• आइतबार ४-३२-२०७७/Sunday 08-16-2020/ 01:56 am

हरियो चुरा–मेहेन्दी : धर्मशास्त्रमा छैन, फेसन मात्रै

भगवान कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवलाई खुशी पार्न व्रत बसी बिशेष पुजा आराधना गर्ने र शिव मन्दिर धाउने प्रचलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर शिवलाई प्राप्त गरेको मान्यतामा यो चलन चल्दै आएको छ । साउने संक्रान्तिः

काठमाडौं । नेपाली पात्रो विक्रम सम्वत्अनुसार आज साउन महिनाको पहिलो दिन, नेपालमा ‘साउने संक्रान्ति’ वा ‘लुतो फाल्ने’ दिनको रुपमा मनाउँने गरिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्छ । त्यही कारणले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ । 

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण रुपमा मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । 

......
साउन महिनाको धार्मिक महत्वः

साउन महिनाले मुलतः हिन्दु धर्मसँग सम्बन्धित परम्पराका चार्ड–पर्वहरूलाई भित्र्याउने बताईन्छ । नेपालभर स्नान, दान, होम, श्रद्धजस्ता विशेष कार्यको सुरूवात यही दिनदेखि शुरु गरिन्छ । हिन्दु धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । यसैगरी यस महिनाभरि माछा–मासु, प्याज र लसुन नखाने, नङ, कपाल नकाट्ने चलन छ र कतिपयले मदिरा सेवन पनि एक महिनाका लागि छोड्ने गर्छन् ।

साउने संक्रान्तिको दिन असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । विशेषगरी हिन्दु सम्प्रदायमा यस दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चढाई काण्डरक राक्षसको पुजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । यस्तै, यस महिनाभरि माछा–मासु जन्य परिकार, प्याज र लसुन पनि खान नहुने धार्मिक मान्यता रही आएको छ । 

परम्परागत चलनअनुसार कुकुरडाइनो, काग भलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधीका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने र घरको आँगनबाट चारै दिशामा अगुल्टो फालेर लुतो फाल्ने गरिन्छ । लुतो फ्याँक्दा बन्दुक पड्काउने, नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टी बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यद्यपि, पछिल्ला समयमा बाक्ला वस्तिका कारण लुतो फ्याँक्ने प्रचलन हराउँदै गएको छ । ग्रामिण क्षेत्रमा चलन कायमै छ ।

यही साउन महिनालाई हिन्दु महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । पौराणिक मान्यताअनुसार साउन महिना हिन्दु धर्मावलम्बीहरुको देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । त्यस्तै भगवान कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको प्रिय महिना भएको हुनाले भगवान शिवलाई खुशी पार्न शिवको व्रत बसी बिशेष पुजा आराधना गर्ने र शिव मन्दिरहरुमा धाउने प्रचलन पनि छ । 

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर शिवलाई प्राप्त गरेको मान्यता छ । यही मान्यताअनुसार अविवाहित महिलाहरुले शिवजी जस्तै श्रीमान पाउँ भनी र विवाहित महिलाहरुले श्रीमानको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै साउन महिनाभरि सोमवारे शिवजीको व्रत बस्ने, पुजापाठ, आराधना गर्ने प्रचलन रही आएको छ । पछिल्लो समय हरियो, पहँलो र रातो रंगको चुरापोते र कपडासँगै साउन महिनाभरि हातमा मेहेन्दी लगाउने चलन पनि छ । तर, निराहार व्रतले श्रीमानको आयु बढ्ने वा शिवजी जस्तै पति पाउने कुरा केवल एक धार्मिक मान्यता मात्रै हो, यद्यपि सातामा एक पटक व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले भने राम्रो मानिन्छ ।

.......
जब फेसनमय बन्छ हरियाली साउन:

पहिला–पहिला विवाहित महिलाहरु शिवजीलाई खुशी बनाउन र श्रीमानको दिर्घायुका लागि साउनको प्रत्येक सोमवार ब्रत बस्ने गर्थे भने अविवाहित महिलाहरु शिवजी जस्तै पराक्रमी श्रीमान पाउँ भनी ब्रत बस्थे । तर पछिल्लो समय शिवजीको व्रतसँगै सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा–पोते र हरियो पहिरन लगाउने गरेका छन् भने अविवाहित युवती पनि आर्कषण र रमाइलोका लागि हरियो चुरा, हरियो पहिरन र मेहेन्दी लगाउँने संस्कृति बढेको छ । सौन्दर्यतालाई निखार्न र साउने संस्कृतिलाई सम्बोधन गर्न प्रायजसो महिलाहरु विशेषगरी हरियो र त्यसपछि पँहेलो र रातो रंगको श्रृंगारिक सामग्री र पहिरनलाई प्राथमिकता दिन्छन् । 

साउन महिनाको अर्को पक्ष भनेको यो महिना आफैंमा हरियाली महिना हो । हरियो रंग, प्रेम र वातावरणको प्रतीक मानिन्छ । कतिपय महिलाले हरियो वस्त्रलाई प्रकृतिको सम्मान स्वरुप पनि लगाउँछन् । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग पनि जोडेर हेर्ने गरिन्छ । 

हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको प्रतीक हो भने पँहेलो पवित्रताको । हरियो रंग उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जा  वृद्धिको प्रतीक हो । हरियो उपचारको रंग पनि हो, जुन मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । यस्तै, रातो रंगलाई सौभाग्य र पँहेलोलाई पवित्रताको प्रतीक मानिन्छ । त्यसैले पनि साउन महिनामा महिलाहरु श्रृंगारमा यी तीन रंगको सम्मिश्रण गर्छन् । 

यद्यपि, साउन महिनामा हरियो रंगका कपडा, चुरा तथा पोते र मेहेन्दी लगाउनु पर्छ भन्ने कुरा कुनै पनि धर्मशास्त्रमा उल्लेख गरेको पाइँदैन । यसलाई भारतबाट आएको संस्कृतिलाई नेपालीले पछ््याएको धर्म–संस्कृतिका जानकार बताउँछन् । त्यसैले पनि नेपालमा साउन महिनामा हरियो चुरा, धागो, पोते, टिका र पहिरन लगाउनुलाई फेसनको रुपमा व्याख्या गरिएको छ ।

.....
फेसन चुरा र मेहन्दीको:

सौभाग्य र सौन्दर्यता प्रतीकको रुपमा चुरा र मेहन्दी लगाउने प्रचलन नेपालमा भारतबाटै भित्रिएको संस्कृति हो । प्राचीनकालदेखि नै भारतीय महिलाहरुले चुरा लगाएको विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको पाइन्छ । परिवर्तित् समयसँगै चुरा लगाउने प्रचलन र संस्कृति फैलिंदै र परिमार्जित हुँदै नेपाल भित्रिएको छ । विवाहित महिलाहरु प्रायः सधैंजसो चुरा लगाउँछन् भने अविवाहित महिलाहरु विभिन्न अवसर तथा पहिरनअनुसार चुरा लगाउँछन् । तर साउनभरि हरियो र पँहेलो चुरा लगाउनु युवतीहरुका लागि फेसन बनेको छ । किनकि धार्मिक ग्रन्थमा हरियो चुरा लगाउनु पर्ने र यसको महत्व खासै वर्णन भएको पाइँदैन । 

साउनमा हातमा चुरासँगै मेहन्दी लगाउनु पनि परम्पराको एक हिस्सा बनेको छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग बस्यो उति नै श्रीमानको माया पाउने महिलाहरु विश्वास गर्छन् । मेहन्दीलाई विभिन्न शुभकार्यमा लगाउने परम्परा रहे पनि साउनमा मेहन्दी लगाउनुलाई धेरैले फेसनको रुपमा लिइन्छ । धार्मिक दृष्टिकोणले मेहन्दीको कुनै महत्व नभएकोले सौन्दर्यतालाई अझ झल्काउन नै महिलाहरु हातमा कलात्मक मेहन्दी लगाउछन् ।  

पछिल्लो समय धेरैजसो सेलिब्रेटी महिलाहरुले मेहेन्दी, चुरा र हरियो पहिरन लगाएर साउनलाई अझ फेसनमय बनाएका छन् । कतिपयले सेलिब्रेटीको सिको गर्दै सांस्कृतिक महत्व नबुझिकनै साउने हरियालीमा रंगिन्छन् । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाई हिड्ने महिलाहरु बिरलै देख्न पाइन्छ ।

मेहन्दीलाई मिथिला क्षेत्रमा पुरानो श्रृंगारको रुपमा लिने गरिएको छ । मिथिलाञ्चलमा मेहन्दी वर्षको १२ महिनामा १२ वटा उद्देश्यले लगाउने परम्परा रहेको पाइन्छ । साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ इत्यादि विश्वास छ तर हरियो चुरा र मेहन्दी लगाउँदा घर–परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ भन्ने कुरा गलत हो । कतिपयले यसलाई अर्काको नक्कल वा फेसनको रुपमा नै व्याख्या गर्ने गर्छन् ।

.....    
विभिन्न समुदायमा साउने संक्रान्तिको बेग्लै महत्वः

यो पर्व प्रायजसो सबै नेपालीको चार्डपर्व हो । हिन्दु धर्मावलम्बी बाहेक नेपालमा अन्य जाति तथा आदिवासीले पनि साउने संक्रान्तिलाई आ–आफ्नो सांस्कृतिक महत्वका साथ मनाउने गर्छन् । साउने संक्रान्तिलाई किराती समुदायमा ‘सिसेक्पा तङ्नाम’को नामले मनाईन्छ । साउने संक्रन्तिको दिन किरातीहरुमा आफ्नो ईष्ट देवको सम्मानमा नयाँ पाकेका फलफूलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । 

नेपालको पूर्वमा लिम्बुवान, खम्बुवानतिर साउने संक्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन–जंगलतिर गई आवश्यक अन्न, फल, फूल र पात सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने गरिन्छ । रातीको खाना खाइसकेपछि थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बजाउँदै प्रत्येक घरमा पुगेर घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर खराब तत्वलाई घर भित्रबाट बाहिरतिर खेदाएर निकाल्ने परम्परा रही आएको छ । 

यसैगरी पूर्वी तराईका आदिवासी धिमालहरूले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पुजा र धङ्धङ्गे मेलाको समापन गर्न विशेष चाडको रूपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष सांस्कृतिक निधिको रुपमा मान्ने आइडी जातिहरूले पनि यो साउने संक्रान्ति पर्वलाई आफ्नै तरिकाले मनाउँछन् । बलिरहेको अगुल्टोलाई दक्षिणतिर फ्याँकेर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी वरिपरिका नराम्रा रोगव्याधीहरू र अनिकाल जा, सहकाल आइज भन्ने भावमा कराउँदै नराम्रो कुरा तथा आत्माहरुलाई खेदाई पठाएर साउने संक्रान्ति मान्ने गर्दछन् ।

धेरैजसोले बुझ्ने साउने संक्रान्ति ‘काण्डरक’ नामक राक्षसको पुजा गरी असारे हिलोमैलोका समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चार्ड हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी र जनजातिहरू पूर्वका किरात लिम्बु, खम्बु तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने संक्रान्ति पर्वलाई ‘लुतो फाल्ने’ चार्डकै रूपमा मनाउँदै आएका छन् । त्यस्तै आधुनिक समाजमा साउने संक्रान्ति र साउन महिनालाई धार्मिक मान्यताभन्दा पनि फेसनको हरियाली महिनाको रुपमा विकसित हुँदै गइरहेको छ । चार्ड–पर्वहरुलाई फेसनको रुपमा परिवर्तन गरिदै गर्दा यसका मौलिक मान्यता र महत्व हराउने खतरा हुन्छ ।     

विदेशमा बसोबास गर्ने नेपालीहरुले पनि साउने संक्रान्तिलाई आ–आफ्नै सांस्कृतिक चलन तथा परिस्थिति अनुसार नै मनाउने गर्दछन् । नेपाल जस्तो बहुसांस्कृतिक देशमा एकै समयमा मनाउने चार्डमा पनि समुदाय अनुसार भिन्नता र समानता पनि पाइन्छन् । भिन्नताले भिन्नाभिन्नै किसिमका साँस्कृतिक सन्देश दिन्छन् भने समानताले साझा पर्वको महशुस गराउँछ । यद्यपि, यस्ता भिन्नता र समानताहरुलाई सही तरिकाले बुझ्न नसक्दा चार्डपर्वहरू र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरू पनि एकापसमा बाँझिएर खप्टिन गई विरोधाभासपूर्ण लाग्छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेसी बार्सिलोनाको 'चुम्बक'बाट उम्केर जाने बेला भएको हो !

  • ३१ श्रावण, २०७७

जोसेफ मारिया बार्टोमेउले क्लबको अध्यक्षको हिसावले शुक्रबार राति को ऐतिहाँसिक र सर्मनाक हारको जिम्मेवारी लिदै पदबाट राजिनामा दिनुपर्दछ । एजेन्सी ।

परिवारलाई बचाउँन ‘एके४७’ उठाएकी अफगान किशोरीको कहानी : आफ्नै पतिलाई मारिन् कि तालिवान लडाकुलाई  ?

  • ३१ श्रावण, २०७७

कावून खामूश, अफगानिस्ता । जब १५ वर्षीया नुरियाको घरमा चरमपन्थीहरुले आक्रमण गरे उनले आत्मरक्षाका लागि एके४७ राइफल उठाइन् । उनले दुई जना लडाकुलाई

दक्षिण अफ्रिकाको स्वतन्त्रतासँग फिडेल कास्ट्रोको साइनो

  • ३० श्रावण, २०७७

फिडेल कास्ट्रोले विश्वभरका क्रान्तिकारीहरुलाई प्रेरणा दिए । उनले प्रत्यक्ष सामग्री सहायता पनि प्रदान गरे । अगस्ट १३ अर्थात् हिजो कास्ट्रोको ९४