• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

१० दिनमै वृद्धि भयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले १० दिनभित्रै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।यसपटक व्यवसायीलाई मनग्यै नाफा हुने गरी मूल्यवृद्धि गरिएको छ ।आयल निगमले ९ दिनअघि मात्र १७ असारबाट लागू हुने गरी पेट्रोल ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २–२ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।

फेरि शुक्रबार रातिबाट लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ बढाएको हो । मूल्यवृद्धिपछि शनिबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय २ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेल ८८ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।

शुक्रबार साँझ निर्णय गरेर मूल्यवृद्धि गर्दा पेट्रोलपम्प व्यवसायीलाई ठूलो फाइदा पुग्छ । किनभने, अन्य दिनको तुलनामा शुक्रबार धेरै इन्धन बिक्री हुन्छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने निगमको थानकोट डिपोले शुक्रबार पेट्रोल ६ लाख ५० हजार र डिजेल ६ लाख ५० हजार लिटर बिक्री गरेको छ । यसअघि सो डिपोले दैनिक पेट्रोल, डिजेल समान ४ लाख ५० हजार लिटर बिक्री गर्दै आएको थियो ।

शनिबार र आइतबार बिहानसम्म उपभोक्तालाई पुग्ने इन्धन वितरण गर्न पेट्रोलपम्प व्यवसायीले अन्य दिनको तुलनामा शुक्रबार धेरै इन्धन खरिद गर्छन् । यही मौकामा व्यवसायीसँग मिलेमतो गरी निगम अधिकारीहरूले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएका हुन् ।

मिलेमतोमा गरिएको मूल्यवृद्धिपछि थानकोट डिपोबाट तेल लैजाने ३ सय ३७ पम्प व्यवसायीले मात्रै करिब ९ लाख रुपैयाँ अतिरिक्त आम्दानी गरेका छन् । नियमित रूपमा भने पेट्रोलमा ३ रुपैयाँ ७० पैसा र डिजेलमा २ रुपैयाँ ७५ पैसा प्रतिलिटर नाफा निगमले सुनिश्चित गरिदिएको छ ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायले १ जुलाई (अर्थात् १७ असार)मा प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्यवृद्धि गरेको जानकारी दिए । ‘१ जुलाईमा नै मूल्य धेरै बढेर आएको थियो । त्यसैले हामीले त्यतिवेला नै मूल्य समायोजन गर्ने तयारी गरेका थियौँ,’ उनले भने, ‘विविध कारणले पछि सरेर शुक्रबार निर्णय भएको हो ।’

आयल निगमले १७ असारबाट देशभर भित्रिने पेट्रोल ४१.९२ रुपैयाँ र डिजेल ४५.०८ रुपैयाँ प्रतिलिटरमा किनिरहेको छ । सोही खरिद मूल्यमा घाटा भएको दाबी गर्दै मूल्यवृद्धि गरी पेट्रोल १ सय २ र डिजेल ८८ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर