पुल नहुँदा स्थानीयलाई सास्ती

सर्लाही । हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन् । सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएको स्थानीयवासी रामकरण महतोले बताए । सखुअवा टोलका केही स्थानीय युवाले सो कम्ची अस्थायी पुलबाट साइकल तारेको प्रतिसाइकल रु ५० र मोटरसाइकल तारेको रु १५० असुल्दै गरेको स्थानीयवासीको भनाइ छ ।

निर्माण शुरु गरेको वर्षौँ भए पनि ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण अहिलेसम्म निर्माण सम्पन्न नभएको हो । बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भए पनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा  यात्रुलाई  साइकल तथा मोटरसाइल लिएर वारपार गर्न बाध्य भएका छन् । अहिले बाँसका यस्ता अस्थायी पुल बाढीले कटान गरेका जिल्लाका दर्जनौँ स्थानका खोलामा बनाइएका छन् । रासस
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर