टी एकताको सुरुवात मै किन हतार–हतार बिभाजनको बिरुवा रोप्न खोज्दै छांै ? कम्युनिस्ट पार्टीको नेतृत्व व्यक्ति मात्र होईन समग्र आन्दोलनको नेतृत्व हो । नेतृत्व भनेको पार्टी आन्दोलन देश र जनताको भविष्य हो । कम्युनिस्ट पार्टीको नेतृत्व नेता भनेको कदापि पुँजीवादी सत्ताको मालिक बनिरहने परम्परावादी नेता होइनन् । देशको भविष्य निर्माण गर्ने आधुनिक औजार हो । 

.................
प्रिय अध्यक्षद्वय कमरेड !

अहिले गुट–उपगुट बिचारमा होइन आफ्नो आसेपासेहरुलाई कसरी सत्ता दोहन गर्न पठाउने भन्नेमा केन्द्रित भएको देखिन्छ । इतिहासको जटिल समयमा नेकपाभित्र विवाद चल्दैछ । यतिबेला देशको सिमानाको विषय थियो । अमेरिकी सयोग एमसीसीको बहस थियो । आर्कोतिर कोरोना महामारी विरुद्धको युद्ध चलिरहेकै छ । यस्तो समवेदनशील समयमा देशलाई मजबुत एकता चाहिएको छ । नेता, नेतृत्वको आलोचना हुन्छ, बिरोधका आवाजहरु आउँछन् । गालीका बर्षातहरुमा मान्छे रमाउँछन । आदरणीय अध्यक्षद्वय कमरेडहरु देश गहिरो संकटमा छ । संकटको बेला भागेर गद्दारीको यात्रा नगरौं । नेपाली भूमी रक्षाका लागि सिमाना जोगाउनु छ । नेपाली जनताको जीवन रक्षाको लागि कोरोना विरुद्धको युद्ध जित्नु छ ।

बरु यो युद्ध कसरी जित्न सकिन्छ त्यसको निम्ति अझ दरिलो एकता कायम गरौं । जनताले गुमेको भूमी मागेका छन् । अनिकाल, भोकमरी र अन्यायको विरुद्ध पार्टीको मजबुत एकताको अपेक्षा गरिरहेका छन् ।

जेलको फलामे पिँजडादेखि न्याययिक युद्धको सफल नेतृत्व गरेका हाम्रो लिडरसँग दुनियाँ जित्ने अनुभव छ । त्यसैले अध्यक्षद्वय कमरेड यतिबेला पार्टी सरकार र नेताहरुले एकताको साहस देखाउने बेला आएको छ । राजनीतिमा बहस छलफल र लडाइँ हुन्छ । तर अन्तिम जीतको हतियार एकता र एकढिक्का हो । हामीले तपाईंहरुको कोट पाइन्ट, गाडी घोडा र महल फेर्ने एकता खोजेका छैनौं । हामीले हाम्रो भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गराउने योजनासहितको एकढिक्का पार्टी खोजेका छौं । आदरणीय अध्यक्ष कमरेडहरु अहिले झन्डै दुई तिहाई बहुमतको सरकार तपाईंहरुसँग छ । 

यो जटिल परिस्थितिमा एकतासहित जन–उत्तरदायी नभई सानोतिनो विषयलाई लिएर बिभाजन भए भोलीको पुस्तालाई तपाईंहरुले के छोड्नु हुन्छ ? तपाईंहरुलाई आउने पुस्ताले कसरी मूल्यांकन गर्ने ? राजनीतिक घटनाक्रम संकटको बेला जहिल्यै उथलपुथल हुन्छ । हुँदै पनि छ । कुशल नेतृत्व संकट र विपत्तिबाट भाग्न सक्छन् भन्ने हामीले अझै विश्वास गरेका छैनौं । अन्याय, अत्याचारका विरुद्ध गठन भएको कम्युनिस्ट पार्टी झुपडीको मुहार परिवर्तन नहुँदै टुटफुट भएर कहाँ जाने हो ? अध्यक्षद्वय कमरेड पार्टीलाई पुँजीवादी व्यवस्थाको स्वर्गस्थल बनाएर बिभाजनको खेती नगरौं । उत्पीडित वर्गको आँखामा तपाईंहरुको यो अनावश्यक बहसले आँसुका धाराहरु बगिरहेका छन् ।

सत्यलाई शक्तिमा बदलेर प्रतिकुल समयलाई अनुकूल बनाउने बेला आएको छ । टुटफुट, गुट र पद, पैसाको पक्षमा पार्टीमा बहस केन्द्रित नगरौं । पुँजीवादी व्यवस्थालाई खतराको घण्टी बजाउने संकल्प गरौं । आदरणीय अध्यक्षद्वय कमरेड तपाईंले हिजो राजाले भ्रष्टाचार गरे देश बनाउन असफल भए भनेर राणा, राजाको बिरोध गर्दा १४ बर्ष कष्टकर जेलजीवन बिताउनु भयो । त्यही राजतन्त्रका विरुद्ध १० बर्ष सम्म न्याययिक युद्ध भयो । त्यसको जगमा विशाल जनबिद्रोह भयो । हिजो राणाशासनले भ्रष्टाचार गरेर देश बनेन् भन्यो । राजा पञ्चायतले निरंकुशता लादे भनेर तपाईंहरुले गरेको संघर्षले आज जनताले समाजवादी बिचार बोकेको कम्युनिस्ट पार्टी तपाईंहरुलाई रोजेका छन् । जनताले पछुतो मान्ने गरी बिभाजन नहोस् । यतिबेला तपाईंहरुलाई दुनियाँले हेरिरहेको छ । गुट, उपगुट र पद पैसामा मिल्नु हुन्छ कि सिद्धान्तको यात्रा गर्नुहुन्छ । 

सत्य शक्तिमा बलियो हुन्छ कि ? असत्य गुटबन्दीमा परिणति हुन्छ आज हामीलाई लागिरहेको चिन्ता हो । प्रतिकुलताभित्र अनुकूलता खोज्नुस् तर अनुकूलताभित्र बसेर गुटको यात्रा अत्य गर्नुस् हामी सबैको चाहना हो । पद, पैसा, धन सम्पत्तिको आधार एकता नखोजौं । सिद्धान्त निष्ठा र आदर्शको मार्गमा एकताको भावना बुझौं । पार्टी सिद्धान्त, बिचार र नीतिमा चल्ने हो भन्ने आम पार्टी पंक्तिमा असन्तुष्टि कहिले हुँदैन । त्यसो नभएकै कारण विवाद आयो । पद र गुटबन्दीले व्यक्तिलाई निजीकरण गर्यो ।

सामूहिक हितलाई बिरोध गर्दै व्यक्तिगत हितमा चल्ने अराजनीतिक समूह बलियो हुने संभावना बढ्दै गरेको छ । आदरणीय अध्यक्षद्वय कमरेड आज सबैतिरको चासो पार्टी रुपान्तरण भएर अगाडी बढ्न सक्छ सक्दैन भन्ने नै हो । कम्युनिस्ट पार्टीमा नीति, बिधि र बिचारको बहस हराएर बुर्जुवा पार्टी जस्तै नेता प्रधान बनाएर बहस आरम्भ गरिएको छ । यसले दीर्घकालीन समाधानको बाटो तयार गर्ला र ? नीतिमा केन्द्रित भएर नेतृत्वको बहस हुनुपर्छ । पुँजीवादी व्यवस्था सामन्तवादी शोषणका विरुद्ध जन्मेको कम्युनिस्ट पार्टीलाई गुटमा केन्द्रित नगरौं । जनताको जनमत हजारौं योद्धाहरुको त्याग र बलिदान लाखौं कार्यकर्ताको मेहनतले बनेको पार्टी, पाएको जिम्मेवारीलाई गुट बनाएर भाग्ने काम नगरौं अध्यक्षद्वय कमरेड । विदेशीले हामीलाई हेपिरहेको बेलामा टुटफुट गरेर कायरता प्रर्दशन गर्ने समय होईन । राष्ट्रको हितमा पार्टीको सिद्धान्तमा एक ढिक्का बन्ने प्रतिबद्धता गर्नुहोस् । हामीलाई विश्वास छ राणा, राजा र पञ्चायतबिरुद्ध लड्ने नेतृत्वले आम कार्यकर्ता र जनताको एकताको भावनालाई बुझ्ने छ ।

हाम्रो चिन्ता पार्टी र क्रान्तिको निम्ति हो । ठूलो पार्टी जनताको सेवामा समर्पित गर्ने हो । कम्युनिष्ट आदर्श र मूल्य मान्यता सहित समाजवादी व्यवस्थामा लग्ने हो । हामी प्रष्ट छौं । तपाईंहरु प्रष्ट हुनुपर्छ । समाजवाद हो कि पुँजीवाद । समाजवाद हो भन्नेमा ‘सत्तालाई व्यक्तिगत स्वार्थपूर्तिको साधन’मा पतन गराउने कार्य बन्द गरौं । हाम्रो चिन्तन, चिन्ता र गन्तव्य मानव मुक्तिका लागि हो भन्ने कमिकम्जोरीलाई आत्म आलोचना गर्दै एकता कायम गरौं । यो छिटो पत्रलाई यहीँ अन्य गर्छु । 

धन्यवाद !
......

उही तपाईंको शुभचिन्तक
टिकाराम वली, दाङ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर