दाङमा अत्याधुनिक सर्पदंश उपचार केन्द्र

दाङ । दाङको गढवा गाउँपालिकाले जिल्लामा पहिलोपटक अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको रु एक करोड लगानी र सरोकारवाला निकाय, स्थानीय जनताको आर्थिक श्रमदानबाट सर्पदंश उपचार केन्द्र निर्माण सम्पन्न गरिएको पालिकाले जनाएको छ ।
 
उपचार केन्द्र निर्माण सम्पन्न भएर सञ्चालनको अन्तिम तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । विषालु सर्पका कारण बर्सेनि उपचार नपाई ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले सर्पदंश उपचार केन्द्र स्थापना गरेको उनको भनाइ छ ।
 
सर्पदंश उपचार केन्द्र स्थापना भए पनि सञ्चालनमा ल्याउन केही समय लाग्ने पालिकाले जनाएको छ । केन्द्र सरकारले सञ्चालनका लागि स्वीकृति प्रदान गरिसकेको छ । यस्तै प्रदेश सरकारबाट उपचारका लागि चाहिने स्नेक एन्टी भेनम र अन्य आवश्यक सामग्री प्राप्त हुनासाथ सर्पदंश उपचार केन्द्र सञ्चालन हुने अध्यक्ष यादवले बताए । प्रदेश सरकारको आपूर्ति केन्द्रबाट प्रथम चरणमा कम्तीमा ३०० डोज उपचारमा अति आवश्यक पर्ने स्नेक एन्टी भेनम ल्याउन लागिएको समेत उनले बताए ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि प्रदेश र केन्द्रसँग स्वास्थ्य कार्यालय दाङले समन्वन्यात्मक काम गर्दै आएको बताए। प्रमुख पौडेलले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न आवश्यक सबै मापदण्ड पूरा भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट समेत स्वीकृत भइसकेको जानकारी दिए। उनका अनुसार अबको एक साताभित्रमा सर्पदंश उपचार केन्द्र विधिवतरूपमा सञ्चालनमा आउने छ ।

उक्त केन्द्र सञ्चालनका लागि रिपुमर्दन गण घोराहीबाट नेपाली सेनाको एक प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा उपचारमा खटिने नेपाली सेनाको प्राविधिक टोलीको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष यादवले बताए। उनले केन्द्रमा सर्पदंशको उपचार गर्न आउने बिरामीको उपचार खर्च सबै गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धतासमेत गरेका छन् ।
 
उक्त क्षेत्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि गढवा, राजपुर, राप्ती, लमहीलगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ मिल्ने छ । यसका साथै प्युठान, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, सल्यानलगायत छिमेकी मुलुक भारतका नागरिकले पनि उपचार सेवा पाउनेछन् । गढवा, राजपुर, राप्ती लमही क्षेत्रमा सर्पदंशका कारण बर्सेनि  थुप्रैको अकाल ज्यान जाने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा मात्रै १५ जनाको सर्पदंशबाट ज्यान गएको थियो । गढवा गाउँपालिकामा मात्र ५२ जनालाई सर्पदंश भएको थियो ।

जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यताले समयमै उपचार नपाउँदा धेरैको अकाल ज्यान जाने गरेको थियो । केही दिनअघि मात्रै राप्ती गाउँपालिकाका एक बालकलाई सर्पले डस्दा समयमा उपचार हुन नसकेपछि ज्यान गएको थियो । हिउँदमा भन्दा गर्मीयाम तथा वर्षायाममा सर्पको बढी बिगबिगी हुने गर्दछ । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर