• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

किन रोकियो ओली र प्रचण्डबीचको छलफल ? शुक्रबार स्थायी कमिटी बस्नेमा आशंका

फाइल तस्विर

काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि भन्दै केहिदिनयता भइरहेको नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार छलफल हुन सकेन । यसअघि बुधबार पुनः छलफल गर्ने भन्दै छुटिट्एका अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार छलफल नै नभएको हो ।

प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले बिहीबार ओली र प्रचण्डबीच छलफल नभएको जानकारी दिए । उनले अध्यक्षद्वयको भेटको टुङ्गो नलागेपनि शुक्रबार स्थायी कमिटी बस्ने बताए ।    पार्टीभित्रको विवाद मिलाउन ओली र प्रचण्ड विगत चार दिनदेखि निरन्तर संवादमा थिए । तर बुधबारको छलफलमा  एकल अध्यक्ष बन्ने भए महाधिवेशन पर्खन र प्रधानमन्त्री बन्ने भए अर्को चुनाव कुर्न प्रधानमन्त्री ओलीले  प्रस्ताव गरेपछि नै छलफल रोकिएको स्रोत बताउँछ । 

बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीको राजीना मागे पनि ओली दुबै पदबाट राजिनामा नदिने अडानमा छन् ।  ओली इतर समुहका नेताहरूको दबाबका कारण पार्टी अध्यक्ष प्रचण्ड आफ्ना अडानबाट पछि हट्न सकिहाल्ने स्थिति कमै देखिएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नसके पार्टी एकल रूपमा सञ्चालन गर्न पाउने गरी सहमति गर्नुपर्ने प्रचण्डनिकट नेताहरूको मत छ । अहिलेलाई प्रचण्डले एकल रुपमा पार्टी सञ्चालन गर्न दिने गरी सहमतिको विन्दु पहिल्याउन सकिने र ओलीलाई सरकार चलाउन दिने सहमति गरे विवाद समाधान हुने प्रचण्ड निकट नेताहरुको भनाई छ । 

विवाद चुलिएसँगै यही असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटीको बैठक चार पटक स्थगित गरिएको छ । स्थायी कमिटी शुक्रबार बोलाइए पनि शिर्ष नेताहरुबीच कुनै सहमति नभएका कारण पुनः स्थगित हुने संभावना बढेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर