• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

के होला आजको नेकपा स्थायी कमिटी ?, सहमति जुटाउन ओली प्रचण्डबीच छलफल हुँदै

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बोलाएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आज मध्यान्हका लागि बैठक बोलाएपछि पार्टीभित्रको विवाद साम्य नभएका कारण बैठक बस्ने वा नबस्ने भन्ने अन्यौल नै छ । बैठकअघि आज पनि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच छलफल गर्ने तयारी गरिएको छ । दुई नेताबीच सहमतिका लागि बिभिन्न बिकल्पमा छलफल भइरहेको बताइएको छ ।

 प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेलमा आफ्नै पार्टीका नेताहरूसमेत संलग्न रहेको अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद चूलिएको थियो । सचिवालय र स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीलाई दबाब दिएका छन् ।  तर ओली अहिले नै दुबै पद छोड्न तयार छैनन् । 

प्रचण्डसँगको छलफलमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने बताउदै आएका छन् ।   मंसिर ४ को सहमतिमा ओलीले पाँचवर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने भन्ने उल्लेख छ । 

तर मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले जेठ २ को सहमति अनुसार अघि बढ्नुपर्ने बताउदै आएका छन् ।  यो सहमतिमा दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ । 

दुवै पक्ष आफ्नो अडानमा रहेपछि लामो समयपछि बसेको पार्टीको स्थायी कमिटी नै प्रभावित भएको हो ।  पार्टी एकतालाई जोगाउन र सहमतिका साथ अघि बढ्न नेकपाका दोस्रो पुस्ताका नेता र कार्यकर्ताले नेतृत्वलाई दबाब दिइरहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर