वाग्मती प्रदेश : वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

काठमाडौं । वाग्मती प्रदेशसभाको आजको बैठकले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक—२०७७ पारित गरेको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले प्रस्तुत गरेको सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव सभामा बहुमतले पारित भएको हो । 

यसअघि सो विधेयकमाथिको छलफलमा भाग लिदैं प्रतिपक्ष दलका सदस्यहरुले विधेयकको संशोधन पक्षमा थप अध्ययन गर्न सरकारले लामो समय दिन नसकेकामा चिन्ता व्यक्त गर्दै करीब ५७ दिनअघि सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयकलाई बाध्यतावश पारित गर्नु परेको छ भने ।

उनीहरुले जिल्लाका विभिन्न गाउँपालिकाअन्तर्गत रहेका क्रसर उद्योगहरुले ऐन कानून र मापदण्डलाई मिचेर नदी उत्खनन गर्ने कार्यले नदीको बहाव परिवर्तन भई स्थानीय जनताको घरबास जोखिममा परेको बताउँदै त्यस्ता क्रसरहरुको अनुगमन र नदीको बहावलाई संरक्षण गर्न स्थानीय समुदायहरुलाई जिम्मा दिनुपर्ने सुझाव दिए ।

यसरी सुझाव दिनुहुनेमा सदस्य रमेश पौडेल, विराजभक्त श्रेष्ठ, विजया केसी श्रेष्ठ, शोभा शाक्य, नरोत्तम वैद्य र रीता माझी छन् ।

बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याएको विधेयकलाई आजै पारित गर्नुपर्ने बाध्यता भएको कारणबाट प्रदेशसभाको नियमावली अनुसारको केही दफाहरु आजै निलम्बन गर्न सत्तापक्षका सदस्य केशवराज पाण्डेले प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर