लोहन्द्रामा बाढी आयो ढोरनलाई रोजगारी 

विराटनगर । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका ढोरन चौधरीको काम बर्खा सुरु भएसँगै बदलिन्छ । चौधरी आफुले चलाउँदै आएको दैनिकी बर्खायाममा परिवर्तन भएको चौथो वर्ष लागेको छ । २०७४ सालको बाढीले मोरङको नेताचोक र कसेनी जोड्ने लोहन्द्रा खोलाको पुल बगाएपछि बखा याममा ढोरनसमेतका केही व्यक्तिहरुको बास खोला किनारमै हुन थालेको हो । 

दिनभरी खोला किनारमा बस्ने, साइकल, मोटरसाइकल, मानिस र टेम्पोलाई खोला तार्ने कामबाट राम्रो कमाई हुने भएकोले ढोरन र उहाँका साथहिरुले करिव चार महिना यहि काम गर्छन् । ढोरनसंग चार जनाको टीम छ । जसले दैनिक रुपमा खोला तारेर पैसा कमाउँदै आएका छन् । 

बेलबारी नगरपालिका–५ कसेनीका ढोरन र उहाँका साथीहरु पैसाका लागि जोखिम मोलेर खोला तार्ने काम काम गरेको भन्ने कुरा मान्न तयार छैनन् । खोलामा पुल नभएपछि मानवीय सेवापनि हुने र आफ्नो गर्जो पनि टर्ने भएकोले सेवा भावले नै यो काम गरेको ढोरन बताउँछन् । ‘खोलामा पुल छैन, मानिसहरुलाई आउजाउ गर्न गाह्रो छ, उहाँहरुलाई सहयोग गर्दा आफ्नो दैनिकी पनि चल्ने भएकोले यही काम गरिरहेका छौं,’ ढोरनले भने ।

लोहन्द्रा खोलाको पुल बगाएपछि बाहुनी, कसेनी, होक्लाबारी आदि क्षेत्रबाट विराटनगर तर्फ दैनिक हजारौं मानिसहरु आउजाउ गर्ने गर्छन् । हिउँदमा खोला तर्न सकिने भएकोले खास समस्या हुँदैन तर बर्खामा खोला तर्न सकिदैन । खोला तार्न लोहन्द्रा किनारमा अहिले तीन वटा समूहले दैनिकरुपमा काम गर्ने गरेका छन् । 

बिहानदेखि राति ८ बजेसम्म खोला तार्ने काममा उनीहरु सक्रिय हुन्छन् । खोलाबाट सबैभन्दा धेरै मोटरसाइकल तार्ने गरेको ढोरन बताउछन् । मोटरसाइकल तार्दा बाढी आएको बेला दुई सय, पानीको बहाव कम भएको बेला १५० र सामान्य अवस्थामा एक सय रुपियाँ लिने गरेका छन् । 

बाढी आएको बेला मात्र मानिसलाई तार्दा पैसा लिने गरेका छन् उनीहरुले । सामान्य र बाढी कम भएको बेला सहयोगकै रुपमा मानिसलाई तारिदिन्छन् । 

एउटा समूहले दैनिक ५० भन्दा बढी मोटरसाइकल तार्ने गरेको उनीहरु बताउँछन् । कहिले काँही टेम्पो र अटो पनि खोला तार्ने गरेको छन् । एउटा मोटरसाइकल चार जनाले बोकेर तार्ने गरेका छन् । ‘टेम्पो तार्दा भने ८–९ जनाले बोक्नुपर्छ,’ चौधरीले भने । टेम्पो तारेको ज्याला भने नौ सय लिने गरेका छन् । 

नेताचौक बाहुनी  जोड्ने खडक खण्ड अन्र्तगतको लोहन्द्रा खोलाको पुल बनाउन ठेक्का लागिसकेको छ । पुलको शिलान्यास पनि भएको छ । तर काम सुरु भएको छैन । पुल नहुँदा सर्वसाधारणलाई समस्या त परेकै छ सार्थ समय र पैसा पनि धेरै खर्च गर्नुपर्ने वाध्यता रहेको बेलबारी ६ का मुक्ती गच्छदारले बताए । 

‘कहिले काही त एकै दिनमा तीन चार पटकसम्म काम विशेषले नेता चोक हुँदै विराटनगर ओहोरदोहर गर्नुपर्दछ,’ उनले भने । पुल बगाएपछि लोहन्द्रा पूर्व सुनसरी मोरङ सिंचाइ आयोजनाको सिंचाइ सेवा पनि चार वर्षदेखि अबरुद्ध छ । जनतालाई सास्ती पनि भएको छ । ‘कमसेकम झोलुङ्गेपुल बनाइदिएको भए यस क्षेत्रका जनतालाई निर्क ठूलो राहत हुने थियो’ गच्छदार भन्छन् ।

लोहन्द्रा खोलाको पुल भत्काएपछि स्थानीयले अस्थायी रुपमा बनाएको बाँसको पुल पनि केही दिनअघि आएको बाढीले बगाइदिएको छ । त्यसपछि होमपाइप राखेर बनाएको अर्को पुल पनि बगायो । यो हरेक वर्षको समस्या भएको छ । प्रत्येक वर्ष हिउँदमा बनाएको बाँसको साँघु र होमपाइप बगाइरहको छ । यो खोलाबाट दैनिक सयौं मोटरसाइकल, ट्रक र ट्याक्टर आवत जावत गर्ने गर्दछन् । 

विशेष गरी लोहन्द्रमाथि बनेको त्यो सुनसरी मोरङ सिंचाइ योजनाको पानी लैजाने सर्भिस पुल थियो । साइफन मार्फत पानी लगिएको थियो । अहिले साइफन र सर्भिस पुल दुवै बनाउन २९ करोड ९७ लाख ५७ हजार ७ सय ७१ रूपैयाँमा ठेक्का लागेको छ । आशिष समिनारयण आर्शिवाद जे.बी.ले ठेक्का पाएको छ । २०८० सालको भदौ ३० गतेसम्ममा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ तर अहिलेसम्म काम भने सुरु भएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर