जनकपुरधाममा फोहोर व्यवस्थापनका लागि जग्गा अभाव, नगर दुर्गन्धित [फोटोफिचर]

जनकपुरधाम । जनकपुरधामको नगर भित्रको सडकहरु अहिले चिल्ला भईसकेका छन् । सडकहरु त चिल्ला छन् तर विगत केही दिनयता देखि फोहोर उठ्न नसक्दा नगरका मुख्य बजार सहित गल्लीहरु समेत दुर्गन्धित हुन थालेका छन् । फोहोर व्यवस्थापनका लागि जग्गा अभाव भएपछि गत एक सातादेखि जनकपुरधाम उपमहानगरपालिकामा फोहोर उठ्नै सकेको छैन । 

फोहोर व्यवस्थापन हुन नसकेपछि जनकपुरधाम बजारमा पसल गर्दै आएका पसलेहरुका साथै पैदल यात्रुहरुलाई सास्ती खेप्नु परिरहेको छ ।

जनकपुरधाम वडा नम्बर ४मा पसल चलाउँदै आएका वसिम अकरमले आफूहरु बारम्बार फोहोर उठाउनका लागि भने कुनै सुनवाई नभएको गुनासो गरे । उनले भने ‘नियमित त कहिल्यै फोहोर उठ्दैन तर अहिले आएर १० दिन भई सक्यो फोहोर उठाउनका लागि उपमहानगरपालिकाका सफाई कर्मचारीहरु आएका छैनन् ।’

जनकपुरधाम उपमहानगरपालिका भित्र फोहोर उठ्न नसकेपछि भानुु चोक, शिव चोक, जनक चोक, राजदेवी मन्दिर नजिक, राम चोक, रामानान्द चोक, पिडारी चोक लगायतका मुख्य स्थानहरुमा फोहोरको डंगुर थुपारिएको छ ।

डम्पिंग साइटको अभावका कारण फोहोर उठ्न नसकेपछि जनकपुरधाम उउपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष दिपेन्द्र साहले यो सब समस्याको मूल कारण प्रमुख लालकिशोर साह रहेको आरोप लगाए ।

उनले भने ‘उपमहानगरसंग फोहोर फाल्ने आफ्नो जग्गा छैन तर यस तर्फ प्रमुख साहको ध्यान केन्द्रित हुनुको साटो आफ्नो ढुकुटी भर्नबाट फुर्सद छैन ।’ उनले उपमहानगरसंग आफ्नो जग्गा भएको भए यो समस्या उत्पन्न हुने बताए । निर्वाचित भएको ३ वर्ष भई सकेपनि डम्पिंंग साइटका लागि जग्गा खोज्नुभन्दा, जनताको मूलभूत आवश्यक्ता पूर्ती गर्नु भन्दा पनि जनताको पैसा कसरी फिजुलमा खर्च गर्ने तर्फ मेयर साहेवको ध्यान रहेको वडाध्यक्ष साहको भनाई छ ।

उनले भने ‘ मेयर साहेव अधिकांश बजेट आफै चलाउनु हुन्छ तर जनताको आववश्यक्तासंग उनको सरोकारको विषय छैन, ‘अगाडी भने उहाँसंग राजनीतिको अनुभव छ तर भिजन छैन, भिजन नभएको मेयरले के नै गर्न सक्छ ।’ यता वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले आफूहरु निर्वाचित भएको दिनदेखि नै फोहोर व्यवस्थापनका लागि उपमहानगरले आफ्नो जग्गा किन्नु पर्ने आवाज उठाउँदै आईरहेपपनि त्यस तर्फ कसैले ध्यान नदिएको बताए । 

‘वडावासीहरु आफूहरुलाई बारम्बार फोहोर उठाउनलाई भन्नु हुन्छ तर के गर्ने उपमहाननगरपालिकालाई बस किन्नबाट फुर्र्सद भए पो केही गर्छ वडाध्यक्ष जानकीराम साहले भने । ’ उनले पटक पटक समस्या समाधान गर्नका लागि पहल गरेपनि यसको निकास निस्कन नसकेकोमा दुुःख व्यक्त गरे । 

उपप्रमुख रीता मिश्रले फोहोर व्यवस्थापनका लागि पहल भई रहेको जानकारी दिए । वडा नम्बर १६मा फाहोर फालिदै आएकोमा सो जग्गा निजि व्यक्तिको रहेकोले फोहोेर फाल्ने ठाउँको अभाव भएको उपप्रमुख मिश्रले बताइन् । उनका अनुसार वडा नम्बर १६ जहाँ फोहोर फालिन्थ्यो त्यो जग्गामा एक व्यक्तिले आफ्नो निजि जग्गा रहेको दावी गरेपछि नक्सा निकाल्दा सोही व्यक्तिको नाउँमा सो जग्गा रहेको थियो । फोहोर फाल्नका लागि सरकारी जग्गाको खोजी भईरहेको उपप्रमुख मिश्रले बताइन् । उनले भनिन् ‘एक दुई दिन भित्रमा जग्गा भेटिएन भने फोहोर व्यवस्थापनका लागि सूचना निकालेर ठेक्का लगाउने प्रकृया शुरु गर्छौँ ।’

जनकपुरधाम उपमहानगरपालिकासंग ८० सफाई कर्मचारी छन् भने फोहोर उठाउनका लागि ६ वटा ट्रैक्टर, ६ वटा ट्रिपर तथा ६ वटा मैैजिक गाडीहरु छन् । साथै सडक सफा गर्ने एक ब्रुमर समेत रहेको छ ।

सबै तस्बिरहरु : जयन्त ठाकुर, प्रदेश २

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर