• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रुकुम चौरजहारी हत्याकाण्ड: नवराजकी प्रेमिकासहितलाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा नवराज बिककी प्रेमिकासहितलाई बाल सुधारगृहमा राख्ने आदेश सदर गरेको छ। 

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलाशले यस्ताे फैसला सुनाएकाे हाे। यसअघि जिल्ला अदालतले उमेर पुगेपछि मुद्दाको प्रक्रिया सुरु हुने गरी हाललाई बाल सुधारगृहमा पठाउने आदेश गरेकाे थियो। जिल्लाको फैसला मिले नमिलेको जाँच्ने पहिलो अधिकार उच्चको थियो। तर, निवेदनहरु गैरकानुनी थुनामा राखेको भन्दै  असार १ गते सर्वोच्च आएका थिए। 

रुकुम जिल्ला अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले उनीहरुको उमेर १८ वर्षभन्दा मुनि भएकाले हाल बाल सुधारगृहमा राख्ने आदेश मिलेको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज हुने फैसला सुनाएको छ। जिल्ला अदालतको आदेशपछि नवराजकी प्रेमिकालाई भक्तपुर र अर्का किशाेरलाई नेपालगञ्ज बाल सुधारगृहमा राखिएको छ।

सर्वोच्चले उमेर नपुगेका व्यक्तिहरुलाई पक्राउ गर्ने, बयान लिने र अनुसन्धानका क्रममा राख्ने क्रममा बालबालिकासम्बन्धी ऐनको व्यवस्था पालना गर्न निर्देशनात्मक आदेश गरेको छ। आगामी दिनमा बालबालिकालाई कुनै घटनामा नियन्त्रणमा लिनु परेमा बालबालिकासम्बन्धी ऐनले दिएको क्षेत्राधिकार र अधिकारअन्तर्गत गर्न प्रहरी र अनुसन्धान अधिकारीलाई सर्वोच्चले भनेकाे छ। जिल्ला अदालतको आदेश चित्त नबुझेमा उच्च अदालत सुर्खेत जानु पर्नेमा बन्दीप्रत्यक्षीकरणको निवेदनसहित सर्वोच्चमा मुद्दा आएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर