• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘ठूलाचौरका दलितबस्तिमा अब दुःखका दिन गए’

दमौली ।  तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । तत्कालीन समयमा यहाँ उनको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि थपिएपछि ठूलाचौरमा दलित बस्ती नै बन्यो ।

समुद्री सतहबाट करिब २०० मिटर उचाइमा रहेको यस बस्तीमा शुरुदेखिकै मुख्य समस्या भनेको खानेपानी र बिजुली नै थियो । प्रत्येक चुनावमा राजनीतिक दलको मुख्य प्रतिबद्धता र आश्वासन पनि यिनै कुरामा हुन्थे तर दलको प्रतिबद्धता कहिल्यै पूरा भएन ।

गाउँमा बिजुली र पानीको आशमा यहाँका स्थानीयवासीले धेरै वर्ष बिताए । बल्लतल्ल बिजुली भने केही वर्ष अगाडी बल्यो, तर पानीको समस्या भने उस्तै । बस्ती केही उचाइमा भएका कारण खानेपानीको मूल नजिकै थिएन । छलिमाया विगतको दुःख सम्झँदै भन्छन् , “बस्तीभन्दा केही पर पानीघट्टा भन्ने कुवामा पुगेर पानीको जोहो गर्नुपथ्र्यो, त्यही कुवामा पनि कहिले पानी सुक्ने र कहिले भल पस्ने हुँदा निकै सास्ती थियो । पानीकै लागि घण्टौँ समय खर्चिनुपर्दा अन्य काममा बाधा परिरहेको थियो ।” तर ५२ वर्षपछि घरमै खानेपानीको धारा देख्दा ८१ वर्षीया छलिमायालाई सपना जस्तै लागेको छ । “घामपानी नभनी पचासौँ वर्ष घण्टौँ लगाएर पानी बोकेको दुःखका दिन अब गए”, उनले भने, “अहिले त घरमै धारा आइपुगेको छ, योभन्दा खुशी अरु के होला र ।” आफूले जीवनभर पानी बोक्दै छोरा नाति हुर्काएको भए पनि अबका पुस्ताले भने सुख पाउने उनले बताए । 

बिहान बेलुका पानीको जोहो गर्दै दिन बित्ने यहाँका स्थानीयवासीको अहिले दैनिकी फेरिएको स्थानीयवासी वीरबहादुर विकले बताए । “खानेपानीको जोहो गर्नुपर्दा घरको काम समयै सक्न समस्या पथ्र्यो, केटाकेटी विद्यालय समयमै पुग्न सक्दैनथे”, उनले भने, “विगतमा यहाँका बासिन्दाले भोगेको दुःख अबको पुस्ताले भोग्न पर्दैन, अहिले त गाउँकै मुहार फेरिएजस्तै भएको छ ।”

खानेपानीको माग गर्दै स्थानीयवासी विगतमा पटक–पटक सम्बन्धित निकायमा डेलिगेशन नगएका होइनन्, तर मूलको समस्या देखाउँदै स्थानीयको माग पूरा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिन सकेन । “गाउँकै अगाडि गुणादी खोला पानी बगिरहेको देखिन्थ्यो, तर गाउँ काकाकुल थियो”, उनले भने ।

म्याग्दे गाउँपालिकाको रु नौ लाख २५ हजार, गण्डकी प्रदेश सरकारको रु दुई लाख ५० हजार र स्थानीय उपभोक्ताको रु छ लाख २५ हजार गरी कूल रु १८ लाखको लागतमा ठूलाचौरका घरघरमा धारा जडान गरिएको छ । 

तीर्थेखोला हात्तीखोर खानेपानी समितिका अध्यक्ष कृष्ण खनालका अनुसार यहाँका ३७ घरमा धारा जडान गरिएको छ । योजनाबाट यहाँका करिब ३०० लाभान्वित भएका छन् । योजनाबाट ठूलाचौर दलित बस्तीमा दुई÷दुई हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको छ । 

यहाँको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा बाबुराम खनालको अध्यक्षतामा खानेपानी समिति दर्ता गरिएको थियो, तर पनि योजनाले लामो समयसम्म गति लिन सकेन । पछि विसं २०७४ मा प्रारम्भिक योजना शीर्षकमा म्याग्दे गाउँपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको थियो । 

लगत्तै विसं २०७५ लमा म्याग्दे गाउँपालिकाबाट पुनः योजनाका लागि रु चार लाख बजेट विनियोजन भयो । उक्त रकमबाट खानेपानीको कामले केही गति पायो । त्यसबीचमा समितिको नेतृत्वमा कृष्णराज खनालले गरे । योजनाकै लागि विसं २०७६ मा पुनः गाउँपालिकाबाट रु चार लाख २५ हजार बजेट विनियोजन भएको थियो । 

सोही वर्षमै गण्डकी प्रदेश सांसद आशा कोइरालाको पहलमा गण्डकी प्रदेशबाट रु चार लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट दश हजार घनमिटरको खानेपानी ट्याङ्की निर्माण गरिएको समितिका सचिव विकास खनालले जानकारी दिए । –कृष्ण न्यौपाने

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर