• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बाढी पहिरोको जोखिममा रहेका नागरिकलाई सतर्कता अपनाउन सभामुखको अपिल

आ–आफ्नो क्षेत्रको सुरक्षामा खटिन सांसदहरुलाई अनुरोध

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मनसुस सक्रिय भएसँगै जोखिममा रहेका भूू–भागहरु, नदी किनार, कटान तथा डुबान दोहोरीने क्षेत्रमा बसोबास गरेका सम्पूर्णमा विशेष सतर्कता अपनाउन अपिल गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरुको पुनस्थापनाका लागि प्रयास भइरहेको जानकारी समेत गराएका छन् । 

उनले भनेका छन्,‘मनसुन जारी रहेकोले खासगरी जोखिममा रहेका भूू–भागहरु, नदी किनार, कटान तथा डुबान दोहोरीने क्षेत्रमा बसोबास गर्नुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई विशेष सतर्कता अपनाउनुहुन, म हार्दिक अपिल गर्दछु ।’

सरकारले गरेको प्रयासलाई गुणात्मक रुपमा बढाउन जरुरी भएको भन्दै उनले अघि भनेका छन्, ‘सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरुको पुनस्थापनाका लागि प्रयास भइरहेको छ । यस प्रयासलाई गुणात्मक रुपमा बढाउन जरुरी छ । तयारीलाई तिब्रता दिन, बेपत्ताहरुको खोजी र अबरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कोभिड १९ को महामारीसँग जुध्दै गरेको अवस्थामा अर्को प्राकृतिक विपत्ति आइपरेको भन्दै उनले भनेका छन्,‘नोभल कोरोना भाइरस ९कोभिड–१९० का कारण उत्पन्न यस शताब्दीकै विषम परिस्थितिसंग जुध्दै गर्दा हामीलाई अर्को प्राकृतिक विपत्ति आइपरेको छ । असार २४ गते यताको निरन्तरको भारी बर्षाका कारण देशका अधिकांश जिल्लाहरुमा बाढी, पहिरो र डुुबानले ठूलो मानविय र भौतिक क्षति हुन पुुगेको छ ।’

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

साथै, उनले अघि भनेका छन्,‘गुल्मी, संखुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वत लगायतका हिमाली र पहाडी जिल्लाहरुमा बाढी, पहिरो र डुबानका कारण आठसय हाराहारी परिवार विस्थापित हुन पुगेका छन् । तराइका जिल्लाहरु जलमग्न भएका छन् । ती स्थानमा राष्ट्रिय, क्षेत्रीय र ग्रामिण सडक तथा पुलहरुमा क्षति पुगेको छ । निरन्तरको बर्षाका कारण बाढी पहिरोबाट एक महिना भित्र देशका १९ जिल्लाका ८८ जना नागरिकको ज्यान गइसकेको छ ।’

मृत्यु र बेपत्ता हुनेहरुको संख्या निरन्तर बढिरहेको भन्दै उनले संघीय सांसदहरुलाई आ–आफ्नो ठाउँबाट जुट्नपनि आग्रह गरेका छन् ।‘हाल संघीय संसदको बैठक चलीरहेको छैन । विपत्तिमा जनताको घरदैलोमा पुुगेर सहयोगमा जुटिरहनुुभएका माननीय सदस्यहरुलाई संघ, प्रदेश र स्थानिय तहहरुसंग समन्वयगरि आ–आफ्नो ठाउँबाट पहल जारी राख्नु हुन म आह्वान गर्दछु । विपद्का बेला प्रदेश र स्थानियतहले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय छ । यो कष्टकर परिस्थितिमा उद्धारका लागि अग्रपंक्तिमा खटिइरहनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवीहरुको उच्च प्रशंसा गर्दै विपत्तिमा परेका नागरिकहरुको यथासक्य छिटो उद्धार, राहत र पुनस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु ।’

‘विपद्बाट बच्चे उत्तम उपायहरु जोखिमयुक्त क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन, पूर्व तयारी गर्न, पूर्व सूचना प्रणालीको विकास र यसको उच्चतम प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनिकरणगर्न हामीसंग उपलब्ध सबैखाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछुु ।’ उनले अन्तिममा भनेका छन्,‘अन्त्यमा, यस विपत्तिका कारण ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली र स्वजनको मृत्युवियोगमा रहनुभएका परिवारमा समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामना गर्दछु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर