• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको छ।मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक यातायात सञ्चालनको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

स्वास्थ्य सुरक्षाको प्रोटोकल लागू गरेर सार्वजनिक यातायात सञ्चालन गर्न लागिएको हो । एक मन्त्रीका अनुसार सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)लाई यससम्बन्धी तयारी गर्न जिम्मेवारी दिइएको छ।

भारतलगायत कतिपय देशले मापदण्ड बनाएर सार्वजनिक यातायात चलाएका छन् । सिट क्षमताभन्दा आधा यात्रु राखेरसमेत कतिपय देशमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ।

नेपालमा पनि लकडाउन अझै केही महिना लम्बिने भएकाले सार्वजनिक यातायात पनि सञ्चालन गर्न लागिएको हो । यातायात व्यवसायी र मजदुरले पनि सार्वजनिक यातायात सञ्चालनका लागि दबाब दिँदै आएका छन्।

ट्याक्सी सञ्चालन गर्न दिने तयारीबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । एक मन्त्रीका अनुसार स्वास्थ्य मापदण्ड पालना गराएर एक मात्र यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी भइरहेको छ । यससम्बन्धी मापदण्ड बनाउने जिम्मेवारी सिसिएमसीलाई दिइएको छ।

नेपालमा लकडाउन सुरु भएको एक सय ६ दिन भइसकेको छ । कोरोना संक्रमणको जोखिम बढे पनि आर्थिक क्षेत्र अस्तव्यस्त हुँदै गएपछि गत २९ जेठदेखि लकडाउन खुकुलो बनाइएको छ।

निजी र मालबाहक सवारीसाधन जोररबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गरिएको छैन । त्यस्तै, आन्तरिक हवाई क्षेत्र पनि ७ साउनपछि खोल्नेबारे छलफल अघि बढाइएको एक मन्त्रीले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर