• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजदेखि चार दिन भारी वर्षा, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसलाई ‘अलर्ट’ रहन आग्रह

काठमाडौं । गृह मन्त्रालयले बिहीबारदेखि चार दिन भारी वर्षा हुने प्रक्षेपण गर्दै क्षतिबाट जोगिन चनाखो रहन आग्रह गरेको छ ।मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सूचना जारी गर्दै २५ देखि २८ असारसम्म यस वर्षको सबैभन्दा धेरै वर्षा हुने अनुमान गरेको छ ।

सम्भावित विपत्तिपछिको उद्धारका लागि ‘अलर्ट’ रहन प्राधिकरणले नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटीलगायतका निकायलाई पनि आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुन सक्ने भएकाले यस क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने प्राधिकरणको अनुमान छ ।

वर्षाकै कारण पहाडमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको खतरा रहेको प्राधिकरणले जनाएको छ । ‘पहाडी क्षेत्रको खोलानाला तथा खहरेमा बाढी आउने सम्भावना छ । पहाडको माटो लामो वर्षाका कारण गलिसकेको हुँदा पहिरो जान सक्छ । त्यसैले चनाखो रहन आग्रह गर्दछौँ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने प्राधिकरणले जनाएको छ । प्रदेश १ र प्रदेश २ को चुरे, तराई भएर बग्ने खोला तथा नदीमा ठूलो बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ ।

त्यस्तै झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पार्सा, रौतहट, चितवनलगायतका जिल्लामा वर्षाकै कारण डुबान हुन सक्ने भएकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ । नयाँ पत्रिका देनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर